पृष्ठभूमि
रामायणमा उल्लेख भएबमोजिम राजा जनकको दरबारमा पिनाक धनुष उठाउने व्यक्तिसँग सीताको विवाह हुने शर्तबमोजिम अयोध्याका राजकुमार रामले धनुषा उठाई भाँचेको र त्यो धनुषा तीन खण्डमा विभक्त भई आकाश, पाताल र एउटा टुक्रा धनुषाधाममा खसेको भन्ने कुरा विभिन्न ग्रन्थमा लेखिएको जनविश्वास छ । सो धनुषको टुक्रा धनुषाधाम मन्दिरमा समेत स्थापित छ । हालपनि सो टुक्राको अवशेष यहाँ भएको हुनाले यस क्षेत्रको नाम धनुषाधाम राखिएको हो ।
परिचय
धनुषाधाम धनुषा जिल्लाको दोस्रो ठूलो धार्मिक स्थल हो । यो स्थल पर्यटनका हिसाबले पनि उत्तिकै चर्चित छ । जनकपुर पुग्ने जोकोही पनि जानकी मन्दिरको दर्शन पछि धनुषाधाम पुग्छन । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा यज्ञभूमि, उमाप्रेमपुर, धनुषाधाम, धनुषा गोविन्दपुर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा धनुषाधाम पनि नगरपालिका बनेको हो ।
महत्व
जनकपुरधाममा जगत् जननी सीताको दर्शन गर्न आउने दर्शनार्थीहरू धनुषाधाम अवश्य पुग्ने गर्दछन् । त्यहाँ रहेको धनुषखण्डको दर्शन-पूजा गरी धन्य हुन्छन् । मिथिला महात्म्यमा धनुषदर्शनले मात्र पनि सबै पापको नाश हुन्छ भनिएको छ ।
जनआस्था
प्रथम त रामद्वारा तोडिएको शिवजीको पिनाक धुनषको यो खण्ड हो र त्यसको दर्शन, पूजाले समस्त पापको नाश र मंगल हुने विश्वास सयौं वर्षदेखि चल्दै आएको छ । ‘मिथिला महात्म्य’को लेखन अढाई सय वर्षभन्दा पहिला भएको र त्यसमा धनुष महिमा वर्णित रहेकोले पनि यो विश्वासको निरन्तरता निकै प्राचीन रहेको अनुमान गर्न सकिन्छ ।
दोस्रो विश्वास मन्दिरमा अवस्थित बटवृक्षको जरामा रहेको प्वालको बारेमा छ । यस क्षेत्रका वासिन्दा सुख्खाको समयमा त्यस प्वालमा दूधको भाँडो खन्याएर भर्ने प्रयास गर्दछन् । त्यो प्वाल पुरियो भने वर्षा हुने र कृषि कार्य राम्ररी सम्पन्न हुने, यदि त्यो पुर्न सकिएन भने त्यो वर्ष पानी नहुने, अकालको सम्भावना रहने जनविश्वास छ ।
तेस्रो धनुषको मन्दिरमा भाटाको भार चढाइने गरिन्छ । बाँसको झिक्रामा रोपिएका दुइटा भण्टाको भारलाई दर्शनार्थीहरू चढाउने गर्दछन् । मेलामा त्यस्ता भारहरू प्रशस्त बिक्री भैरहेका हुन्छन् । यो चढाउँदा मनोकामना पूरा हुने त हुन्छ नै जीउमा कतै कोठी छ भने त्यो पनि आफैं निको हुन्छ । यिनै जनविश्वासले धनुषाधामको महत्वलाई दशकौंदेखि स्थापित गर्दै आएको छ ।
ऐतिहासिक तथा पौराणिक मान्यताहरु
पौराणिक कथन अनुसार त्रेतायुगमा भगवान रामलाई वनबास गएको समयमा सीतासहित राम र लक्ष्मण सोही स्थान भएर जाँदै गर्दा सीतालाई पानीको प्यास लाग्दा चारैतिर चाहार्दा समेत पानी नभेटिएपछि अन्त्यमा लक्ष्मणले आफ्नो धनुषवाणले धर्तीमा छिद्र पारी राम र सीतालाई पानी खुवाई लक्ष्मण आफैँ स्नान गरेको किंवदन्ती छ । लक्ष्मणले आफ्नो धनुष वाणको मद्दतले धर्तीमा छिद्र पारी पानी निकालेको र आफू स्नानसमेत गरेकोले यसलाई त्रेतायुगदेखि नै वाणगंगा (लक्ष्मण सरोवर) को नामले परिचित हुन पुगेको हो । सोही वाणगंगा किनारमा देखिने मानिसका पाइला भगवान रामकै हुन् भनी पूजा हुनुका साथै सीता र लक्ष्मणको प्रतीकको रूपमा मानिँदै आएको छ ।
धनुषाधामको जंगलभित्र रहेको यस पवित्रस्थलमा जस्तोसुकै अनावृष्टि वा अतिवृष्टि हुँदासमेत एकैनासको पानी धर्तीबाट सधैँ निस्किरहन्छ । यसको वहाबमा कुनै परिवर्तन हुँदैन । यो आफ्नै सुर र तालमा वर्षको ३६५ दिन नै यहाँको पानीले शीतलता प्रदान हुने तथा यहाँ स्नान गर्नाले रोगव्याधी निवारण हुने मान्यता छ । रामायणकालीन चारधाममध्ये पूर्व झापाको सत्तासीधाम, मध्य सुनसरीको चत्तराधाम, धनुषाको धनुषाधाम र नवलपरासीको त्रिवेणीधामजस्ता महत्वपूर्ण स्थलहरूको रामायणकालीन भएको र यी धामहरूलाई पर्यटन प्रवद्र्धनको दृष्टिकोणले करिडोरको रूपमा विकास गर्न सकिए आन्तरिक तथा भारतीय पर्यटकको ओइरो लाग्ने विश्वास व्यक्त गरे ।
पर्यटकिय सम्भावना
ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको स्थान धनुषा जिल्लाको धनुषाधाम पर्यटन प्रवद्र्धनका लागि राम्रो वातावरण रहेको छ । यहाँका धार्मिक तथा ऐतिहासिक स्थलहरूको उचित संरक्षण, संवद्र्धनका लागि प्रचार–प्रसार हुन आवश्यक छ । अहिले पनि धनुषाधाममा धनुष मन्दिर रहेको छ जहाँ दैनिक रुपमा सयौं श्रद्धालुहरु दर्शन गर्न आउने गर्दछन् । त्यसैगरी अहिले संरक्षित वन पनि पर्यटकहरुको लागि आकर्षणको केन्द्र बनेको छ ।
धार्मिकस्थल धनुषाधाममा रामायणकालीन झ-झल्को दिने धनुष मन्दिर, धनुषा सरोवर लगायतका दजनौंस्थल भएपनि सोको संरक्षण र प्रचार-प्रसार गर्न नसकिएकोले दिनानुदिन ओझेलमा पर्दै गएको छ । धनुषाधाम नगरपालिकाको संरक्षित वन क्षेत्रमा अवस्थित रामायणकालीन इतिहास बोकेको ऐतिहासिक र पुरातात्विक महत्वको पवित्र तीर्थस्थल वाणगंगा अर्थात् लक्ष्मण सरोवर रामायणकालीन रूपमा परिचित भएतापनि यसको संरक्षण र प्रवद्र्धन हुन जरुरी छ ।
धनुषाधाम संरक्षित वन क्षेत्रमा पर्यटन प्रर्वद्धन गर्न चक्रपथ बनाउने, पोखरी खन्ने, घेरबार गर्ने, सौन्दर्यीकरण गर्ने लगायत विकास योजना अघि बढाइएको छ । राष्ट्रपति चुरे संरक्षण योजनाबाट वन क्षेत्रमा विभिन्न पर्यटकीय स्थल निर्माण तथा भ्युटावर लगायतको निर्माण समेत गरिएको र वनभित्रै रहेको करिब ३ हेक्टर क्षेत्रफलमा फैलिएको ताललाई समेत व्यवस्थीत गरेर डुंगामा घुमफिरको वातावरण समेत बनाउने काम भईरहेको छ ।
वनक्षेत्रलाई विशेषगरी जुलोजिकल पार्कको रुपमा स्थापना गरि त्यसमै वनस्पति उद्धान निर्माण र जैविक विविधताको संरक्षणको लक्ष्य लिएर काम अघि बढाईएको हो । वनमा निलगाई, चितुवा, सर्प, विभिन्न प्रकारका पुतली, चराहरु र अन्य जिवजन्तुहरु पनि देखिने गरेको हुनाले पर्यटकहरुको आकर्षण यसमा बढेको हो ।
कसरी पुग्ने ?
धनुषाधाम पुग्न अब बाटो निकै राम्रो बनिसकेकोले यात्रुलाई निकै सहज भएको छ । जनकपुरधामबाट १८ कि.मी. उत्तरपूर्व रहेको धनुषाधाम जान मुजेलियाबाट १६ कि.मी. र पूर्वपश्चिम राजमार्गको धारापानीबाट १० कि.मी. दक्षिणमा पर्ने भएकोले पूर्वपश्चिमबाट र उत्तरबाट आउनेहरूको लागि यो बाटो नै उपयुक्त हुन्छ । त्यहाँबाट पनि बस, टेम्पू सेवा नियमित छ । बाटो पनि फेरी फराकिलो बन्दैछ ।
घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !
यो पनि पढ्नुहोस्