१४ बैशाख २०८१, शुक्रबार

पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पूर्वाधार निर्माण


पूर्वाधार निर्माण

गलेश्वर । राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा सरकारी तथा समुदायको लगानीमा करोडौँका पूर्वाधार निर्माण गरिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सूचिकृत भएका १०० वटा पर्यटकीय गन्तव्यमध्ये एक घोडेपानी–पुनहिलमा पर्यटकीय आकर्षण बढ्न थालेपछि स्थानीय समुदायले समेत पूर्वाधार निर्माणमा लगानी गर्न थालेका हुन् ।

घोडेपानीदेखि पुनहिल पुग्ने पदमार्गमा २३ वटा सौर्य उर्जाका बत्ती जडान गरेर रातको समयमा पनि झलमल्ल उज्यालो बनाइएको छ भने झरी र हिउँ परेको अवस्थामा सुरक्षितरूपमा बसेर दृश्यावलोकन गर्न पुनहिल परिसरमा तीनकोठे पक्की आश्रयस्थल निर्माण गरिएको छ । घोडेपानीको मगर सङ्ग्रहालयको पक्की भवन निर्माण गरिएको छ ।

स्थानीयवासीले सरसफाइ र पर्यटकको स्वागतमा ध्यान दिन थालेका छन् । त्यसैगरी पुनहिल हुँदै मोहरे, घोडेपानीबाट चित्रे, खिवाङ र घान्दु्रकतर्फ जाने करिब दुई किलोमिटर पदमार्ग निर्माण गएिकोे छ । घोडेपानीका व्यवसायीमा सहरबजारमा जस्तै पक्की घर निर्माण र होटललाई सुविधायुक्त बनाउने प्रतिस्पर्धा चलेको छ ।

छ वर्षअघि यहाँका होटलहरूको क्षमता दैनिक ५०० जनाको हाराहारीमा रहेकामा अहिले क्षमता बढाएर एक हजारभन्दा बढी पु¥याइएको घोडेपानी होटल व्यवस्थापन समितिले जनाएको छ । होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष मीना पुनका अनुसार चित्रे हुँदै घोडेपानी जोड्ने चार किलोमिटर सडक ग्राभेल गरिएको छ । पोखरेबगरबाट चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारले रु २७ करोड लगानी गरेको छ ।

त्यसैगरी पाउद्वार तातोपानी कुण्डबाट भालखरा– खोपारा, खयरताल–खोपारा र लरेनी हुँदै पाउद्धार जोड्ने पाँच दिनको पदमार्गको अध्ययन र आधारभूत पूर्वाधार निर्माण सुरु गर्न थालिएको छ । पर्यटनको लाभ समुदायमा पुर्याउन नेपालमै पहिलो पटक नयाँ अवधारणामा खोपारामा ४० जना क्षमताको होटल सञ्चालन गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको रु २० लाख बजेटबाट गत आर्थिक वर्षमा खोपारा, खयर, ढाडखर्क, किन्दु क्षेत्रमा पदमार्ग निर्माण गरिएको वडाध्यक्ष राजेश तिलिजाले जानकारी दिए ।

धवलागिरी हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेर गत आवमा रु १० लाखको लागतमा जलथलेबाट फगामसम्म एक किलोमिटर ५०० मिटर पदमार्ग निर्माण गरिएको छ । दानाका बासिन्दाले भेडाबाख्रा र गाईभैसीको गोठ लेकबेँसी गराउन प्रयोग गरेकोे परम्परागत बाटोलाई पर्यटन पदमार्गमा रुपान्तरण गर्न लागिएको हो ।

पदमार्गमा पर्ने धार्मिकस्थल मोतिचौर बराहमा गाउँपालिका र समुदायको रु २० लाखको लगानीमा १०८ वटा धारा निर्माण गरिएको छ । भुरुङ–तातोपानीमा आउने पर्यटकको बसाइँ लम्ब्याउन मान्द्रेढुङ्गा हुँदै बराह गुफाबाट तीन हजार ४०० मिटरको उचाइमा अवस्थित मुन्द्रा चढाउने डाँडासम्म जोड्न पदमार्ग निर्माण गरिएको छ ।

अर्का वडाध्यक्ष ओमप्रकाश फगामीले आव २०७७/७८ मा गाउँपालिकाले विनियोजन गरेको रु १० लाख बजेटबाट दुई किलोमिटर ५०० मिटर पदमार्ग निर्माण गरिएकोे जानकारी दिनुभयो । प्राकृतिक उपचार र पर्यटकीयस्थलका रूपमा विकास गर्न पोखरे बगरको रातोपानी, पाउद्वार र भुरुङको तातोपानी कुण्डमा स्नानस्थल, नदी नियन्त्रण, पोखरी र टहरा निर्माण गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा म्याग्दीको पहिचान झल्काउने सङ्ग्रहालय स्थापना गरिएको छ । समितिका संरक्षक चामबहादुर पुनले लोप हुन लागेका परम्परागत सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर सङ्ग्र्रहालय स्थापना गरिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !