महाभारत काल भन्दा पनि पहिलेदेखि पवित्र तीर्थस्थल रहेको कैलालीको घोडाघोडी ताल Nepalpatra महाभारत काल भन्दा पनि पहिलेदेखि पवित्र तीर्थस्थल रहेको कैलालीको घोडाघोडी ताल
२५ फाल्गुन २०७७, मंगलबार

महाभारत काल भन्दा पनि पहिलेदेखि पवित्र तीर्थस्थल रहेको कैलालीको घोडाघोडी ताल

पर्यटकलाई मन्त्रमुग्ध पार्ने कैलालीको प्रमुख पर्यटकीय गन्तव्य घोडाघोडी ताल


घोडाघोडी ताल

पृष्ठभूमि : योगी नरहरिनाथले यो तालबाट पौराणिक काललाई स्मरण गराउने केही चिन्हहरू पत्ता लगाएर यो ताल महाभारत काल भन्दा पनि पहिलेबाट नै एक पवित्र तीर्थस्थल थियो भन्ने सावित गरेका थिए । यो तालको इतिहास थारू समुदायसँग गाँसिएको छ । स्थानीय किम्बदन्ती अनुसार यो ताल ७ वटा थारू जातिको बसोबास रहेको गाउँ डुबेर बनेको मानिन्छ र यस तालको आकार मानिसको हात जस्तै छ ।

परिचय

घोडाघोडी नगरपालिकामा अवस्थित घोडाघोडी ताल बिश्व रामसार सुचीमा सुचीकृत नेपालको तालमध्ये कैलाली जिल्लाको धामिर्क र पर्यटकिय सुन्दर स्थल हो । घोडाघोडी ताल प्रदेश ७ को कैलाली जिल्ला अन्तर्गत पर्ने एक रमणीय ताल हो । यो स्थल कैलाली जिल्लाको “वनबहेडा“ र “सुखड“को विचमा पर्ने जंगलमा पर्दछ ।

यो पनि पढ्नुहोस् : सन्तान नभएका दम्पती पुत्रलाभको कामना गर्दै जाने डोटीको बडिकेदार

पूर्व पश्चिम राजमार्गको छेउमै अवस्थित यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिईएको छ । यो ताल समुन्द्र सतहदेखि २०५ मिटर उचाइमा रहेको छ । करिब ४ मिटर औसत गहिराइ भएको घोडाघोडी तालको क्षेत्रफल करिब १३८ हेक्टर छ । यो ताल १९ वटा औंला भएको हत्केला आकारको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

थारु समुदायको सघन वस्ती रहेको सुख्खड स्थित ताल क्षेत्रमा थारु समुदायको धार्मिक महत्व रहेको किंवदन्ती उल्लेख छ । घोडाघोडी ताल नजिकै रहेको मन्दिरले धार्मिक पर्यटनलाई महत्व दिएको पाईन्छ । घोडाघोडी तालको छेउमा भगवान शिवको मन्दिरका कारणले यो क्षेत्र धार्मिक दृष्टिले समेत आस्थाको केन्द्रका रूपमा रहेको छ ।

माघे सङ्क्रान्ति, शिवरात्री, मङ्सिर पञ्चमीका दिनमा यो क्षेत्रमा ठूला धार्मिक मेला समेत यहाँ धार्मिक पर्यटनको महत्व बढ्नु स्वभाविक हो । धार्मिक अनुष्ठानमा प्रयोगमा आउने रातो कलमको बासस्थानको संरक्षणका लागि स्थानीय बासिन्दासँग मिलेर ताल सरसफाई कार्यक्रम नियमित रूपमा हुँदै गरेको छ ।

प्रत्येक वर्ष मंसिर महिनाको विवाह पञ्चमीका दिन घोडाघोडी क्षेत्रका चौधरी जातिले तालको छेउमा रहेको घोडाघोडी देवताको पूजा गर्ने गर्दछन् । तालको दक्षिण किनार राजमार्ग छेउमा रहेको घोडाघोडी बाबाको मन्दिरमा परेवा, हाँस, बंगुर, कुखुरा आदिको बली पनि दिने गरिन्छ । थारु जातिको ल्वाङी पूजा, मोहत्याल पूजा गरेर बाबाको आशीर्वाद लिने गर्दछन ।

शिवरात्रि, माघेसंक्रान्ति र कृष्ण जन्माष्टमीका दिन घोडाघोडीमा मेला लाग्ने गर्दछ । आदिवासी थारु जाति प्रकृतिको रक्षक र परम मित्र हुन । थारुजातीको प्रकृतिसित जीवित सम्बन्ध रहेको छ । घोडाघोडीमा अर्को धार्मिक महत्वको स्थल सीताकुण्ड ताल क्षेत्र हो । घोडाघोडी तालको जलस्रोतको भण्डार भनेर सीताकुण्डलाई मानिन्छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

किम्बदन्ती अनुसार प्राचिनकालमा यो स्थानमा एउटा सुन्दर गाँउ थियो । तर पछि एक रातभर परेको पानीले उक्त स्थानलाई तालमा परिणत गरायो । त्यसपछि त्यहाँका राजाले पहिला भाले र केही समय पछि पोथी घोडालाई त्यस क्षेत्रको अनुगमन गर्न पठाएछन् । तर दुबै घोडाहरू गन्तव्यमा नपुगि मरेछन । त्यसपछी ती राजाले उक्त स्थानमा कुनै दैवीशक्ति भएको बिचार गरी त्यस स्थानमा मन्दिर निर्माण गर्न लगाए । तिनै मृत घोडाघोडी सम्झनामा त्यो मन्दिर र ताललाई घोडाघोडी भन्न थालियो ।

यो पनि पढ्नुहोस् : डोटीमा अवस्थित साक्षत देवी शैलेश्वरी माताको मन्दिर

घोडाघोडी तालको बारेमा अर्को प्रसंग पनि छ । सत्ययुगको अन्ततिर उछौ श्रावा नामको पाइनदार घोडामाथि तेजस्वी भाई रेवन्तक वैकुण्ठतिर आउँदै गरेको देखेर लक्ष्मी आसक्त भइछन् । विष्णु भगवानले त्यसलाई सहन गर्न नसकेर लक्ष्मीलाई मृत्युलोकमा गएर घोडीको भेषमा विचरण गर्नु भन्दै श्राप दिएछन् । लक्ष्मी घोडीको रुप धारण गरी यही घोडाघोडी वरपर विचरण गर्न थालिन् । केही समय पश्चात विष्णु भगवान लक्ष्मीलाई भेटन घोडाको भेष धारण गरी आए । दुवै यही घोडाघोडी ताल वरपर विचरण गरेको कथा पनि थारु जातीमा रहेको छ ।

परापूर्व कालमा त्यस क्षेत्रको मानव वस्तीमा राक्षसहरुले दुःख दिएको अवस्थामा हिन्दु धर्मका देवता भगवान विष्णुले घोडा र लक्ष्मी भगवानले घोडीको अवतार लिई राक्षसहरुको संहार गरी त्यस क्षेत्रमा वसोवास गर्ने थारु समुदायको रक्षा गरेको किंवदन्ती छ ।

प्राकृतिक सौन्दर्य

हवाई दृश्यबाट अवलोकन गर्दा एउटा तालको सीमा टुङ्गिन नपाउँदै अर्को ताल सुरु हुने तालै तालको माला झैं लाग्छ, घोडाघोडी क्षेत्र । पूर्व पश्चिम राजमार्गको छेऊमै रहेको यो ताल क्षेत्र दुर्लभ चराचुरिङ्गीले विचरण गर्ने शान्त भूमि अनि सुरक्षित बासस्थान हो । घोडाघोडी ताल विश्व रामसार सूचीमा सूचिकृत भएको ताल हो ।

यो पनि पढ्नुहोस् : धर्तीमा स्वर्गको टुक्रा अछामको रामारोशन

संरक्षणका साथै प्रचार प्रसार हुन थालेपछि हिउँदमा साइवेरियन चराको अध्ययन गर्न र लोपोन्मुख बिभिन्न जातिका जलचर, स्थलचर तथा जैविक विविधताको दृश्यावलोकन र खोज अध्ययन गर्न विभिन्न मुलुकका अध्ययनकर्ता तथा पर्यटकहरु आजभोली घोडाघोडी ताल पुग्ने गरेका छन ।

जैविक विविधता

धार्मिक पर्यटकिय महत्व सहित अन्तर्रा्ष्ट्रिय रामसार सुचिमा सूचिकृत घोडाघोडी ताल जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । यस तालको आसपासमा रहेका अन्य १३ वटा स(साना तालहरु भएको सिमसार क्षेत्र छ । विश्व जलचर इतिहासमा सङ्कटपूर्ण अवस्थामा पुगेका दर्जनौ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ मानिने चराचुरुङ्गीहरूलाई अझसम्म पनि यो तालले संरक्षण दिइरहेका पाइएपछि सन् २००३ अगस्त १३ गते विश्व रामसार सूचीमा सूचिकृत भएको छ ।

यो पनि पढ्नुहोस् : सुर्मादेवीको क्रिडास्थल बझाङको ताल सुर्मा सरोवर

यूरोप, अमेरिका तथा दक्षिण एसियाली मुलुकका कतिपय प्रकृति संरक्षणविद्, अनुसन्धानकर्ताका लागि यो क्षेत्र ज्यादै महत्वपूर्ण भएपनि नजीकको तीर्थ हेला भनेझैं घोडाघोडी ताल वरिपरिका बासिन्दाको क्रियाकलापबाट दिनदिनै क्षतविक्षत हुँदै गएको छ । नेपालको सन्दर्भमा भन्नुपर्दा तराई क्षेत्रमा पाइने प्राकृतिक तालहरूमध्ये सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको ताल क्षेत्र यो नै हो ।

विश्वका सङ्कटापन्न जलचर, स्थलचर तथा जैविक विविधताको दृष्टिले यो ताल क्षेत्रको संरक्षण गर्नु जरुरी भएको हो । सालका प्रजातिमा निकै बहुमूल्य मानिने र औषधिका रूपमा पनि प्रयोगमा आउने सतिसाल, साज, खयरको घना जङ्गल यहाँको विशेषता हुन । ताल क्षेत्रमा पाइने जङ्गली धानको संरक्षणका लागि अध्ययन, अनुसन्धान र वीऊ जोगाऊ कार्यक्रम सञ्चालन गरिएको छ ।

पर्यटकीय महत्व

घोडाघाडी घुमघाम गर्नको लागी पर्यटकहरुलाई कुनै असुबिधा हुदैन । घोडाघोडी ताल नजिक सुखड गाउँमा आधुनिक होटलहरु पनि संचालनमा छन । गाउँको परिवेशमा होमस्टेमा बस्न चाहने पर्यटकहरुका लागि माघीगाउँमा हामस्टे संचालनमा छ । पर्यटकहरु गाउँले परिवेशमा घुलमिल गर्छन्, थारु नाच हेर्छन् र स्थानीय संस्कृतिमा रमाउँछन् ।

यो पनि पढ्नुहोस् : मौसमपिच्छे रंग बदल्ने सल्यानको अद्भूत दह कुपिण्डे

राजमार्गबाट चार किलोमिटर भित्र माघीगाउँ पुगेपछि पर्यटकहरुलाई पाहुनाको रुपमा स्वागत गर्ने प्रचलन छ । घोडाघोडी नगरपालिका ४ मा पर्ने माघी गाउँका घरमा होमस्टे सञ्चालनमा छन । होमस्टेमा पर्यटकहरुलाई थारु समुदायले सस्कृतिका सखिया, लाठी लगायत थारु नाच देखाउने गर्दछन ।

पर्यटकिय सम्भावना

घोडाघोडी ताल क्षेत्र जलचर र थलचर दुवै किसिमका चराहरुको बसोबास स्थान रहेकाले पर्यापर्यटन, पंक्षी अभयारण्य (बर्ड स्न्याक्चुरी) र प्राकृतिक चिडियाखानाको सम्भावना रहेको छ । यसको संरक्षण र प्रर्वद्धन गर्दै पश्चिम नेपालकै उत्कृष्ट पर्यटकिय गन्तव्य वनाउनु जरुरी छ ।

समस्याहरु

पछिल्लो समय घोडाघोडी तालको राजमार्ग नजिक मानिसहरुको बसोबास, बढन थोको छ । जसले गर्दा प्राकृतिक पानीको स्रोतहरु सुक्दै जान थालेको छ । घोडाघोडी तालबाट खेतबारीको सिँचाइको लागि पानिको प्रयोग गर्ने, माछा मार्ने तथा वन्य जीवजन्तुहरुको चोरी शिकारीका कारणले पनि घोडाघोडी तालले आफ्नो सौन्दर्य र विविधतालाई गुमाउ कि भन्ने शंका उत्पन्न हुन थालेको छ । यसले धार्मिक, पर्यटकीय र वातावरणीय क्षेत्रको अस्तित्व गुम्ने खतरा बडेको छ । यसलाई रोक्न अब स्थानीय निकाय लाग्नु पर्दछ ।

कसरी पुग्ने ?

पूर्व-पश्चिम राजमार्गमा पर्ने धनगढी बजारबाट करिब ५३ किलोमिटर पूर्वमा यो ताल पर्दछ । सदरमुकाम धनगढीदेखि १ घण्टा र नेपालगञ्जदेखि ३ घण्टामा घोडाघोडी पुग्न सकिन्छ । पश्चिम नेपालको प्रदेश नं ७ मा प्रवेशद्वारका रुपमा रहेको कर्णाली चिसापानी पुलदेखि ३७ किलोमिटरको दुरीमा घोडाघोडी ताल पर्दछ । पुर्वी नेपालको काठमाण्डौ, पोखरा र विराटनगर क्षेत्रबाट घोडाघोडी घुमघाम गर्न जाने पर्यटकले कम्तीमा १ हप्ताको समय निकाल्न सके राम्रो हुन्छ ।

यो पनि पढ्नुहोस्

लाशलाई टुक्रा-टुक्रा गरेर काटी गिद्धलाई खुवाइने चलन भएको लिमी उपत्यका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !