१४ बैशाख २०८१, शुक्रबार

धर्तीमा स्वर्गको टुक्रा अछामको रामारोशन

शिव र पार्वतीको वासस्थानका रुपले चिनिने अछामको रामारोशन


रामारोशन

पृष्ठभूमि : रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट यस क्षेत्रको नाम रामारोशन रहेको किम्बदन्ती यहाँका मानिस सुनाउँछन् । एकथरीले यो क्षेत्रमा शिव-पार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँछन् ।

रामारोशन गाउँपालिका-६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ । बाह्र बण्ड भनेको यहाँका १२ वटा ताललाई जनाउँछ भने अठार खण्ड भनेको यहाँ रहेका १८ वटा चौरलाई जनाउँछ ।
रामारोशन
परिचय

रामारोशन क्षेत्र अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो । बाह्र बण्ड, अठार खण्डका नामले चिनिने यो क्षेत्रमा बाह्रवटा ताल र अठार वटा ठुला-ठुला चउर छन । प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ । बाह्रवटा तालहरुमा सबैभन्दा ठुलो ताल जिगाले ताल हो । जसको आकार अंग्रेजी अक्षर “सि“ जस्तो छ । जुन बाटुले ताल भन्दा अली माथि छ ।

यहाँको सानो तालमा ताउने ताल हो । यो हाल पुरिने अवस्थामा छ । जिगाले ताल भन्दा माथि पनि धेरै तालहरु छन । यो ताल भन्दा केहि परपट्टी ठुला-ठुला चउर छन । जून अठार खण्डका नामले प्रख्यात छन । यस्ता चउरहरु मध्येमा किनेमिने चउर सबैभन्दा ठुलो चउर हो । जसको बिच भएर कैलाश खोला बग्दछ । यो सम्भवत अछामकै ठुलो चउर हो । यसको केहि माथी पट्टी रोशन चउर छ । यो पनि धेरै नै ठुलो छ ।

यो पनि पढ्नुहोस् : सुर्मादेवीको क्रिडास्थल बझाङको ताल सुर्मा सरोवर

समुन्द्र सतहदेखि २०५०देखि ३७९२ मिटर उचाईमा फैलिएको रामारोशन इतिहास, प्राकृतिक सौन्दर्यता, आध्यात्मिक र जैविक विविधताको सुन्दर बगैचा हो । कैलाश खोलाको मुहान रहको रामारोशनमा प्रसस्तै गुफा र झरना छन्। साथै अनेकन जंगली जनावर र पंक्षीको बास्थानसमेत रहेको यहाँ थुप्रै मैदानहरू छन्, ती मध्ये मुख्य किनिमिनी, रामे र रोशन हुन् ।

धार्मिक तथा सांस्कृतिक महत्व

महादेव र पार्वतीको बासस्थानको रूपमा रहेको मानिने रामारोशनमा सिमसार क्षेत्र पनि छ । रामारोशन क्षेत्रलाई पर्यटकीय, धार्मिक र ऐतिहासिक अनुसन्धान गर्न पनि अति महत्वपूणर् स्थानको रुपमा विकास गर्न सकिन्छ  । परापूर्वकालमा राक्षसलाई जिगाले तालको बीचमा रहेकोे खम्बामा बाँधेर मारेकाले भन्ने जनश्रुतिसँगै नजिकै रहेको मन्दिरमा पूजा गरेमा मनोकमना पूरा हुने रामारोशनवासीको भनाइ छ ।

रामारोशन

पौराणिक मान्यताहरु

परापूर्वकालमा रामारोशन क्षेत्रमा भगवान् शिव र पार्वतीले स्नान गरेको र त्यहीं बास गरेको भन्ने किंवदन्ती पाइन्छ । यसरी शिव र पार्वतीको वासस्थानका रुपले चिनिने यो क्षेत्रमा प्राचीन समयमा रमा र रोशन नाम भएका आमा र छोरा बस्थे । उनीहरु यही बसेर गाई, बाख्रा पाल्ने गर्थे । एकदिन रमा र रोशन दुवै गोरु बाध्ने छानाबाट बेलुका अध्यारो भई सकेको बेला घर फर्कि रहेका थिए । बाटोमा एउटा ठुलो राक्षस कराई राखेको थियो । जून अति नै भयानक र हिंस्रक थियो र भेट्यो भने मान्छे मारेर खान्थ्यो र मानिसहरुलाई सधैजसो दुःख दिई राख्थ्यो । सो राक्षसको आवाज सुनी डरले काप्न थाले र छिटोछिटो उनीहरुमाथि शिव र पार्वती बस्ने ठाउँ गए र राक्षस पछाडि उनीहरुलाई पच्छायाउदै थियो ।

यो पनि पढ्नुहोस् : प्राकृतिक सुन्दरताको अनुपम उदाहरण बाजुराको बुढीनन्दा ताल

उनीहरुले शिव पार्वतीको धेरै ठूलो पुकार गरे र जसबाट प्रसन्न भै महादेव प्रकट हुनु भयो र रमा, रोशनलाई किन मलाई पुकारेको मनुष्य भनेर सोध्नुभयो । महादेवलाइ देखेर रमा र रोशन खुसी भए र “हाम्रो ज्यान खतरामा छ, एउटा राक्षसले हामीलाई पच्छायाउदै छ । हजुरले हामीलाई बचाई दिनुपर्यो“ भनेर बिन्ति गरे । सो बिन्ति सुनी महादेवले प्रसन्न भई सो राक्षसलाई समाती ठुलो फलामको डोरीले ठुलो चउरमा बाँधि दिनुभयो र त्यस चौरमा पानीभरी दिनुभयो । जसले गर्दा त्यो राक्षस हलचल गर्न पाएन र रमा र रोशनले सदाका लागि सो राक्षसबाट मुक्ति पाए र कालान्तरमा सो ठाऊँ रामारोशन भनेर चिनिन थाल्यो ।

पर्यटकीय महत्व

रहरलाग्दा जमिनका फाँट, आकाश छोप्ने जस्तै अग्ला चुचुरा । तालमा पौडिरहेका जलहाँस, नाचिरहेका डाँफे, दौडिरहेका मृग र कस्तुरी । अनि राता, सेता लालीगुराँस । रामारोशन क्षेत्रमा देखिने यस्ता मनमोहक दृश्यले सबैलाई लोभ्याउँछ । प्रकृतिले टपक्क राखिदिएको छ एक स्वर्गको टुक्रा अथवा रामारोशन क्षेत्र । हरियो कार्पेट बिछ्याएजस्तै अनुभव गर्न मिल्ने यस क्षेत्रमा प्रकृतिले नै दिएका अपार ठूला मैदान रहेका छन् । रामारोशनकै छाँगा छहरा, आकाश नै छुनेगरी हरबखत उभिरहेका पहाडका थुम्काहरु मात्र होइन भेडाबाख्रा, गोरुभैंसी र जंगली जनावरले चरिरहेका दृश्यले पनि सबैलाई आनन्दको अनुभूति दिइरहेको हुन्छ ।

प्राकृतिक सौन्दर्य

पर्यटकीय क्षेत्र रामारोशनको सुन्दरताको वणर्न गरी नसक्नु छ । पर्यटकहरुका लागि एक स्वर्गस्थल हो रामारोशन । रामारोशन पर्यटकीय क्षेत्रमा दर्जनौं समथर फाँटहरु, ढपक्कै धर्ती ढाकेर फुल्ने फूलहरुले मन लोभ्याउँछन् । हरिया पाटनमाथि सेताम्मे डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल देख्न सकिन्छ । ईश्वरकै वरदान हो रामारोशन । हरियाली फाँट, त्यसमाथि फुलेका रंगीबिरंगी फूलहरू निकै मोहक र आकर्षक देखिन्छन् । यहाँ डाँफे, मुनाल कस्तुरी, मृग घोरललगायत चरा र नेपालमै लोप हुन लागेका जनावरहरू रामारोशन क्षेत्रको अवलोकन गर्ने जोकोहीले पनि देख्न सक्नुहुन्छ । मनै लोभ्याउने तालहरु ।
Ramaroshan1.jpgजैविक विविधता

यो ठाउँमा ९ प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ । यहाँ लौठ सल्ला लगायत प्रशस्त मात्रामा जडिबुटी पनि पाइन्छन् भने लोपोन्मुख जीवजन्तुहरूको बासस्थानको रूपमा पनि रामारोशन क्षेत्र रहेको छ । यहाँ हरियो र नीलो काइनेटिक पत्थर, गेरुलगायत बहुमूल्य धातु पनि पाइन्छन् ।

अछामको उत्तर पूर्वी क्षेत्रमा पर्ने रामारोशन क्षेत्रले जिल्लाको बीच भाग भएर बग्ने कैलाश नदीलाई पनि जन्म दिएको छ । रामारोशन क्षेत्रका १२ तालमध्ये सबैभन्दा ठूलो ताल जिंगाले ताल हो । यो ताल पूरै घुम्न तीन-चार घण्टा लाग्छ । ठूला मैदानको बीच भाग भएर बग्ने कैलाश नदीले अझ यहाँको सुन्दरतालाई उचाइ दिएको छ । रामारोशनमा सिमसार क्षत्र पनि छ ।

यो पनि पढ्नुहोस् : गौतमहरूको उद्गमस्थल रूकुम पश्चिमको पर्यटकीय गन्तव्य गोतामकोट

पर्यटन प्रर्वद्धन

रामारोशन क्षेत्रका बासिन्दाहरुको सहयोगी मन र सौन्दर्यको केन्द्रले पर्यटकहरुले त्यहाँबाट फर्कन मुस्किलै पर्छ । राज्यको आँखा यस क्षेत्रका लागि सकारात्मक भैदिए र त्यसको सही सदुपयोग हुन पाए रामारोशन संसारकै नमुना ठाउँ बन्ने निश्चित छ । रामारोशन क्षेत्रको पर्यटन विकासको प्राकृतिक धरोहरको संरक्षण र प्रवद्र्धनको आवश्यकता छ ।

पर्यटकीय सम्भावना

रामारोशनको विकासका लागि संरक्षित क्षेत्र बनाई प्रचारप्रसार र पर्यटनका लागि आवश्यक पूर्वाधार विकास गर्न सके यो क्षेत्र निकै अगाडि बढ्न सक्ने सम्भावना रहेको छ । अग्ला पहाडको खोचमा रहेको रामारोशन क्षेत्रमा पर्यटन क्षेत्र मात्र नभई प्याराग्लाइडिङ, रकक्लाइम्बिङ, जलबिहार, विभिन्न खेल खेल्न सकिने अनुमान सजिलै लाउन सकिन्छ ।

यो पनि पढ्नुहोस् : मौसमपिच्छे रंग बदल्ने सल्यानको अद्भूत दह कुपिण्डे

आकर्षणहरू

रामारोशनको घना जङ्गलभित्र सधैँ सदाबहार टल्किरहने तालहरुमा जिगाले ताल, बाटुले ताल, लामीदह, तल्लो धउने, रगाडे, लिस्सेडाली, गाग्रे, ताउले, दल्याना, डउठे, बाउले गडा, रामेताल आदि आर्कषणका केन्द्रविन्दु हुन् । यस्तै किनिमिनी मैदान लगायत अन्य विभिन्न घाँसे मैदानका फाँटले रामारोशन क्षेत्रको सुन्दरतालाई स्थापित गरिदिएको छ । ठुला मैदानको बिच भएर बग्ने कैलाश नदीले यहाँको सुन्दरतालाई उचाइ दिएको छ ।

समस्याहरु

पर्यटकीय क्षेत्रका रुपमा सम्भावना बोकेको रामारोशन ताल प्रचार-प्रसारको अभावमा ओझेलमा परेको छ । त्यसैले प्रकृतिले सिँगारेको रामारोसन तालमा नगन्य पर्यटक आउने गरेको स्थानीयहरु बताउँछन् ।

राज्यको बेवास्ता

रामारोशन पर्यटनका लागि राम्रो सम्भावना भएको क्षेत्र हो तर राज्यको ध्यान जान सकेको छैन । त्यहाँसम्म पुग्ने सडकको सतरोन्ति हुनु जरुरी देखिन्छ भने विद्युत् र सञ्चारको सेवा विस्तारसँगै पर्यटकका लागि होटेलसमेत स्थापना हुनु जरुरी छ । उद्यपि स्थानीय स्तरमा केही गेस्ट हाउस भने सञ्चालित छन् ।

कसरी पुग्ने ?

पहिलो रुट अन्तर्गत धनगढी, दीपायल, साँफेबगर हुँदै तिमिल्सैनसम्म पक्की सडक भएकाले गाडीमा आउनजान सकिन्छ । धनगढी, दीपायल हुँदै खप्तड जाँदा त्यहाँबाट रामारोशनसम्म आउने अर्को पैदल रुट पनि दोस्रो रूट हो ।

तेस्रो रुटअन्तर्गत काठमाडौं, सुर्खेत, अछामको विनायक हुँदै मंगलसेन, वलीगाउँसम्म गाडीमा र त्यहाँबाट हिँडेर शान्तडा हुँदै रामारोशन पुग्न सकिन्छ । चौथो रुट हो, सुर्खेत हुँदै कालिकोटसम्म जाने र त्यहाँबाट हिँडेर रामारोशन पुग्ने । यो रुटमा धेरै हिँड्नुपर्ने भएकाले अलि असहज र जंगलको बाटो हिँड्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्

लाशलाई टुक्रा-टुक्रा गरेर काटी गिद्धलाई खुवाइने चलन भएको लिमी उपत्यका

सतीदेवीको अन्तिम अंग पतन भएको मुगुको धाम छायाँनाथ

सतीदेवीको कण्डयाउलो पतन र दश महाविद्या समेत उत्पत्ति भएको डोल्पाको शक्तिपीठ त्रिपुरासुन्दरी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु