६ बैशाख २०८१, बिहिबार

गौतमहरूको उद्गमस्थल रूकुम पश्चिमको पर्यटकीय गन्तव्य गोतामकोट

अत्रि ऋषिको आश्रम भएको गोतामकोट


गोतामकोट

पृष्ठभूमि : गोतामकोटलाई गौतमहरुको उद्गमस्थल पनि भन्ने गरिएको छ । गोतामकोटका हरेक गाउँ नै पिच्छे समुदाय अनुसारको बस्ती छ । गोतामकोटमा गौतमहरूको उद्गमस्थल, अत्रि ऋषिको आश्रम, मालिका मन्दिर, चित्रीपाटन लगायतलाई जस्ता पर्यटकीय क्षेत्र रहेका छन् ।

परिचय

आठबीसकोट नगरपालिका-४ र ५ (साविकको गोतामकोट गाविस) को गोतामकोट रुकुम पश्चिम जिल्लाको सुन्दर ठाउँमध्येमा पर्दछ । साविकको गोतामकोट गाँविस अहिले आठबिसकोट नगरपालिका वडा नं ४ र ५ मा पर्दछ । डोल्पा जिल्लासँगको सिमाना जोडिएको गोतामकोटलाई कृषि गाँउ बनाउन पहल थालिएको छ । गोतामकोटको भू-भागलाई पहिले एकीकृत गर्ने र त्यसलाई विभिन्न क्लष्टरमा विभाजन गरी नमूनाको रुपमा विकास गरिने भएको हो ।

बस्ती बसाउन र खेती गर्न बैज्ञानिक हिसाबले जमिन बाँडिने नगरपालिकाले जनाएको छ । प्रविधिको उच्चतम प्रयोगबाट संयुक्त रुपमा सुधारिएको व्यवसाय प्रवद्र्धन गर्दै नमूना गाउँ बनाउन यसको अवधारणा ल्याइएको हो । भू-बनोटका हिसाबले गोतामको पश्चिम जाजरकोट, उत्तर डोल्पा, पूर्वमा चित्रेपाटन र साविक स्यालाखदी तथा दक्षिणमा साविक आठबीसकोट रहेका छन् । आठबीसकोट पहिले गाविस रहेपनि अहिले यसकै नामबाट नगरपालिका बनाइएको छ ।

कृषि गाँउमा फलफूलको हाईटेक नर्सरी, बाख्रा र भैंसीका लागि आधुनिक गोठ लगायतका संरचनाहरु बनाईदैछ । त्यस्तै गाउँको माथिल्लो छेउमा रहेको गैरापातलमा स्याउ र किबीको बगैँचाहरु समेत व्यवस्थित गरिदैछ ।

यो पनि पढ्नुहोस् : मौसमपिच्छे रंग बदल्ने सल्यानको अद्भूत दह कुपिण्डे

इतिहास

गोतामकोटको बारेमा चिनारी दिन स्थानीय स्तरमा एउटा बाक्यांश नै बनाइएको छ – जेठो दाङ, कान्छो गोताम । सानो भूभाग भएपनि दाङजस्तै समथर उपत्यका । दाङजस्तै अन्न उत्पादनमा आत्मनिर्भर र सुन्दरताको खानी भएकाले पनि यो ठाउँलाई ‘कान्छो गोताम’ भनिएको स्थानीयवासीको अनुमान छ । त्यसो त दाङ मात्र होइन नेपालभरी रहेका गौतम (गोतामे) हरुको उद्गमस्थल भएकाले पनि गोतामकोट थप महत्वपूर्ण र आस्थाको केन्द्र मानिन्छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

उच्च पहाडी भेगमा पर्ने यस क्षेत्रमा सबै जातजातीका मानिसको बसोबास छ । जातीय विविधताका कारण यहाँ छुवाछुत प्राथा अन्त्य भइसकेको छ । कला सँस्कृतिकका दृष्टिले यहाँका गाउँपिच्छे संस्कृतिका धरोहर छन् । फरक(फरक जातिका फरक–फरक गाउँ भएकाले हरेक गाउँ सँस्कृतिका धनी छन् । भदौ पूर्णिमामा मिग्रीमा ठूलो मेला लाग्ने गर्छ ।

यहाँ जातजातिका बेग्लाबेल्लै गाउँ छन् । कोटतिरुवा गाउँ, ठकुरी गाउँ, बिष्ट गाउँ, आरुखोला गाउँ, बाहुनगाउँ, टाँगे गाउँ, दमैबारा गाउँ, पानीकोट गाउँ, मानचौर गाउँ यहाँका मुख्य गाउँ हुन् । त्यस्तै यहाँ छहरेखोला गाउँ, काथिना सार्कीबारा गाउँ, मिग्री गाउँ, रिम्का गाउँ, भण्डारी गाउँ लगायतका गाउँ रहेका छन् । त्यस्तै मुरीगाउँ, थापागाउँ, मगागाउँ आदिको पनि आफ्नै बिशेषता छ । यहाँ जग्गा किनबेचको पनि अनौठो शैली छ । वर्षभरि कति उत्पादन हुन्छ, त्यसको आधा मूल्यमा जग्गा बेचिन्छ, जसलाई मुरीप्रथा भनिन्छ ।

यो पनि पढ्नुहोस् : लाशलाई टुक्रा-टुक्रा गरेर काटी गिद्धलाई खुवाइने चलन भएको लिमी उपत्यका

पर्यटकीय महत्व

मिलेको गाउँ, घर, अधिकांश परम्परागत घर, फाँट र बस्ती लोभ लाग्दा छन् । सुन्दर फाँट र मिलेका बस्ती, धार्मिक तथा प्राकृतिक सम्पदाले पनि गोतामकोट महत्वपूर्ण रहेको छ । चित्रीपाटनबाट झर्ने ९ छहराले पनि पर्यटकलाई आकर्षित गर्छन् ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

मानचौरमा धार्मिकस्थलहरु रहेका छन् भने टिमुर गाउँमा पहिले राजाहरु बस्ने गरेको गाउँले बताउँछन् । भूरे टाकुरे राजा रहेको बेला भण्डारी गाउँमा राजाको भण्डारा लगाउने गरिएको यहाँका बूढापाकाहरु बताउँछन् । कुनै बेला भूरेटाकुरे राजाको दरबार भएर पनि राज्यबाट निरन्तर उपेक्षामा रहेको यो गाउँ विस्तारै शैक्षिकरुपमा पनि अघि बढ्न खोज्दैछ ।

७ सय वर्षदेखि गोतामकोटमा गौतमहरू रहेको इतिहास छ ।उद्‌गम थलोबाटै गौतम विस्थापितगौतमहरूको उद्गमस्थल गोतामकोटमा गौतम भने घट्दै गएका छन् ।

रूकुम पश्चिमको पर्यटकीय गन्तव्य गोतामकोट

प्राकृतिक सौन्दर्य

प्राकृतिक सुन्दरता, शान्त र स्वच्छ वातावरणका कारण यहाँको जनजीवन हेर्न जान चाहनेका लागि गोतामकोट नजिकको पर्यटकीय गन्तव्य बन्ने निश्चित छ । खेतबारीमा प्रशस्त बालीनाली देखिने, वरिपरि अग्लाअग्ला पहाड, तल कलकल बगेको ठूलो भेरी नदी यहाँका रोमाञ्चक दृश्य हुन् । एकै ठाउँबाट अन्य धेरै गाउँको अवलोकन गर्न सकिन्छ ।

बेंसीमा फल्ने धानदेखि लेकमा फल्ने ओखरसम्म पाइने गोतामकोटको विशेषता हो । सुन्दा जति दुर्गम र हेर्दा जति उपेक्षित छ यो भूभाग, यहाँ पुग्दा त्यति नै मनोरम र सुन्दर पनि छ । गोतामकोटबाट ठूलो भेरी नदी बगेको दृश्य हेर्नुको मज्जा नै छुट्टै छ । त्यहाँबाट भेरी नदी नागबेली आकारमा बगेको त देखिन्छ नै, सँगसँगै नदी तिरमा रहेको छोटे बगर र सुन्दरबजारको दृश्य पनि कम मनमोहक छैन ।

पर्यटकीय  सम्भावना

गाउँको मौलिकता हेर्न चाहनेका लागि पनि यो पर्यटकीय गाउँ बन्नसक्छ । यहाँ ढुंगाले छाएका परम्परागत शैलीका घर निकै सुन्दर लाग्छन्, जसमा लगाइएको रातो माटो र कमेरो त अझ यी घरहरुको सौन्दर्यका आकर्षण हुन् ।

कसरी पुग्ने ?

आठबीसकोट नगरपालिकाको केन्द्र राडीबजारबाट जाजरकोटको नलगाड नगरपालिका हुँदै गाडी र पैदल यात्रामार्फत गोतामकोट पुग्न सकिन्छ । गोतामकोट पुग्न रुकुम र जाजरकोटको २० किलोमिटर सडकखण्ड प्रयोग गरेर जानुपर्छ, जुन रुकुम डोल्पा सडकले नै सम्भव बनाएको हो ।

यो पनि पढ्नुहोस् 

सतीदेवीको अन्तिम अंग पतन भएको मुगुको धाम छायाँनाथ

सतीदेवीको कण्डयाउलो पतन र दश महाविद्या समेत उत्पत्ति भएको डोल्पाको शक्तिपीठ त्रिपुरासुन्दरी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !