१२ बैशाख २०८१, बुधबार

दैलेखको पवित्र तीर्थस्थल पञ्चकोशी ज्वाला क्षेत्र


दैलेखको पञ्चकोशी ज्वाला क्षेत्र

पृष्ठभूमि : प्राचीन कालका खस मल्ल राजाहरूले यस तीर्थलाई पञ्कोशी भनेर नामांकन गरी तीर्थ यात्राको थालनी गरेयता यस तिर्थको नाम पञ्चकोशी रहन गएको अनुमान छ । पादुका, नाभीस्थान, कोटीला, श्रीस्थान र धुलेश्वरलाई पाँच थान पञ्चकोशीको नाम दिईएको छ ।

परिचय

दैलेख जिल्लाको दुल्लु नगरपालिका स्थित पञ्चकोशी ज्वाला क्षेत्र नेपालकै एक पवित्र तीर्थस्थल हो । यो क्षेत्रमा नित्य प्रज्वलित ज्वालाहरू अवस्थित भएकोले यस तिर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तिर्थ पनि भनिन्छ । हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणमा यस क्षेत्रलाई बैश्वानर तिर्थ भनेर वर्णन गरिएको छ । यस तीर्थलाई अग्नि तीर्थ भनेर पनि चिनिन्छ ।

दैलेखको पञ्चकोशी ज्वाला क्षेत्र

इतिहास

नेपाली भाषाको उत्पत्ती स्थान जुम्लाको सिंजालाई मानिएपनि नेपाली भाषाको सबैभन्दा पुरानो अभिलेख दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको दुल्लुमा रहेको छ । अहिलेसम्मको अध्ययन अनुसार सबैभन्दा पुरानो मानिएको दामुपाल, अढईपालद्वारा शाक्य ९ सय तिन तदानुशार विक्रमसंवत १ हजार ३८ को शिलालेख यसै क्षेत्रमा रहेको छ । यसका साथै विक्रम संवत १४१४ को पृथ्वी मल्लले बनाएको ७ हात लामो किर्ति स्तम्भ पनि यसै क्षेत्रमा रहेको छ ।

यसका साथै पादुकामा रहेको अशोक चल्लको स्तम्भ शिरस्थानमा रहेको अभिलेखका साथै बाटोभरि जताततै गाडिएका वीर खम्बाहरूमा भएका अभिलेखहरूले नेपाली भाषा तथा पश्चिम नेपालको इतिहास केलाउनमा धेरै महत्व राख्दछन् । तसर्थ यो क्षेत्रलाई नेपालकै ऐतिहासिक महत्व बोकेको स्थानको रुपमा लिइन्छ । कुनाकन्दरा, पहाडका चुचुराहरू मन्दिर र देवस्थलले सिंगारिएको पञ्चकोशी अत्यन्तै सुन्दर छ ।
महत्व

भौगोलिक विकटताको कारणले उजागर हुन नसकेको पञ्चकोशीले धार्मिक, ऐतिहासिक, पर्यटकिय र आर्थिक महत्व समेत ओगटेको छ । पञ्चकोशी नेपालकै प्रचुर मात्रामा पेट्रोलियम ग्यासको सम्भाव्य क्षेत्र पनि हो ।

धार्मिक तथा सांस्कृतिक महत्व

ज्वाला क्षेत्र अन्तरगत १०८ शक्तिपिठ पर्दछन । भैरवी, मालिका, स्वामी कार्तिक्य, बिन्ध्यावासीनी, लामाद्धाला आदि चर्चित छन् । पञ्चकोशी ज्वाला क्षेत्र हिन्दु धर्मावलम्वीको लागि मात्र नभएर बौद्ध धर्मावलम्वीको लागि पनि उत्तिकै महत्वपूर्ण मनिन्छ । पश्चिम नेपालका हिन्दू धर्मावलम्बीहरूले यस क्षेत्रमा देव कर्म, पितृकर्म लगायतका धार्मिक अनुष्ठान गर्नाले सिद्धी प्राप्त हुने विश्वास गर्दछन् । पञ्चकोशी दर्शनले पितृ उद्धार, मनोकांक्षा पुरा हुनुका साथै आत्मीय आनन्द र शान्ति प्राप्त हुन्छ ।

श्रीस्वस्थानी व्रतकथासंग जोडिएका पाँचवटा पवित्र तीर्थ दैलेखमा छन् । महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा शिर पतन भएको ठाउँ शिरस्थान, नाभि पतन भएको ठाउँ नाभिस्थान, धुलो पतन भएको ठाउँ धुलेश्वर, पादुका पतन भएको ठाउँ पादुका र कट्टी पतन भएको ठाउँ कोटिलालाई पञ्चकोशी भनिन्छ । शिरस्थान र नाभिस्थानमा अखण्ड ज्वाला छन् । तिनलाई ज्वाला माईका रुपमा पूजिन्छ ।

महापुण्यदायी ज्वालादेवी, अद्भुत ज्वाला क्षेत्र र यस क्षेत्रमा रहेका सबै स्थानहरू अद्भुत भएकाले समस्त ज्वाला क्षेत्रमा जन्मने र निवास गर्ने सौभाग्य प्राप्त गर्दछ । त्यसकारण जसले कोटीकोटी जन्मसम्म पुण्यदायक कार्य गरेको छ, त्यसले मात्र ज्वाला क्षेत्रमा जन्मने र निवास गर्ने सौभाग्य प्राप्त गर्दछ । हुनत दैलेख जिल्लाका हरेक कुनाकन्दरा, पहाडका चुचुराहरू मन्दिर र देवस्थलले सिंगारिएका छन् ।

यसैले दैलेख जिल्लालाई पौराणीक कालमा देवलोक भनिन्थ्यो । आजकल पंचकोशी क्षेत्रलाई मात्र ज्वाला क्षेत्र भनिएपनि पुराणहरूमा समग्र दैलेख जिल्ला लगायत भेरी र कर्णाली भित्रको सबै क्षेत्रलाई ज्वाला क्षेत्र भनेर वर्णन गरिएको छ । वैश्वानर पुराणका अनुशार यहाँका प्रत्यक तिर्थस्थललाई अग्नी देवताको प्रतिक मानिन्छ ।

परापुर्वकालदेखी एक पवित्र तिर्थस्थलको रुपमा मानिने यस क्षेत्रमा श्राद्ध, पूजा, होम, जप, तप र दान इत्यादी कर्म गर्नाले महापुण्यदायक फल प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ । यसैगरी आज पनि पंचकोशी क्षेत्रमा हरिशंकरी यात्रा गरेर पुण्य लाभ गर्ने जनविश्वास कायमै छ । खास गरेर पश्चिम नेपालका देवताका धामीहरूले आफ्नो शक्ती प्राप्त गर्न यो क्षेत्रको परिक्रमा गर्ने गर्दछन् ।

पौराणिक मान्यताहरु

पंचकोशीको उत्पन्न बारे कुनै ठोस प्रमाण नभेटिएतापनि केही किंवदंतीहरू यस प्रकार रहेका छन् । पौराणिक कालमा दैत्यहरूले त्रिलोकमा अन्याय र अत्याचार गर्न थालेपछि ध्यानमा बसेका भगवान शिवलाई जगाउनको लागी देवताहरूले कामदेवलाई पठाए । आफ्नो ध्यान भंग भएकोले भगवान शिवले क्रोधमा आएर ध्यान मग्न शिवले आफ्नो तेश्रो नेत्र खोल्दा नेत्रबाट निस्केकी अग्नी ज्वालाले कामदेवलाई भस्म पारिन् । यो देखेर भगवान शिवलाई पश्चाताप भयो र आफ्ना ज्वालाहरूलाई एकत्रित गरेर फालिदिए ।

यो अग्नी ज्वाला हिमालय खण्डमा रहेको दुर्लभ पर्वतमा गएर खस्यो । यसरी खसेका ज्वालाहरूका तिन स्थान भए शिरस्थान, नाभिस्थान र पादुकास्थान । यसरी शिव अंगको वासस्थान भएकोले यहाँ सम्पुर्ण देवता, तिर्थ तथा नदीहरू आएर बसे । यस क्षेत्रको बीचमा धुलीस्थान अथवा धुलेश्वर छ यहाँ सम्पुर्ण देवताहरूको वास रहेको छ ।

पौराणीक कालमा महादेवकी पत्नी सती देवीले आफ्ना पिता दक्ष प्रजापतीको यज्ञा कुंडमा हाम फालेर आफ्नो प्राण दिएका बेला पत्नी वियोगमा परेका महादेवले पत्नीको मृत शरिरलाई बोकेर लैजाने क्रममा सती देवीको मृत शरिर कुहिएर पादुकामा पाउ खसेको, नाभीस्थानमा नाभी खसेको, कोटिलामा कोखा खसेको, श्रीस्थानमा शिर खसेको र धुलेश्वरमा धुलो (बाँकी रहेको अंग) खसेको, भन्ने भनाई छ ।

महाभारतका पात्र पाँच पाण्डवहरू वनवास गएका बेला भिमसेनलाई सर्प रुपी राजा नहुषले बाधा गर्दा पाण्डवहरूका जेठा भाई युधिष्ठीरले सर्प रुपी राजा नहुषलाई सर्प रुपबाट मुक्त गरेका थिए । यसै बेला सर्प रुपी राजा नहुषको पादुकामा पाउ खसेको, नाभीस्थानमा नाभी खसेको, कोटिलामा कोखा खसेको, श्रीस्थानमा शिर खसेको र धुलेश्वरमा धुलो (बाँकी रहेको अंग) खसेको, भन्ने भनाई छ ।

परापूर्वकालमा भैरी गाउँका एक जना बृद्ध व्याक्ति मर्न लाग्दा उनको प्राण छिटो नगएकाले उनका छोराहरूले बुढाको अन्तिम इछ्छा सोध्दा बुढाले नाभिस्थनमा रहेको ठुलो सर्पलाई मारी आफ्नो दाह संस्कार नाभिस्थनमा गराउनु पर्ने इछ्छा प्रकट गरेकाले बुढाका पाँच भाई छोराहरूले अनेक प्रयास गरी सदियों देखी मलामीहरूलाई खाने सर्पलाई मारेर आफ्नो बाबुको अन्तिम इछ्छा पुरा गरेका थिए ।

सर्पलाई मारेर आफ्ना धनुषहरू नाभिस्थनमा गाडेर आएका थिए उक्त धनुषहरू पलाएर बनेका बाँसका झांगहरू अँझै पनि छदै छन् । यसरी सर्प मार्ने क्रममा सर्पका अंगहरू पादुकामा पाउ खसेको, नाभीस्थानमा नाभी खसेको, कोटिलामा कोखा खसेको, श्रीस्थानमा शिर खसेको र धुलेश्वरमा धुलो (बाँकी रहेको अंग) खसेको, भन्ने भनाई छ ।

पर्यटकीय सम्भावना

नेपालगंजबाट ७ घण्टाको यात्रापछि पुग्न सकिने भएकाले पञ्चकोशी ज्वाला क्षेत्रमा भारतीय धार्मिक पर्यटकलाई समेत आकर्षित गर्न सकिने सम्भावना छ । पञ्चकोशीको सवैभन्दा अग्लो स्थानमा मालिका थान रहेको छ । प्राचीन समयदेखि पञ्चकोशीको नाविस्थान मन्दिरमा अनवरत रुपमा ज्वाला बल्दै आइरहेको छ । विद्यमान दुईवटा मन्दिरमा बलिरहेको आगो सहजरुपमा देख्न सकिन्छ भने तलतिर बगिरहरेको खोलाको पानीमा पनि ग्यासको फोकाहरुलाई पातले ढाकेर आगो बालेमा आगो वल्ने गर्दछ । पञ्चकोशी ज्वाला क्षेत्रमा जल्ने गरेको अनवरत ज्वालाले पनि पर्यटकलाई आकर्षित गरेको छ ।

कसरी पुग्ने ?

नेपालगंजबाट ७ घण्टाको यात्रापछि पञ्चकोशी ज्वाला क्षेत्रमा पुग्न सकिन्छ । पञ्चकोशी पदयात्रा गर्ने चलन पुरानो हो । अचेल पाँचवटै तीर्थस्थलसम्म कच्चि मोटर बाटो खुलिसकेको छ । हिउँदमा जीपमा यात्रा गर्न सकिन्छ । एकै दिनमा पञ्चकोशी घुम्न भ्याइन्छ ।

यो पनि पढ्नुहोस्

प्राचीन बौद्ध धर्मको विकास र विस्तारको अवशेष पाइएको ऐतिहासिक स्थल काँक्रेविहार

द्धन्द्धकालमा माओवादी छापामार हिँडेको बाटो गुरिल्ला ट्रेयल

भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक धार्मिक स्थल रामग्राम

शान्तिको पवित्र धार्मिक बुद्धको जन्मस्थल लुम्बिनी

गौतम बुद्धको मावलीघर रुपन्देहीको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र देवदह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !