१४ बैशाख २०८१, शुक्रबार

सरकारद्वारा भ्रमण वर्ष २०२० स्थगित, वैशाखदेखि सचिवालय विघटन हुने


योगेश भट्टराई

चैत १८, काठमाडौं । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० रद्द गरेको छ । यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित भएको यो अभियान अब भने औपचारिक रुपमा स्थगित भएको हो । कोरोनाको प्रभावका कारण सरकारले भम्रण वर्ष २०२० को कार्यक्रम रद्द गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले भम्रण वर्ष खारेज गरिएको बताए । सरकारले यसअघि नै भ्रमण वर्षलाई तत्काललाई स्थगन गर्ने निर्णय गरेको थियो । यससँगै भ्रमण वर्षको सचिवालय पनि विघटन हुने उनले जानकारी दिए ।

भ्रमण वर्ष खारेज भएसँगै भम्रण वर्ष सचिवालयले सबै कागजात भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डलाई बुझाउने छ । कोरोना भाइरसको संक्रमण विश्वभर बढ्न थालेपछि फागुन १८ को मन्त्रिपरिषदमै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गर्ने प्रस्ताव गरेका थिए ।

सरकारले भ्रमण वर्ष नभइ अब भ्रमण दशकको अवधारणालाई अघि बढाउने तयारी गरेको छ । भ्रमण वर्ष स्थगित भएसँगै सरकारले अबको एक दशक अर्को भ्रमण वर्ष घोषणा नगर्ने बताइसकेको छ । पर्यटनमन्त्री योगेश भट्टराईले आगामी दशकलाई भ्रमण दशक घोषणा गर्ने तर अब कुनै वर्ष विशेषलाई भ्रमण वर्ष घोषणा नगरिने बताएका छन् ।

एक दशकभित्र पर्यटनका आधारभूत पूर्वाधार निर्माण भइसक्ने र अर्थतन्त्रको मुख्य आधारका रुपमा यसलाई विकास गर्नेगरी भ्रमण दशकका रुपमा मनाउने सोचमा सरकार रहेको छ । उनका अनुसार आगामी आवको नीति तथा कार्यक्रमबाट यसको घोषणा पनि गरिनेछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !