१४ बैशाख २०८१, शुक्रबार

नेपाल भ्रमण वर्ष २०२० सरकारद्वारा स्थगित, २०२२ लाई प्रस्तावित


भ्रमण वर्ष

१८ फागुन, काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो । तर यसको औपचारिक घोषणा भने हुन बाँकी भएकोले सम्भवतः १/२ दुई दिनभित्रै औपचारिक निर्णय हुनेछ ।

बैठकमा सहभागी १ जना मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राखेका थिए। ‘कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष स्थगित गर्ने विषयमा छलफल भएको थियो । त्यसै क्रममा प्रधानमन्त्रीले नै भ्रमण वर्ष अहिले स्थगित गरेर २०२२ लाई बनाउँ भन्ने प्रस्ताव गर्नु भएको हो,’ बैठकमा सहभागी ती मन्त्रीले भने ।

चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण अहिले युरोप र मध्यपूर्वसम्म फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि नेपाललाई उच्च जोखिममा राखेपछि सरकारले शनिबार मात्र उच्च सतर्कता अपनाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति नै बनाएको थियो ।

कोरोनाबारे सतर्कतामा जोड दिने बेलामा पर्यटन प्रवर्द्धनमा ध्यान दिन नसकिने भएकाले अहिलेलाई भ्रमण वर्ष रोकेर अघि बढ्नुपर्ने कुरा बैठकमा उठेको एक मन्त्रीले बताए । यसबारे पर्यटन मन्त्रालयले अवस्था विश्लेषण गरेर आवश्यक निर्णय लिने बताइएको छ । शनिबार नै सरकारले विदेशमा भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रमहरु स्थगित गर्ने घोषणा गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !