१४ बैशाख २०८१, शुक्रबार

हलेसी व्यवस्थापन समिति कार्यालयको ताला खुलेन


halesi-cave

खोटाङ, २५ पुस । नेपाल भ्रमण वर्ष सन् २०२० मनाइरहँदा त्रिधार्मिकस्थल हलेसीस्थित हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा डेढ वर्षअघि लागेको ताला अझै खुलेको छैन । हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति अस्तित्वमा आएपछि विवाद चर्किदा विसं २०७५ भदौ २६ गते ताला लगाइएको थियो ।

हलेसी मन्दिर व्यवस्थापन समितिको कार्यालयमा ताला लाग्दा हलेसीको महत्वपूर्ण कामकाज गर्न र हलेसीको आय–व्ययलाई पारदर्शी राख्न असहज भएको वडा नं ७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताउनुभयो । “कार्यालयमा ताला लागेपछि दैनिक पूजाआजालगायतका कामकाज तथा कर्मचारीलाई तलब खुवाउने बाहेकका अन्य कुनै पनि काम हुन सकेको छैन”, उहाँले भन्नुभयो, “हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको आस्थाको केन्द्र मानिने त्रिधार्मिकस्थल हलेसी मन्दिर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला खुलाउन कसैको ध्यान जान सकेन ।”

नेपाली काँग्रेस निकटका पदाधिकारी नगरपालिकाले सिफारिश गरेको र सो व्यवस्थापन समितिलाई मान्यता दिनुपर्ने पक्षमा तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पदाधिकारी गुठी संस्थानले स्वीकृत गरेको समितिलाई कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएपछि विवाद चुलिएको स्थानीयवासीले बताएका छन् । दुई पार्टीबीच विवाद बढ्दै गएपछि नगरपालिकाले सिफारिश गरेको समितिका हर्कराज राईलगायतले समितिको कार्यालयमा ताला लगाएका हुन् ।

हर्कराजलगायतका पाँच जनाले गुठी संस्थानले स्वीकृत गरेको समितिबाट राजीनामा दिएर नगरपालिकाले सिफारिस गरेको समितिका तर्फबाट २०७५ भदौ २४ गते कार्यभार सम्हालेको थियो । काँग्रेस निकट पदाधिकारीले पदभार ग्रहण गरेको दोस्रो दिन नेकपा निकटका पदाधिकारीले पनि पदभार ग्रहण गरेपछि काँग्रेस समर्थक समूहबाट ताला लगाइएको हो ।

सम्भावित तोडफोड नियन्त्रणका लागि प्रशासनले हलेसीमा महिनौँ दिनसम्म सशस्त्र र नेपाल प्रहरी परिचालन गरेको थियो । विसं २०७५ जेठ २७ गते बसेको नगर कार्यपालिकाको बैठकले हर्कराजको अध्यक्षतामा गठन गरेर सिफारिश गरेको हलेसी मन्दिर व्यवस्थापन समितिलाई गुठी संस्थानले प्रशासनको रायमा हेरफेर गरेर २०७५ असार २५ गते स्वीकृत गरेको थियो ।

पुरानो समितिको पदावधि सकिएको अवस्थामा अर्को समिति गठनका लागि गुठी संस्थान, प्रशासन र मालपोत कार्यालयले गरेको पत्राचारका आधारमा नगरपालिकाले समिति गठन गरेर सिफारिश गरेको नगरप्रमुख इवन राईले बताउनुभएको छ । नेकपाका स्थानीय नेताहरुले भने वडाबाट दलीय सहमतिमा गठन गर्नुपर्ने मन्दिर व्यवस्थापन समितिलाई नगरपालिकाले एकलौटी ढङ्गले सिफारिश गरेकाले समस्या आएको बताउँदै आएका छन् ।
–––


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !