१४ बैशाख २०८१, शुक्रबार

नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास हुँदै खोप्रालेक


Nepalpatra

२ पुस, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खोप्रालेक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ ।

समुदायले पूर्वाधार निर्माण र प्रचारप्रसार गरेर खर्कलाई पर्यटकीय गन्तव्यस्थलमा रुपान्तरण गरेका हुन् । समुन्द्री सतहदेखि तीन हजार ६६० मिटरको उचाइमा अवस्थित खोप्रामा स्वदेशी र विदेशी पर्यटकको चाप बढेको त्यहाँ रहेको सामुदायिक लजका प्रबन्धक नवीन पुनले बताउनुभयो ।

असोज–कात्तिकको पछिल्लो याममा करीब एक हजार पर्यटक आएका छन् । सन् २०१७ मा एक हजार विदेशी पर्यटक आएका थिए । प्राकृतिक, जैविक र भौगोलिक हिसाबले पनि मनमोहक खोप्राबाट मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरि, धौलागिरि, गुर्जालगायतका दर्जनौं हिमशृङ्खलालाई नजिकबाट अवलोकन गर्न पाउनु यहाँको प्रमुख विशेषता हो ।

खोप्राबाट सूर्योदयको साथमा म्याग्दी, पर्वत र कास्कीका पहाडी बस्तीको अवलोकन गर्न सकिन्छ । ५० भन्दा बढी प्रजातिका जडीबुटी तथा हिमाली वनपैदावारका साथै एक दर्जन प्रजातिका लालीगुराँस पाइन्छन् ।

मृग, घोरल, डाँफेलगायत जङ्गली जनावर र पशुपछीको अवलोकन गर्न सकिने पाउद्धारका अगुवा भीमबहादुर तिलीजाले बताउनुभयो । समथर भूगोलको चरनमा पालिएका चौंरी, गाई, बाख्रा र भेँडाका बथानले पर्यटकलाई लोभ्याउने गरेको छ ।

एकै ठाउँमा प्रकृतिको धेरै किसिमका सौन्दर्यको अनुभव लिन पाएको गत हप्ता खोप्रा भ्रमणमा गएकी बागलुङकी प्रमिला कुँवरले बताउनुभयो । पहाडको टाकुरामा रहेका भिरालो पाखोबाट पृष्ठभूमिमा देखिने दन्तलहरझैँ हिमाल, तलतिरका वन, टाढाटाढाका मनमोहक पहाडी भूगोल एवं ग्रामीण बस्तीहरु, बिहानीमा देखिने सूर्योदयले मन छोएको पोखराकी प्रशन्न खड्काले बताउनुभयो ।

वसन्त ऋतुमा खोप्रा वरपरका पाखो लालीगुराँस फुलेर रङ्गिन्छ । बर्खायाममा रङ्गीबिरङ्गी बुकी फुलेर वातावरणमा उमङ्ग थपिन्छ । बादलले एकैछिनमा हिमाललाई ढाक्ने र केही समयमा खुल्ने गरेको दृश्य बादल र हिमालले लुकामारी खेलेजस्तो लाग्छ ।

खोप्रामा सूचना प्रविधिका अभियन्ता महावीर पुनले बेतारे इण्टरनेटको रिपिटरटावर, मौसम सूचना केन्द्र सञ्चालन गर्नुभएको छ । खोप्रा, वयली, डाँडाखर्कका सामुदायिक लजमा पुनकै पहलमा ५० किलोवाट क्षमताको घोस्केखोर लघुजलविद्युत् परियोजना निर्माण गरी २४सै घण्टा विद्युत् आपूर्ति गराइएको शिखका अगुवा बागवीर पाइजाले बताउनुभयो ।

पर्यटकको चाप बढेपछि विसं २०६५ मा स्थापना भएको २४ जना क्षमताको सामुदायिक लजको क्षमता विस्तारको तयारी गरिएको छ । अहिले क्षमताभन्दा बढी पर्यटक आउँदा टेन्टमा सुत्ने व्यवस्था मिलाइएको छ ।

विद्यालयलाई पाँच लाख सहयोग

अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका देवेन्द्र पुर्जाले सामुदायिक विद्यालयलाई रु पाँच लाख सहयोग गर्नुभएको छ । काफलडाँडाको थपना घर भई हाल हङकङमा बस्दै आउनुभएका पुर्जाले तीन विद्यालयलाई रु चार लाख ९९ हजार ६०५ सहयोग गर्नुभएको वडाध्यक्ष खमबहादुर गर्बुजाले जानकारी दिनुभयो ।

काफलडाँडा आधारभूत विद्यालयलाई रु तीन लाख ३३ हजार, राम्चेको देउराली आधारभूत विद्यालयलाई रु एक लाख ११ हजार १०० र जलजला गाउँपालिका–१ बाँसखर्कको ज्योतिमण्डल माविलाई रु ५५ हजार ५०५ सहयोग गर्नुभएको हो ।

आफ्नो जन्मथलो आउनुभएका पुर्जाले घरमै एक कार्यक्रमको आयोजना गरेर विद्यालयका प्रतिनिधिलाई नगद हस्तान्तरण गर्नुभएको थियो । पुर्जाले काफलडाँडाको सूर्याेदय युवा क्लबलाई रु ३५ हजार ५०० सहयोग गर्नुभएको छ ।

आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक र भौतिक विकासमा मद्दत पुगोस् भनेर सहयोग गरेको पुर्जाले बताउनुभयो । प्राप्त सहयोग निजी स्रोतका शिक्षकको तलबभत्ता, शैक्षिक गतिविधि र भौतिक पूर्वाधारको क्षेत्रमा परिचालन गरिने विद्यालयले जनाएका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !