५ जेष्ठ २०८१, शनिबार

फापरको फूलले पर्यटक लोभ्याउँदै


Fapar_

७ भदौ, मनाङ । प्राकृतिक सुन्दरताले ओतप्रोत भएको हिमाली जिल्ला मनाङमा स्थानीय बाली फापरको खेतीले थप आकर्षण थपेको छ । मनाङको मुख्य बालीका रुपमा रहेको फापर फुल्ने सिजन भएकाले यतिबेला मनाङ रङ्गीन देखिनाका साथै पर्यटकलाई समेत लोभ्याएको हो ।

बर्षेनी हजाराँै पर्यटकको आगमन हुने जिल्ला मनाङका भिरालो तथा सम्म पाखाहरुमा लगाइएको फापर फुलेसँगै मनाङको प्रकृति रङ्गीन देखिएको छ । हिमाल, ताल दृश्यावलोकन तथा साहसिक यात्राका लागि आउने पर्यटकहरु यतिबेला फापर पूmलको रङ्गमा रमाउन पाउँदा निकै भाग्यमानी सम्झन्छन् ।

पदमार्गको वरिपरि फुलेको फापरको फूलले पर्यटकहरुलाई थप रोमाञ्चक बनाईदिएको पर्यटन व्यवसायी बताउछन् । “पदयात्रा गर्न आउने पर्यटकहरु यतिबेला फापर हेरेर रमाउँछन्,” ङिस्याङ–१, पिसाङका याङडुङ गुरुङले भन्नुभयो ।

अन्नपूर्ण पदमार्गमा आएका पर्यटकहरु विश्व प्रसिद्ध थ्रोङला पास, गन्तव्य तिलिचोलगायत साहसिक भ्रमणका लागि मनाङ पुग्ने गर्दछन् । पर्यटन सिजन शुरु भएसँगै मनाङमा फुलेको फापरले पर्यटकहरुलाई थप आकर्षित बनाइदिएको छ । “हामी पदयात्राका लागि आएको हौँ,” क्यानडाकी चेल्सीले भन्नुभयो, “हामीले मनाङमा हिमालको दृश्य कल्पना गरेका थियाँै तर यहाँ फापरको रङ्गले हामीलाई लोभ्यायो ।”

पछिल्लो समय मनाङमा बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकहरुको पनि उल्लेख्य वृद्धि हुन थालेको छ । आन्तरिक पर्यटक पनि मनाङको फापरको रङ्गले निकै रोमाञ्चक दृश्य देखिएको बताउँछन् । “फापरको फुलेपछि त यहाँ छुट्टै रमाइलो हुने रहेछ,” आन्तरिक पर्यटक कृष्ण तिमिल्सेनाले भन्नुभयो, “हिमाल, ताल, फापरको फूल र पदयात्राका लागि मनाङ साँच्चै सुन्दर रहेछ ।”

पर्यटकले फापरको परिकार मात्रै नभएर फापर खेतीलाई पनि मन पराउने गरेका छन् । कूल खेतीयोग्य दुई हजार १५३ हेक्टर क्षेत्रफलमध्ये दुई हजार १७ हेक्टर क्षेत्रफलमा विभिन्न प्रकारका खेती भइरहेको कृषि कार्यालय मनाङले जनाएको छ । फूल फुलेर निकै आकर्षक बनेको फापर कात्तिकको अन्त्यतिर कटनी गरिन्छ । मनाङका स्थानीयवासी फापरको ढिँडो, रोटीलगायत धेरै प्रकारका परिकार बनाएर पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !