१४ बैशाख २०८१, शुक्रबार

रौतामा धार्मिक पर्यटकस्थल निर्माणका लागि बृहत् गुरुयोजना


Rauta Pokhari

११ साउन, उदयपुर । जिल्लाकै महत्वपूर्ण पवित्र धार्मिक तीर्थस्थलका रुपमा रहेको रौता माईगाउँपालिकास्थित रौताको पवित्र रौतापोखरी क्षेत्रलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न स्थायी सरकारले बृहत् गुरुयोजना शुरु बनाएको छ ।

रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको पहलमा बनाइएको सो गुरुयोजनामा त्रियुगा नगरपालिका गाईघाटदेखि रौतापोखरीसम्मको ३२ किलोमिटर पहाडी क्षेत्रको दूरीमा केबलकार सञ्चालनको तयारी भएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताउनुभयो ।

गाईघाटदेखि रौतासम्म केबलकार सञ्चालनका लागि दुबै गाउँपालिका र नगरपालिकका साथै अन्य ठूला निजी कम्पनीको आर्थिक लगानीका लागि छलफल भएर सहमति नजिक पुगेको उहाँले जानकारी दिनुभयो ।

यस्तै रौता पोखरी क्षेत्रमा यसै आवदेखि नै भ्यूटावर निर्माण गरिने, विद्युत्, खानेपानी, र प्रहरी चौकी स्थापना र गेष्टहाउस निर्माण गरी चार वर्षभित्र रौता क्षेत्रलाई जिल्लाकै बृहत् पर्यटकीयस्थलका रुपमा विकास गरिने सोही गाउँपालिकाकको उपाध्यक्ष कुमारी ठकुरीले बताउनुभयो । सो गुरुयोजनाका लागि झण्डै रु एक अर्बभन्दा बढी आवश्यक पर्ने अनुमान गरिएको छ ।

अबको चार वर्षभित्र उदयपुर जिल्लाको धार्मिक पर्यटकस्थल रौता क्षेत्र जिल्लाकै पहिलो धार्मिक तीर्थस्थलको रुपमा पूर्ण विकसित हुने अपेक्षा गरिएको छ । समुद्री सतहदेखि दुईहजार मिटरको उचाइमा अवस्थित रौता पोखरी क्षेत्रमा जिल्लाकै धार्मिक पवित्र तीर्थस्थल रौता पोखरी र रौता पञ्चकन्या देवीको मन्दिरमा
दैनिक २०० सम्म तीर्थयात्री आउने गरेको स्थानीय जुद्धबहादुर मगरले बताउनुभयो ।

उच्च पहाडी क्षेत्रमा रहेको रौताबाट सगमाथा हिमालसहित, सोलुखुम्बु, ओखलढुंगा खोटाङ भोजपुर जिल्ला देख्न सकिन्छ भने दक्षिणतर्फ सुनसरीको इटहरी, दुहबी, सप्तकोशी, सिरहा र जनकपुरसमेत देख्न सकिने रौता गाउँपालिका–३ का कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

केबलकार जडान, भ्यूटावर निर्माण कार्यले अब रौता क्षेत्र जिल्लाकै बृहत् पर्यटकस्थलका रुपमा विकासित हुने र योजना सम्पन्न भएपछि रौतामा वार्षिक सातलाखसम्म पर्यटक भित्र्याउन सकिने त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !