१३ बैशाख २०८१, बिहिबार

हवाई सेवा हड्ताल गर्न नपाउने क्षेत्र हो भन्ने नभुल्न वायुसेवा कम्पनीलाई प्राधिकरणको चेतावनी


प्रदीप अधिकारी र रामेश्वर थापा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघ, नेपालबीच शीतयुद्ध सुरु भएको छ । वायु सेवा सञ्चालक संघ नेपालले भोलि बुधवारदेखि आकस्मिक सहितका सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेपछि नागरिक उड्डयन प्राधिकरणले हवाई सेवा हड्ताल गर्न नपाउने क्षेत्र हो भन्ने नभुल्न चेतावनी दिएको छ ।

निजी क्षेत्रका वायुसेवाको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) को अध्यक्ष क्याप्टेन रामेश्वर थापा र नेपाल नागरिक उड्डयन प्राधिकरण महानिर्देशक प्रदीप अधिकारीवीच टकराव सिर्जना भएको हो ।

आज मात्र वायुसेवा सञ्चालक संघ, नेपालले भोलिदेखि आकस्मिक सहितका सबै हवाई सेवा बन्द सबै उडान बन्द गर्ने निर्णय गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूरा गर्नै नसकिने प्रावधान लागू गरेको भन्दै संघले भोलिदेखि आकिस्मक सहितका सबै उडान बन्द गर्ने घोषणा गरेको थियो ।

यता प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई हवाई उडान नरोक्न चेतावनी दिएको हो । संघको निर्णय बाहिर आएलगत्तै प्राधिकरणले पनि पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो ।

प्राधिकरणका महानिर्देशक अधिकारीले धाक धम्की नचल्ने भन्दै हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्ने अडान लिएका छन् भने हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु नहुने चेतावनी दिएका हुन् ।

सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ । ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष व्यवस्था गरेको हो ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रसमेत तोकेर बन्द, हड्ताल गर्न नपाउने आदेश जारी गरेको छ । आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सरकारले विभिन्न २५ आवश्यक सेवामा हड्ताल गर्न निषेधको आदेश जारी गरेको हो ।

राजपत्रमा जारी सूचनामा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाइ अड्डा तथा हवाइजहाजको देखभाल, त्यसको सञ्चालन, मर्मत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न नपाइने उल्लेख छ । प्रकाशित सूचनानुसार हवाइ ग्राउन्डेडसँग सम्बन्धित सेवामासमेत हड्ताल गर्न निषेध गरिएको छ ।

हेलिकप्टर तथा जहाज पार्किङका लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ वटा हेलिकप्टरलाई ‘नाइट-स्टप’ पार्किङका लागि काठमाडौँबाहिर अनिवार्य जानुपर्ने असार ५ गते आइतबार निर्णय गरेको थियो । ‘नाइट-स्टप’ पार्किङका लागि विमानस्थलमा ठाउँ अभाव भएको भन्दै व्यावसायिक उडान गर्ने ९ वटा वायुसेवाका ४८ मध्ये २० वटा जहाज पनि ‘नाइट-स्टप’ पार्किङका लागि बाहिर जानुपर्ने निर्णय गरेको थियो ।

अनुमति लिएका हेलिकप्टर र वायुसेवाले आफ्ना जहाज मोफसलमा अनिवार्य राख्नुपर्ने निर्णयसमेत गरिएको थियो । प्राधिकरणले गरेको सो निर्णय आज असार ७ गतेदेखि हेलिकप्टर र १३ गतेदेखि जहाजमा अनिवार्य कडाइका साथ लागू हुने बताएको थियो ।

वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरुको रात्री बिसान काठमाडौं बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी आन्दोलित बनेका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरणबाट भएका अव्यवहारिक निर्णय फिर्ता तथा सुधारको माग गर्दै वायुसेवा सञ्चालकहरुले उडानहरू बन्द गर्ने निर्णय गरेका हुन् ।

सञ्चालक संघद्वारा जारी विज्ञप्तिमा निजी क्षेत्रका विमान तथा हेलिकोप्टरहरु बाहिरका एयरपोर्टमा पार्किङ गर्नुपर्ने, दुई चालक राख्नुपर्ने लगायतका मागहरु अव्यवहारिक भएकाले फिर्ता लिन माग गरिएको र मागको सुनुवाइ नभएपछि उडान नै रोकेर आन्दोलनमा उत्रिनुपरेको उल्लेख छ ।

यो पनि पढ्नुहोस्

भोलि बुधबारदेखि सबै उडान बन्द गर्ने वायु सेवा सञ्चालक संघको घोषणा

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई भाडा पनि बढ्यो

३४ वटा वायुयान ‘नाइट–स्टप’ पार्किङ काठमाडौँबाहिर जानुपर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !