१९ बैशाख २०८१, बुधबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउँदै


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउँदै छ । निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आजदेखि सञ्चालनमा आउने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आजदेखि सञ्चालनमा ल्याएको हो ।

यसैगरी मन्त्री आलेले कोरोना सङ्क्रमण दर निकै कम भएको र जोखिम पनि घटेकाले अब विमानस्थलको सेवा २४सै घण्टा सञ्चालन गराउनसमेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका थिए ।

पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अब तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

बुद्ध, यति, श्री, गुण र सौर्य गरी पाँच एयरलाइन्सले सो विमानस्थलमा आन्तरिक उडान सुरु गर्दैछन् । अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि सुरु हुने प्राधिकरणले जनाएको छ ।

यसैगरी अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको तथा आगामी दसैँसम्ममा उक्त विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान गर्ने गरी काम सुरु भएको बताइएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने कार्य र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेकाले उक्त काम सकिएलगत्तै अन्तर्राष्ट्रिय उडान सुरु गरिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !