७ बैशाख २०८१, शुक्रबार

नेपालकै पहिलो मनकामना केबलकार २४ वर्षमा प्रवेश


मनकामना केबुलकार

काठमाडौं । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालकै पहिलो केवलकार आज बुधबारदेखि २४ वर्षमा प्रवेश गरेको छ । २०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केबलकारले २४ वर्षको अवधिमा हालसम्म १ करोड ६० लाख यात्रु तथा भक्तजनलाई सेवा प्रदान गरिसकेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले यसै आर्थिक वर्षमा केवलकारको प्रविधिको स्तरोन्नति पनि गर्ने बताएको छ । अहिले एनालग सिष्टममा आधारित यसलाई डिजिटल प्रविधिमा स्तरोन्नति गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ ।

केबलकारको सञ्चालनसँगै यस क्षेत्रको विकास हुनुका साथै विश्व सामु मनकामनाको ख्याति प्रचार प्रसार भएको कम्पनीको दावी रहेको छ । कम्पनीले आगामी फागुनदेखि केवुलकारको टप स्टेशनसँगै रहेको ९ रोपनी जग्गामा ४० कोठा सुविधायुक्त रिसोर्ट पनि निर्माण गर्न लागेको जनाएको छ ।

हाल रहेको एनालग सिस्टमलाई तीन चरणमा डिजिटल प्रविधिमा स्तरोन्नति गरिने जानकारी कम्पनीले दिएको छ । स्तरोन्नति गर्न करिब ३० करोड लागत लाग्ने अनुमान कम्पनीले गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !