लामो गृहयुद्ध भोगेपनि श्रीलंका सम्पन्न देश थियो । आतंकबादी हमला, कोभिडको पर्यटनमा असर तथा बैदेशिक ऋण धेरै भएकोले श्रीलंकाको अर्थतन्त्र टाट पल्टिएको छ । अहिले त्यहाँका जनताले अभाव तथा चरम महंगी भोगिरहेका छन् । श्रीलंकाको संचिती रकम जम्मा साढे २ अर्ब डलर मात्र छ । यसले एक महिनाको खर्च मात्र धान्नेछ ।
नेपाल पनि आर्थिक रुपमा त्यहि बाटोमा अग्रसर छ । अहिले हाम्रो संचिति साढे ८ अर्ब डलर छ । अहिलेको स्थिति कायम रहे वा पेट्रोलियमको मूल्य बढ्दै गए ७ महिनामा हाम्रो अर्थतन्त्र श्रीलंकाको जस्तो हुनसक्छ । देशमा केहि व्यक्ति धनी भएर अर्थतन्त्र बलियो हुँदैन ।
हाम्रो देशसंग कति डलर छ ? कति बिदेशी पैसा छ ? त्यो आधारमा अर्थतन्त्र टाट पल्टिने वा सुदृढ हुने गर्दछ । हाम्रो देशमा संचिती बैदेशिक मुद्रा सकिएमा हामीले औषधि, उद्योगका कच्चा पदार्थ, पेट्रोलियम पदार्थ किन्न सक्ने छैनौं । महंगी र कालाबजारीले अर्थतन्त्र झनै चौपट हुनेछ । अर्थतन्त्र बचाउनको लागि हामीले व्यक्तिगतदेखि सरकारी स्तरबाट कम्तिमा निम्न लिखित काम गर्नुपर्ने हुन्छ ।
१. बिदेशमा नेपालीले कमाएको पैसा बैंक वा मनि ट्रान्सफरमार्फत मात्र पठाउने । हुण्डीलाई कडा रुपमा बन्द गराउने । कानुनी बाटोबाट पैसा पठाउनेलाई सरकारले सुबिधा र सहुलियत दिने ।
२. पेट्रोलियम खपत घटाउनको लागि हामीले छोंटो बाटो पैदल हिंड्ने, साइकल तथा विद्युतीय साधन प्रयोग गर्ने । सरकारले सवारीसाधनको संख्या, दुरी आदि घटाउने योजना लागु गर्ने । देश टाट पल्टने स्थिति आउनुभन्दा व्यक्तिगत सवारीसाधनलाई जोरबिजोर चलाउनु पर्ने हुनसक्छ । आफ्नो बसाइ नजिकको स्कुलमा मात्र पढ्ने ब्यबस्था मिलाउने । विद्युतीय सवारीसाधनलाई कर छुट गर्ने । सरकारी साधन विद्युतीय मात्र प्रयोग गर्ने । हप्तामा २ दिन छुट्टी गर्ने । पेट्रोलियम होलिडे जस्ता कार्यक्रम ल्याउने । ग्यासको साटो इन्डक्सन चुल्होको प्रयोग बढाउने । निर्माणाधीन हाइड्रोपावरलाई छिटो सकाएर राष्ट्रिय प्रशारणमा जोड्ने । जति सकिन्छ, बिद्युतको उत्पादन तथा प्रयोग बढाउने ।
३. अत्यावश्यक बस्तुबाहेक आयात रोक्ने । विलासिताका सामग्री, बिदेशी मदिरा आयातमा प्रतिबन्ध लगाउने । अन्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, मासु आदि स्वदेशमै सर्कुलेट गर्ने । देशको एक ठाउँमा उत्पादन भएको खाध्य पदार्थ माग भएको अर्को क्षेत्रमा पुर्याउंदा हामीले भान्साको लागि अर्बौं पैसा देशबाहिर पठाउनु पर्दैन । सकभर हामीले स्वदेशी उत्पादन प्रयोग गर्ने । विलासिताका साधनमा उच्च कर लगाउने ।
४. जडिबुटी, चिया, कफी, पस्मिना, हिमाली पानी, लोकल रक्सी, अदुवा,अलैंची, सुपारी आदि जे जे सम्भव हुन्छ – बिदेशमा निर्यात गर्ने । यसको लागि बिभिन्न देशसंग सम्झौता गरेर पठाउने ब्यबस्था गर्ने ।
५. पर्यटकलाई आकर्षित गर्नको लागि संसारभरका दुतावास, नेपाली संघसंस्था तथा नेपालका शुभेच्छकहरुलाई एक्टिभेट गर्ने । स्वदेश आएका पर्यटकको खर्च वृद्धि तथा बसाइ लम्ब्याउने बाताबरण सिर्जना गर्ने ।
६. बैदेशिक लगानी तथा सहयोगलाई आकर्षित गर्ने । देश र समाजलाई लगानीमैत्री बनाउने । अनाबश्यक कुरामा राजनीति नगर्ने ।
७. व्यापारघाटालाई घटाउँदै लैजाने । अन्यथा हामीले त्यो घाटाको ब्याज तिर्न नसक्दा अर्थतन्त्र फेलियर हुनसक्छ । हाम्रा आयोजना सकभर हामीले नै निर्माण गर्ने ।
८. स्वदेशमै बिभिन्न प्राबिधिक बिषय पढ्ने वातावरण बनाउने । मेडिकल लगायत बिषय पढ्नको लागि विदेश जाँदा अर्बौं रुपियाँ बाहिर गइरहेको छ । त्यसको साटो यहाँ गुणस्तरीय पढाइ संचालन गरेमा बिदेशी बिद्यार्थी नेपाल आएर पढ्न सक्छन् ।
९. स्वदेशमै उपचार गर्ने परिपाटी मिलाउने । नेपालमा दाँत लगायत अन्य उपचार विदेशको तुलनामा निकै सस्तो छ । त्यस्तै योग, आयुर्बेद, ध्यान लगायतका गुणस्तरीय केन्द्र खोलेर हेल्थ टुरिजम बढाउन सकिन्छ ।
१०. अर्थतन्त्र ट्रयाकमा आउने बेलासम्म भ्रमण स्वदेश मै गर्ने । नेपालको काम नेपालीले नै गर्ने बाताबरण भएमा नेपालको पैसा बाहिर जाँदैन । नेपालबाट अर्बौं रेमिटेन्स भारतमा जान्छ, यसलाई स्वदेशी रोजगारीमा परिणत गर्न सकिन्छ ।
११. भ्रष्ट्राचार, फजुल खर्च, डोजरे बिकास रोक्ने । कनिका छर्ने, बजेट सक्ने वा अन्तिम प्रहरमा खर्च बढाउने परम्परालाई नियमन गर्ने ।
१२. अर्थ मन्त्रालयको नेतृत्वमा अर्थबिज्ञको टिम हुनुपर्ने । अर्थतन्त्र बचाउने रणनीति बनाउन उच्चस्तरीय कार्यदल गठन गर्ने ।
नेपाल कृषिप्रधान देश भएको, ठूला परियोजनामा चक्रवर्ती ब्याजमा नफसेको तथा सानो ब्यबसाय भएको हुँदा श्रीलंकाको हाल नहुनसक्छ । तरपनि समयमै सचेत हुनुको बिकल्प छैन ।
*डा. रवीन्द्र पाण्डे साहित्यकार, जनस्वास्थ्यविज्ञ तथा शोधकर्ता हुन् ।