कुनै पनि ब्यक्ति ,वस्तु वा व्यवस्थाको जन्मपछि मृत्यु अनिवार्य हुन्छ । विश्वमा राजनीतिक प्रणाली, तन्त्र वा व्यवस्थाको स्वाभाविक मृत्यु भएको इतिहास छ ।
सुलभाः पुरुषाः राजन् सततम् प्रियवादिन
अप्रियस्य च पथ्यश्च वक्ताः श्रोताः च दुर्लभ :
अर्थात् मीठो बोल्ने, सुन्ने मानिस पाउन सजिलो छ तर अप्रिय कुरा बोल्ने र सुन्ने मानिस पाउन दुर्लभ छ भनेझैं मेरो कुरा तीतो लाग्न सक्छ किनकि सत्य संधै “तीतो” हुन्छ ।
नेपाली बृहत् शब्दकोशका अनुसार जनता भनेको कुनै देशमा बस्ने मानवको समष्टि भन्ने बुझाउँछ । यसैगरी, देश भनेको चारैतिर फैलिएको अनेकौं गाउँ, सहर, जिल्ला, वा प्रान्त मिलेर बनेको एक विशिष्ट भू-भाग वा मुलुक भन्ने बुझाउँदछ ।
त्यस्तै, राजनीति भन्नाले (प्रजा) जनताको शान्ति, सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीति भन्ने बुझिन्छ । यसरी हेर्दा जनता, देश र राजनीति बीच अन्योन्यास्रित सम्बन्ध रहेको पाइन्छ किनकि जनता बिना देश हुन सक्दैन । जनता र देश विना राजनीतिको कुनै अर्थ रहदैन ।
हरेक देशको मूल कानुन संविधानमा जनता सर्वोपरी शक्ति हुन्छन । त्यस मुलुकमा जनताले नै आफ्नो शासन व्यवस्था आफै छान्छन् । त्यसै व्यवस्थालाई जनतन्त्र, गणतन्त्र वा लोकतन्त्र भनिन्छ ।
अब लागौं बिषयवस्तुतर्फ,
राणा प्रधानमन्त्री चन्द्र शमसेरले त्रि-चन्द्र कलेजको स्थापना गर्दा शिलान्यासको बेला भनेका थिए रे, ”आजदेखि मैले राणाहरूको मुटुमा फलामे कीला गाडेँ”। यसको सोझो अर्थमा बुझाई यो हुन्छ कि, ‘शिक्षामा सर्वसाधारणको पहुँच पुग्यो भने तानाशाही ढल्छ’ ।
इतिहासका विविध कालखण्डमा संसार भर ठूला-ठूला तानाशाहको जन्म भएको थियो । ती तानशाहले आफ्नो मुलुकमा तानशाही (अधिनायकवाद) कायम गरेर जनतालाई दास र आफूलाई मालिक (भगवान) घोषणा गर्दै जनताको रगत तनतनी पिएका कयौं घटना इतिहासका पानामा दर्ज भएका छन् । त्यसैले त्यो देश देश भएर पनि देश हुन सकेन, ती जनता जनता भएर पनि जनता हुन सकेनन् ।
तानाशाहहरूको लक्ष्य हुन्छ – जनतालाई सधैं अन्धकारमा सडाउने । शिक्षा, स्वास्थ्य, सुरक्षा, गास, बास, कपास आदि मौलिक अधिकारबाट बञ्चित गर्ने । सूचनाको हकबाट विमुख राख्ने ।
दासरुपी जनता सदासर्वदा तानाशाहको इच्छा मुताविक चल्नुपर्ने । तानशाहहरू जनतालाई अधिकार दिन किन चाहदैनन् भने जनतालाई अधिकार दिँदा जनता सचेत हुन्छन् र उनीहरूको तानशाही सत्ता पल्टाई दिन्छन् ।
आदिम गणतन्त्र अन्त्य भएजस्तै, राजतन्त्र पनि समाज-विकासका क्रममा अपवादका देशमा बाहेक सर्वत्र इतिहास बनिसकेको छ । मूल रूपमा सामन्तवादको राजनीतिक तन्त्रका रूपमा रहेको राजतन्त्र पुँजीवादी र समाजवादी क्रान्ति सलह किरा जस्तै फैलिएपछि मृत्युको मुखमा पुगेको थियो ।
यद्यपि गणतन्त्रमा पनि राजशी ठाँट नदेखिएको भने होईनन। यसलाई सहज रूपमा लिनुपर्छ किनकि लामो समय निरंकुशता लादिएको तन्त्रको एकाध अवशेष रहनु नौलो कुरा होईन । भनिन्छ नि -”दासहरुलाई दासमुक्त गराईए पनि मालिकको नक्कल गर्न छाड्दैनन्”।
रामचन्द्र तिम्सिना
(आवाज)