दश वर्षसम्म नेपाली जुनियर फुटबल टिममा सक्रिय फुटबलर वीरेन्द्रबहादुर चन्द यतिबेला गृहनगर कञ्चनपुरको भीमदत्तनगरमा व्यावसायिकरुपमा बाख्रापालनमा लाग्नुभएको छ । “सानैदेखि आफ्नै ठाउँमा केही गर्ने चाहना थियो”, गोवरियामा रहेको चन्दाज गट एण्ड एग्रिकल्चर फर्म सञ्चालन गरिरहनुभएका फुटबलर चन्दले रासससित भन्नुभयो, “बुबासितको सल्लाहबमोजिम काठमाडौँमा विलासी दैनिकीलाई प्रवाह नगरी गृहनगर आएर बाख्रापालन शुरु ग¥यौँ ।”
विगतमा यु–१३ र १४ नेपाली फुटबल टोलीको कप्तानीसमेत गर्नुभएका चन्द यु–१९ सम्मको फटुबलमा किपरको भूमिमा हुनुहुन्थ्यो । दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) स्तरसम्मको फुटबलको अनुभव लिइसक्नुभएका चन्दले २०७३ सालमा खेलबाट अलग्गिएको बताउनुभयो ।
वीरेन्द्र विसं २०५८ देखि जिल्ला फुटबल सङ्घको नेतृत्व हँुदै एन्फाको केन्द्रीय सदस्यसमेत रहिसक्नुभएका फुटबलप्रेमी गणेशबहादुर चन्दका जेठा छोरा हुनुहुन्छ । निर्माण व्यवसाय क्षेत्रमा लामो समय काठमाडौँमा काम गर्नुभएका चन्दले आफू २५ वर्षदेखि खेल क्षेत्रको व्यवस्थापकीय भूमिकामा रहेको बताउनुभयो । “सोच बदलाँै जुन काम गरे पनि स्वदेशमै गराँै’ भन्ने भावले छोरालाई बाख्रापालनमा सक्रिय बनाएँ”, हाल जिल्ला फुटबल सङ्घ कञ्चनपुरका अध्यक्षसमेत रहनुभएका चन्दले भन्नुभयो, “कान्छो छोरा इञ्जिनीयर र छोरी डाक्टर भइसके ।” उहाँले फुटबलर जेठो छोरा वीरेन्द्रलाई आफ्नै ठाउँमा कृषि पेशामा सक्रिय गराउन बाख्रापालन थालेको बताउनुभयो ।
“हामीले पनि कृषि पेशा नै अँगालेका थियौँ”, चन्दले भन्नुभयो, “आफू जन्मेको ठाउँमा केही गर्नुपर्छ भनेर छोरासित सल्लाहमै बाख्रपालन थालेका हौँ ।” रु तीन करोड लागतमा अत्याधुनिक खोरसहित व्यावसायिक बाख्रापालनमा लाग्नुभएका चन्दले अष्टे«लियाबाट बाख्रा भित्र्याउनुभएको छ ।
“छोरालाई व्यावसायिकरुपमा बाख्रपालनमा लगाउनैका लागि विभिन्न अध्ययन अवलोकन गरेर अघि बढेको हुँ”, चन्दले भन्नुभयो, “अहिले आधुनिक प्रविधिबाट बाख्रपालन हेर्न देशका विभिन्न ठाउँबाट अवलोकनकर्ता दिनहुँजसो आउँछन् ।” फुटबलको जुनियर टिममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका वीरेन्द्रले आफू सिनियर टिमको बन्द प्रशिक्षणसम्म सहभागी भएको बताउनुभयो । “अझै पनि फुटबलको व्यवस्थापकीय भूमिकामा आउने सोच छ” उहाँले भन्नुभयो, “बाख्रापालनलाई बढाउँदै सुदूरपश्चिममा बाह्य मासु खपत कम गर्ने योजना छ ।” फुटबलबाट नाम कमाउनुभएका चन्दले एक बिघा जमीनमा खोर बनाएर बाख्राका लागि छ बिघा खेतमा घाँसखेती गरिएको जानकारी दिनुभयो ।
“सुदूरपश्चिम प्रदेशमा मासु आयात विस्थापन गर्ने अवधारणाका साथ लागेका छौँ”, चन्दले भन्नुभयो, “यहाँका किसानसित सहकार्य गरेर १०० आधुनिक बाख्रा फर्म सञ्चालनमा ल्याउने लक्ष्य पनि छ ।” व्यावसायिकरुपमा अष्ट्रेलियाबाट उन्नत जातको बाख्रा भित्र्याउन प्रक्रियागत झन्झट रहेको चन्दको दुखेसो छ । “किसानलाई भारतलगायत अन्य मुलुकबाट कृषि औजार भित्र्याउन भन्सार शुल्क सहुलियत हुने कुरा पनि गफजस्तै रहेछ”, चन्दले भन्नुभयो, “अझै दोस्रो चरणमा अष्टे«लियाबाट बाख्रा ल्याउने तयारी छ ।” ‘बोयर’ जातको बाख्रा पोषणका लागि सहज र रोगसँग लड्न सक्ने क्षमता बढी हुने भएकाले बाख्रापालन फस्टाउनेमा उहाँ आशावादी हुनुहुन्छ ।
“यहाँ आउनुअघि काठमाडौँमा पनि बाख्रापालनको विषयमा तालीम लिएर आएँ”, चन्दले भन्नुभयो, “फिल्डमा काम गर्दै जाँदा पनि अनुभव बढ्दै गएको छ ।” अष्ट्रेलियामा प्रतिबोयर रु दुई लाख २६ हजार पर्ने ५३ उन्नत जातका बाख्रा भीमदत्तनगर पहिलो पटक भित्र्याउनुभएका चन्दले २०० बाख्रा अटाउने क्षमताको आधुनिक खोरसमेत निर्माण गर्नुभएको छ ।
–––