१४ बैशाख २०८१, शुक्रबार

खेलकूद संस्कार बोकेको खजुरा


बाँके

काशीराम शर्मा बाँके, १५ भदौ । बाँकेको खजुरा खेलका लागि सम्भावना भएको ठाउँ हो । आन्तरिक प्रतिस्पर्धा मात्रै होइन राष्ट्रियस्तरका प्रतियोगिताका लागिसमेत तयार भइसकेको सन्देश खजुराले दिइसकेको छ । यसै वर्ष भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका महत्वपूर्ण चार विधाका खेल खजुरामा भए ।

यसले देशभरि खजुरालाई चिनाउने अवसर मात्रै दिएन, खेलाडी, अफिसियल, पत्रकार, खेलप्रेमी ठूलो सङ्ख्यामा त्यस क्षेत्रमा पुगे । आठौँको स्पर्धाले खजुरालाई देशभरि चिनाएन मात्र, खेल पर्यटनको सम्भावना पनि उजागर ग¥यो । खेलकूद स्वास्थ्यसँग जोडिएको विषय मात्रै रहेन, अब खेलकूद आर्थिक र पर्यटकीय सम्भावनाको क्षेत्रसमेत बनिसकेको छ ।

खेलका लागि राम्रा पूर्वाधार हुने हो भने राम्रा प्रतियोगिता आयोजना हुन सक्छन् । त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई खजुरामा भित्र्याउन मद्दत पुग्छ । खजुरामा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको फुटबल, बक्सिङ, महिला तथा पुरुष भलिबल, महिला हक्की आयोजना गरिएको थियो ।

डी गाउँमा फुटबल, ज्ञानोदयको खेल मैदानमा बक्सिङ, सीतापुरको भलिबल रङ्गशालामा महिला तथा पुरुष भलिबल, शुक्र माविको खेलमैदानमा हक्की प्रतियोगिता आयोजना हुँदा यसले खजुरालाई देशमै राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम रहेको सन्देश दिएको थियो । फुटबलको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला नेपालगन्जमा छ । एउटा रङ्गशालाले मात्रै फुटबलको ठूलो प्रतियोगिता आयोजना सम्भव हुँदैन । किनभने प्रतियोगिता आयोजना गर्दा अभ्यासका लागि अन्य मैदानहरु पनि आवश्यक पर्छ । खजुराले त्यो सम्भावना देखाइसकेको छ । आठौँअन्तर्गत फुटबलका केही खजुराको डी गाउँ खेलमैदानमा आयोजना भए ।

“नेपालगन्जपछिको फुटबल खेलमैदान खजुरामा छ”, खजुरा गाउँपालिका–४ का वडाध्यक्ष तिलकवीर सुनार भन्नुहुन्छ, “मैदान स्तरीय बनाउनका लागि गत आव रु ४५ लाख खर्च गरिसकेका छौँ ।” प्यारापिट बनाइएको डी गाउँको खेलमैदान मिनी रङ्गशालाका रूपमा तयार हुँदैछ । खजुरामा पहिलो राष्ट्रिय प्रतियोगिता २०६७ सालमा आयोजना भएको थियो ।

राष्ट्रिय भलिबल सङ्घले दोस्रो राष्ट्रिय पुरुषबीच भलिबल आयोजना खजुरामा आयोजना गरेको हो । खजुरामा बीच भलिबल मात्रै नभएर बीच फुटबल लगायतका प्रतियोगिताको सम्भावना पनि उत्तिकै रहेको खेल पत्रकार टिएस ठकुरी बताउनुहुन्छ । खजुरामा गत वर्ष नेपाल एथलेटिक्स सङ्घको खेलकूदले राष्ट्रिय युथ एथलेक्टिस प्रतियोगिता आयोजना गरिसकेको छ ।

राष्ट्रिय प्रतियोगिताले आन्तरिक पर्यटकलाई बढावा दिने खेल विश्लेषक टिएस बताउनुहुन्छ । खजुरामा खेल पर्यटनको प्रशस्त सम्भावना औँल्याउँदै ठकुरी भन्नुहुन्छ, “विगतमा भएका साना, ठूलो प्रतियोगिताले त्यसलाई पुष्टि गरिसकेको छ ।” खजुरामा वडास्तरीय होस् वा जिल्ला वा राष्ट्रिय खेल, दर्शकहरुको घुइँचो हुने गरेको छ ।

“खेलकूद संस्कार बोकेको ठाउँ हो खजुरा”, खेल पत्रकार ठकुरी भन्नुहुन्छ, “खेल पूर्वाधार थप्दै जाने र प्रतियोगिता आयोजना गर्ने हो भने खेल पर्यटनको प्रशस्त सम्भावना छ ।” उहाँ एउटा राष्ट्रिय प्रतियोगितामा आउने आगन्तुकका कारण स्थानीय व्यापार, व्यवसायसमेत बढ्ने पछिल्लो आठौँ राष्ट्रिय खेलकूदले देखाइसकेको बताउनुहुन्छ ।

“स्थानीय सरकारले खेल पर्यटनको सम्भावनालाई बुझेर पूर्वाधार र प्रतियोगिता आयोजनाका लागि बजेट विनियोजन गर्नुपर्छ”, ठकुरी भन्नुहुन्छ । ग्रामीण परिवेशमा माटोमा खेलेर राष्ट्रिय खेलाडी जन्माउने ठाउँ खजुरा नै भएको उहाँको भनाइ छ । जिल्लास्तरीय खेलकूद प्रतियोगिताहरुमा खजुरा अब्बल रहने गरेको उल्लेख गर्दै ठकुरी भन्नुहुन्छ, “खेललाई स्थानीय तहले प्राथमिकतामा राख्नुपर्छ ।”

खेल्नका लागि मैदान चाहिन्छ । खजुराका धेरै विद्यालयसँग आफ्ना ठूला मैदानहरु छन् । ठकुरीका अनुसार मैदानहरुकै कारण खेल्ने वातावरण तयार हुन्छ र अहिले नेपालगञ्जको विकल्प खजुरा बन्दैछ । खेल पूर्वाधारहरु निर्माण गर्नका लागि गाउँपालिकाले सम्भावना अध्ययनका लागि उक्त विषयलाई आफ्नो नीति तथा कार्यक्रममा नै समावेश गरिसकेको छ ।

“आगामी आवमा गाउँपालिकाभित्र निर्माण भइरहेको वडा नं ४ स्थित रङ्गशालालाई पूर्णता प्रदान गर्न र अन्य वडामासमेत कभर्ड हल, रङ्गशाला र प्रशिक्षण केन्द्र निर्माण कार्यका लागि सम्भाव्यता अध्ययन गरी कार्य शुरु गरिनेछ”, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति भन्नुहुन्छ ।

खजुरामा स्थानीयस्तरका प्रतियोगिताहरु पनि आयोजना भइरहन्छन् । स्थानीय सरकार आएपछि पालिकास्तरीय मेयर कपको आयोजना यस वर्षदेखि शुरु भइसकेको छ । अध्यक्ष कक्षपति आगामी वर्ष पनि मेयर कपलाई निरन्तरता दिने बताउनुहुन्छ । खजुरामा खेललाई विशेष महत्वमा राखेको भन्दै उहाँले चालू आवका लागि नीति तथा कार्यक्रममा खेललाई महत्व दिएको बताउनुभयो ।

गाउँपालिका मात्रै नभएर खजुराका वडाले समेत खेलकूद प्रतियोगिताका लागि बजेट छुट्याउने गरेका छन् । निजी विद्यालयहरुको सङ्गठन इशाकाले प्रत्येक वर्ष इशाकास्तरीय प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबहरुले पनि ठूला प्रतियोगिता आयोजना गर्दै आएका छन् । न्यू डाँफे स्पोटर््सले प्रत्येक वर्ष ठूलो धनराशि पुरस्कार रहेको खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलाडीहरुले समेत खेल्ने गरेका छन् ।

अध्यक्ष कक्षपतिले गाउँपालिकाभित्र दर्ता भएका क्लबहरुलाई खेल सामग्री सहयोग उपलब्ध गराउन पहल गरिने बताउनुभयो । “गाउँपालिकाका वडाहरुमा खेलकूद प्रतियोगिता सञ्चालन गर्न उत्प्रेरित गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिनेछ”, खेलाडीहरुको सम्मानमा समेत जोड दिँदै अध्यक्ष कक्षपति भन्नुहुन्छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा गाउँपालिकाका तर्फबाट खेलाडीलाई सहभागी गराउन अन्तर्राष्ट्रियस्तरका तालीमहरुमा सहयोग गर्ने गाउँपालिकाको नीति रहेको गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले बताउनुभयो । उहाँले चालू आवमा खेलकूद विकास कार्यक्रमअन्तर्गत पालिकाबाट रु २० लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

आठौँ खेलकूदले शुक्र भलिबल स्टेडियम बन्नाका साथै खेलकूद सञ्चालन भएका विद्यालयहरुमा पनि केही पूर्वाधार तयार भए । खेलकूदको ‘हव’ बनाउने लक्ष्यका साथ अघि बढेको खजुरामा राष्ट्रिय खेलकूद प्रतियोगिताले थप मद्दत पुगेको उपाध्यक्ष विकले बताउनुभयो । खजुरालाई खेलकूदको ‘हव’ बनाउने सवालमा आठौँ कोशेढुङ्गा साबित भएको खजुरावासीको ठम्याइ छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !