१४ बैशाख २०८१, शुक्रबार

बृहत् आठौँ राष्ट्रिय खेलकूद : कुस्तीमा पदकमय कञ्चनपुर


Kanchanpur

३० चैत, भीमदत्तनगर । बृहत् आठौँ राष्ट्रिय खेलकूदमा सहभागी भएर आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित कभर्डहल पुग्दा कुस्तीका महिला तथा पुरुष खेलाडीसँगै प्रशिक्षक निकै हर्षित मुद्रामा भेटिनुभयो । सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै महिला तथा पुरुष गरी विभिन्न तौल समूहका २० जना खेलाडीमध्ये १५ जना उपाधिका साथ गृह जिल्ला फर्किंदा कुस्तीका सहायक प्रशिक्षक राजेन्द्र चन्दमा खुशीको सीमा नै थिएन ।

“हल नहुँदा साघुँरो कोठामा गरिएको प्रशिक्षणबाट पनि खेलाडीहरुले एकछत्र आठौँँमा स्वर्णमाथि कब्जा जमाए,” प्रशिक्षक चन्दले खुशी व्यक्त गर्दै रासससित भन्नुभयो, “अझ महिला खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो । यो उत्साहले आगामी दिनमा थप सफलता हासिल गराउन बल पुग्नेछ ।”

बहृत् आठौँ राष्ट्रिय खेलअन्तर्गत कुस्ती कपिलवस्तुमा शुक्रबार सम्पन्न भएको थियो । सुदूरपश्चिम प्रदेशबाट सहभागी सबै कुस्ती खेलाडी कञ्चनपुरका थिए । ५० केजी तौल समूहमा यहाँको बेदकोट नगरपालिकाकी मनिषा सिंहले सुदूरपश्चिमलाई स्वर्ण दिलाइन् ।

त्यसैगरी कान्छी कुस्तीबाज भीमदत्त नगरपालिकाकी शिवाङ्गी दुबेले ५३ केजी तौल समूहमा स्वर्ण पदक जितिन् । सुदूरपश्चिमले महिला कुस्तीमा छ वटा स्वण दिलाउँदा ५५ केजीमा सङ्गीता धामीले पनि स्वर्ण पदक हात पारिन् । त्यसैगरी भीमदत्त नगरपालिकाकै मीरा आउजी ६५ केजी तौल समूहमा स्वर्ण पदक जित्दै घर फर्किनुभएको छ ।

त्यस्तै ६८ केजीमा भीमदत्त नगरपालिकाकै बिमला सुनारले स्वर्ण पदक ल्याउँदै गर्दा ७२ केजीमा सोही नगरपालिकाकै लक्ष्मी खत्रीले सुदूरपश्चिमलाई छैटौँ स्वर्ण दिलाइन् । पहिलो पटक बृहत् राष्ट्रिय खेलकूद प्रतियोगितामा महिला कुस्ती खेल सहभागी गराइएको जानकारी दिँदै कुस्तीका सहायक प्रशिक्षक राजेन्द्र चन्दले १० वटा तौल समूहमध्ये महिलातर्फ ६ स्वर्ण सुदूरपश्चिमले जितेको बताउनुभयो ।

“लगनशीलता र नियमितको प्रशिक्षणले नै प्रायः सबै खेलाडी सफल भएका हुन्,” प्रशिक्षक चन्दले भन्नुभयो, “आवश्यक पूर्वाधार र खेल सामग्री भए खेलाडी देशकै नाम राख्न सक्छन् ।” “महिला कुस्ती यहाँ गत वर्षदेखि शुरु भएको थियो,” उहाँले भन्नुभयो, “यसअघि दुई वटा स्थानमा भएका महिला कुस्तीमा पनि यहाँका खेलाडीहरु स्वर्ण पदक जित्न सफल भएका थिए ।”

आठौँमा महिलातर्फ यहाँका ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका अम्बिका भण्डारी, ५९ केजीका कोमल खत्री र ६५ केजीमा सपना चन्दले उपविजेता (सिल्भर मेडल) बनेका छन् ।

पुरुषतर्फ पनि कुस्तीमा १० वटा तौलम समूहमा खेलाडीबीच प्रतिस्पर्धा गराइएको थियो । सुदूरपश्चिम प्रदेशले पुरुषतर्फ स्वर्ण हात पार्न नकसे पनि पदकविहीन भने हुनु परेन । पुरुषतर्फ ८६ केजी तौल समूहमा सञ्जय तिखातरी र १२५ केजीमा करन भट्ट उपविजेता बनेका छन् ।

त्यसैगरी ५७ केजी तौल समूहमा भुवन चन्द, ६१ मा अर्जुन गुरुङ, ७४ मा सन्दीप चन्द र ७९ मा विकास चन्दले कास्य पदक जिते भने महिलातर्फ पनि ७६ केजीमा मोनिका चन्दले सुदूरपश्चिमलाई कास्य पदक दिलाए । कञ्चनपुरमा २०४८ को दशकअघि देखि कुस्तीको प्रशिक्षण थालिए पनि २०६० सालमा हालका कुस्ती प्रशिक्षक राजेन्द्र चन्द पहिलो पटक सुदूरपश्चिमबाट दक्ष्णि एशियाली कुस्ती प्रतियोगितामा सहभागी हुनुभएको थियो ।

“अरूभन्दा पनि यहाँ तालीम हलको निकै समस्या रहेको छ,” चन्दले भन्नुभयो, “अब सुदूरपश्चिम कुस्तीको पनि उर्वरभूमि हो भनेर खेलाडीहरुले प्रमाणित गरिसकेका छन् ।” उहाँले कुस्ती हलका लागि राष्ट्रिय खेलकूद परिषद्लगायत यहाँका स्थानीय तहसित गुहार माग्ने योजना सुनाउनुभयो ।

मुलुकभर ३२ जनामा कुस्ती रहे पनि सुदूरपश्चिम प्रदेशमा भने कञ्चनपुरमा मात्रै प्रशिक्षक रहेका छन् । आठौँमा स्वर्णपदक विजेता महिला खेलाडी मनिषा सिंहले पदकले आफूलाई खेलप्रति अझ जिम्मेवार बनाएको बताउनुभयो ।

“दैनिक साइकल चढेर प्रशिक्षणका लागि भीमदत्तनगर पुग्थें,” उहाँले भन्नुभयो, “दुई महीनाअघि पनि सुनसरीमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा स्वर्ण जितेको थिएँ ।” उहाँले खेलसँगै अध्ययनलाई पनि निरन्तरता दिएको बताउनुभयो ।

भारतमा भएको १२औँ दक्षिण एशियाली खेलकूद प्रतियोगितामा सुदूरपश्चिमबाट लक्ष्मी खत्री, लीला सिंह र ईश्वरी थापा सहभागी भएका थिए भने यहाँका खेलाडी सुरेश चुनारा इण्डोनेशियाको भएको एशियाली खेलकूदमा सुदूरपश्चिमबाट सहभागी भएका थिए । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !