१४ बैशाख २०८१, शुक्रबार

पहिलो टी–२० मा नेपाल पराजित


Nepal-Cricket Team

१७ माघ, काठमाडौँ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको पहिलो टी–२० क्रिकेटमा नेपाल पराजित भएको छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा आज भएको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको हो ।

यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाई १३२ रन बनायो । नेपालका लागि डेब्यु खेलाडी सन्दीप जोराले अर्धशतकीय इनिङ खेले । उनले ४६ बलमा एक छक्का र तीन चौकाको मद्दतमा अविजित रहँदै ५३ रन बनाए । सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन जोडे ।

बलिङतर्फ यूएईका कप्तान मोहमद नाभिद, सुल्तान अहमद र जाहोर खानले दुई/दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । साइमन अनवरले ५९ रन, मोहमद उस्मानले ३०, सीपी रिजवानले २२ तथा मोहमद बोताले अविजित २० रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र वसन्त रेग्मीले दुई/दुई तथा सोमपाल कामी र अविनाश बोहोराले एक/एक विकेट लिए । जितसँगै यूएईले नेपालविरुद्धको तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब नेपालले घरेलु टोलीविरुद्धको दोस्रो टी–२० खेल शुक्रबार खेल्नेछ । नेपालले तीन खेलको एकदिवसीय सिरिज भने २–१ ले जितिसकेको छ ।

रेडियन्ट दोहोरो उपाधिनजिक

रेडियन्ट सातौँ एक्सेल्सियर कपअन्तर्गत सिनियर र जुनियर ब्वाइज बास्केटबलतर्फ आज यहाँ भएको खेलमा फाइनलमा प्रवेश गरेको छ । सिनियर ब्वाइजमा रेडियन्टले मोक्सदालाई ५७–३७ अङ्कले पराजित ग¥यो । रेडियन्टको जितमा उपेन्द्र बस्नेतले २२ अङ्कको योगदान गरे । फाइनलमा रेडियन्टको भेट एलआरआईसँग हुनेछ । अर्को सेमिफाइनलमा धीरन कठायतको २९ अङ्कको सहयोगमा एलआरआईले संकृतिलाई ५०–२७ अङ्कले हरायो । जुनियर ब्वाइजमा रेडियन्टले बृहस्पतिको चुनौती ३८–२० अङ्कले समाप्त पा¥यो । रेडियन्टका सञ्जिव भण्डारीले १२ अङ्क जोडे । उपाधिका लागि रेडियण्न्टले ग्रिनफिल्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !