८ पुस २०८१, सोमबार

रियो ओलम्पिकमा नेपालका ७ खेलाडी, ५ प्रशिक्षक र १५ पदाधिकारी जाने


olampic game nepal

काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ३१ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुद यसैसाताबाट ब्राजिलको राजधानी रियो दि जेनेरियोमा हुँदैछ ।
नेपालले सन् १९६४ को टोकियो ओलम्पिकबाट खेलकुदको महाकुम्भमा लगातार सहभगिता जनाउँदै आएको छ । र, अगस्ट ५ बाट सुरू भै अगस्ट २१ मा समापन हुने ३१ औं संस्करणको ओलम्पिक खेलकुदमा नेपालको पनि सहभागिता हुँदैछ ।

यसपटक नेपालबाट पाँच खेलको ७ खेलाडिहरूले खेलकुदको महाकुम्भ रियो ओलम्पिकमा प्रतिष्पर्धा गर्दैछन् ।
रियो ओलम्पिकमा नेपालबाट सात खेलाडीका ५ प्रशिक्षक, ७ खेलाडी, १५ पदाधिकारी गरि २७ सदस्यीय टोली रियो जाँदैछन । नेपालबाट यसपटकको ओलम्पिकमा एथलेटिक्स, जुडो, तेक्वान्दो, पौडी र आर्चरी खेलमा सहभागिता रहने छ ।

खेलकुदको महाकुम्भमा लगातार सहभागिता जनाउँदै आए पनि नेपाल ‘वाइल्ड कार्ड’ र युपिएस कोटाबाट सहभागिता जनाउन लागेका हुन् । तेक्वान्दोका संगीना वैद्य (एथेन्स २००४) र दीपक विष्ट (बेइजिङ २००८) मात्र छनोट पार गरेर ओलम्पिक खेलेबाहेक अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले छनोट पार गरेका छैनन् ।

नेपालले यसपटक तीन खेलका खेलाडीले वाइल्ड कार्ड पाएका छन् भने दुई खेलका ४ खेलाडीले युपिएस प्राप्त गरेका छन् । नेपालले यसपटक जुडो, तेक्वान्दो र आर्चरीले वाइल्ड कार्ड प्राप्त गर्दै रिओ ओलम्पिकमा सहभागिता जनाउन लागेका हुन् भने पौडी र एथलेटिक्सले युपिएस पद्दति (युनिभार्स्िलटी प्लेसेस्) प्राप्त गर्दै नेपालको प्रतिनिधि गर्दैछन् । अघिल्लो संस्करणको सहभागितामा ८ भन्दा कम खेलाडी सहभागी राष्ट्रलाई आइओसीले वाइल्ड कार्ड उपलब्ध गराउने गर्छ । त्यस्तै आइओसीमा आवद्ध २ सय ८ वटै देशको सहभागिता रहोस् भन्ने उद्देश्यले ति देशका दुई खेलका चार (महिला/पुरुष) खेलाडीलाई युपिएस प्रदान गर्ने गर्छ ।

नेपालबाट जुडोकी फुपुल्हामु खत्री, तेक्वान्दोकि निशा रावल र आर्चरीका जितबहादुर मुक्तानले वाइल्ड कार्ड प्राप्त गर्दै रियो ओलम्पिक खेल्दैछन् । ओलम्पिक खेलको उद्घाटनमा नेपाली टिमको नेतृत्व गर्दै जुडोकी खत्रीले नेपालको झन्डा बोक्ने भएकी छन् । जुडोकी खत्रीले ९ अगस्टमा प्रतिस्पर्धा गर्नेछिन् । उनले महिला ६३ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । तेक्वान्दोकी निशा रावलले २० अगस्टमा ६७ भन्दा बढि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् ।

फुपू र निशा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको छात्रवृति पाउने नेपाली खेलाडीहरु मध्येका खेलाडी हुन् । तर, दुबैले छनोटमा असफल भएपछि वाइल्ड कार्डबाट नेपालको प्रतिनिधि गर्न लागेका हुन् । फिलिपिन्सको राजधानी मनिलामा निशाले रियो ओलम्पिक छनोट खेल खेले पनि सफल नभएपछि वाइल्ड कार्डबाट नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन् । त्यस्तै १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेकी फुपूल्हामुले उज्वेकिस्तानमा ओलम्पिक छनोटको रूपमा पनि रहेको एसियन च्याम्पियनसिप खेलेकी थिइन् । निशाले नेपालमै बसेर ओलम्पिकका लागि तयारी गरेकी थिइन् भने फुपूले हंगेरीमा ओलम्पिक तयारी गरेकी छिन् । त्यसैगरि आर्चरीका जितबहादुर मोक्तानले व्यक्तिगत कर्वतर्फ प्रतिस्पर्धा गर्ने छन् ।

यसपटक युनिर्भसलिटी प्लेसेस कोटाबाट पौडीबाट शिरिष गुरुङ र गौरिका सिंहले नेपालको प्रतिनिधित्व गर्ने छन् । पौडीका शिरिषले १ सय मित्र फ्री स्टाइलमा सहभागिता जनाउने छन् । उनको प्रतिस्पर्धा ९ अगष्टमा हुनेछ । १२ औं सागमा एक रजतसहित ऐतिहासिक चार पदक जितेकी १३ वर्षीया स्विमर गौरिका सिंहले १ सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्ने छन् । उनी लन्डनमा नै रहेकी छन् । उतैबाट ब्राजिलको रियो जाने कार्यक्रम रहेको छ । पौडीको अन्तराष्ट्रिय संस्था फिनाले रसियाको कजान र दुवईमा आयोजना गरेको ओलम्पिक छनोट प्रतियोगितामा सहभागी भई फिना अंकको आधारमा उनीहरु ओलम्पिकका लागि छनोट भएका हुन् ।

यस्तै एथलेटिक्सबाट हरि कुमार रिमाल र सरस्वती भट्टराईले प्रतिस्पर्धा गर्ने छन् । सागमा कास्य पटक बिजेता एथलेटिक्सका हरि कुमार रिमालले रियो ओलम्पिकमा ५ हजार र १० हजार मिटरमा प्रतिस्पर्धा गर्ने छन् । नेपाल एथलेटिक्स सघले आयोजना गरेको छनोट खेलमा पहिलो भएकी सरस्वतीले ८ हजार र १५ हजार मिटर दौडमा भाग लिने छिन् ।

जुडोबाट ओलम्पियन देवु थापा प्रशिक्षक छिन् । जुडोका अध्यक्ष दीपकहर्ष बज्राचार्य फिसियलमा छन् । तेक्वान्दोतर्फ प्रशिक्षकमा ओलम्पियन संगिना बैद्य ब्राजिल जाने छन् । टिम अफिसियलमा राजन श्रेष्ठ छन् । त्यस्तै पौडीको प्रशिक्षकमा इश्वरकुमार कार्की रहेका छन् । टिम अफिसियलमा पौडीका अध्यक्ष अशोक बज्राचार्य ब्राजिल जाने छन् । आर्चरीको प्रशिक्षक दिपकराज गुरुङ रहदा टिम अफिसिलमा रमेशकुमार श्रेष्ठ र समिम मिया अन्सारी रहेका छन् । त्यसैगरि एथलेटिक्सबाट प्रशिक्षकमा पुष्प राज ओझ रहेका छन् ।

नेपाली टिमका सेफ दि मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट छन् । रियो ओलम्पिकको उद्घाटन अतिथीको रुपमा सिवानी एयरका प्रोपाइटर मणिन्द्रलाल रंजित ब्राजिल जाँदा समापन अतिथीको रुपमा एनआरएनएका अध्यक्ष शेष घले सहभागी हुँदैछन् । सिवानी एयर र एनआरएनए नेपाल ओलम्पिक कमिटीका प्रयोजन सस्था हो ।

यस्तै रियो जाने नेपाली पदाधिकारीहरुमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव लामा टेन्डी शेर्पा बाहेक उपाध्यक्ष ज्योती राणा, कोषाध्यक्ष रतन टन्डन, कार्यकारी सचिव सुजनलाल श्रेष्ठ र सदस्य निलेन्द्रराज श्रेष्ठ छन् । नेपाली टिमको डाक्टरमा सरोज कृष्ण श्रेष्ठ रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !