२० बैशाख २०८१, बिहिबार

नवबुद्ध र बिर्तामोड युनाइटेड महिला गोल्डकपको सेमिफाइनलमा


महिला गोल्डकप

मङ्गलबारे, इलाम । नवबुद्ध युथ क्लब सप्तरी र बिर्तामोड युनाइटेड झापाको टोली इलाममा जारी प्रथम ओएसिस महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार सम्पन्न खेलमा नवबुद्धले युनाइटेड देउमाईलाई २–० गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । नवबुद्धका लागि ममता पुन मगरले खेलको तेस्रो र २०औँ मिनेटमा गोल गरेकी थिइन् । देउमाईले भने गोल गर्न सकेन । सो खेलको वुमन अफ दी म्याच ममता पुन मगर घोषित भइन् ।

शुक्रबार नै भएको अन्तिम क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेडले भारतको पटना फुटबल क्लबलाई ५–० गोलअन्तरले हरायो । बिर्तामोडका लागि समिक्षा मगरले ह्याट्रिक गरिन् । उनले खेलको पाँचौँ, ४९औँ र ५६औँ मिनेटमा गोल गरिन् ।

यस्तै खेलको १५औँ मिनेटमा सिम्रन राई र १८औँ मिनेटमा मोनिका घलेले बिर्तामोड युनाइटेडका लागि थप गोल गरेका थिए । सो खेलमा समिक्षा वुमन अफ दी म्याच घोषित भइन् ।

आज पहिलो सेमिफाइनल खेल भारतको मानेभन्ज्याङ फुटबल क्लब र नवबुद्ध फुटबल सप्तरीबीच तथा दोस्रो सेमिफाइनल खेल दीपेन्द्र शिखर फुटबल क्लब रोङ, इलाम र बिर्तामोड युनाइटेडबीच हुने आयोजक क्लब ओएसिसका अध्यक्ष च्याङ मुखियाले जानकारी दिए ।

विजेताले रु दुई लाख तथा उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ७ गते खेलाइने छ । प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !