२१ बैशाख २०८१, शुक्रबार

नामिबियाले नेपाललाई ४ विकेटले हरायो


नामिबियालाई नेपालले दियो

काठमाडौं । आइसिसी मेन्स क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आज भएको उद्घाटन खेलमा नामिबियाले नेपालविरुद्धको खेलमा पहिलो जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज बिहीबार भएको पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले हराएको हो । यो जितसँगै नामिबियाले दुई अङ्क जोडेको छ ।

नेपालले दिएको १३३ रनको झिनो लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा पुरा गर्यो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १३२ रन मात्रै बनाउन सक्यो ।

नामिबियाको जितमा जान फ्रिलिङ्कले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ५३ बल खेल्ने क्रममा चार चौका प्रहार गरे । त्यसैगरी जान निकोल लोफिट इटनले ३१ रन बनाए भने मिचेल भान लिङगेनले २३ रन बनाए । त्यस्तै निकोलास डाभिनले १५ रन जाडे ।

बलिङतर्फ नेपालका सोमपाल कामीले तीन र ललित राजबंशीले दुई विकेट लिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४१ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै एक सय ३२ रनमा समेटिएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए ।

उनले ८६ बल खेल्ने क्रममा दुई चौका र एक छक्का पनि प्रहार गरे । त्यस्तै गुल्शन झाले २१ रन बनाए । उनले ३१ बल खेल्दै तीन चौका प्रहार गरे र ३८ बल खेलेका करण केसीले तीन चौकाको सहयोगमा १६ रन बनाए ।

कप्तान रोहितकुमार पौडेल १३ बल खेल्दै एक रन मात्रै बनाउन सके भने कुशल मल्लले २२ बलमा एक चौका र एक छक्काको सहउोगमा १५ रन बनाए । सोमपाल कामी दुई रनमा आउट हुँदा कुशल भुर्तेलले खाता खोल्न सकेनन् । त्यसैगरी पवन शर्राफले १२, अनिल शाहले आठ तथा आशिफ शेखले चार रन बनाए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका जजेरार्ड एरास्मस पाँच विकेट चट्काए । त्यस्तै ज्याक ब्रासेल र रुबेन ट्रम्पलम्यानले समान दुई-दुई विकेट लिए ।

अब नेपालले आफ्नो दोस्रो खेल शनिबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !