७ बैशाख २०८१, शुक्रबार

विश्वकप क्रिकेट लिग–२ : पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल


पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम त्रिकोणात्मक शृङ्खलामा नेपाल अहिले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको हो ।

विश्वकप लिग–२ को शीर्ष तीन भित्र रहन नेपाललाई जारी शृङ्खलाका चारै खेलमा जित आवश्क छ । एकदिवसीय मान्यता जोगाउनका लागि भने नेपाललाई चारमध्ये दुई खेल जित्न जरुरी छ । सात देश सम्मिलित लिग–२ मा नेपालले हालसम्म ३२ खेलबाट ३२ अङ्क जोडेको छ । नेपाल पाँचौँ स्थानमा छ ।

पपुवा न्युगिनीलाई जारी शृङ्खलामा जित हारले केही फरक पर्ने देखिदैन । पपुवा न्युगिनी लिग–२ को पुछारमा छ । उसले हालसम्म ३२ खेलबाट नौ अङ्क जोडेको छ ।

नेपाल जस्तै युनाइटेड अरब इमिरेट्स (युएई) का लागि पनि अन्तिम शृङ्खला महत्वपूर्ण छ । उसले हालसम्म खेलेका ३२ खेलबाट ३१ अङ्क जोडेको छ । युएई लिगको छैटौँ स्थानमा छ । जारी शृङ्खलाका चारै खेल जिते उसले विश्वकपमा स्थान बनाउने छ ।

फराकिलो अन्तरले दुई खेल जितेमा युएईले एकदिवसीय मान्यता जोगाउने छ अन्यथा उसले तीन खेल भने जित्नै पर्ने अवस्था छ । नेपालमा आजदेखि सुरु भएको लिग–२ को शृङ्खला अन्तिम हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !