८ बैशाख २०८१, शनिबार

आइसिसी क्रिकेट लिग–२ : नेपाल युएईसँग पराजित


नेपाल युएईसँग पराजित

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपाल युएईसँग पराजित भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल युएईएसँग ६८ रनले पराजित भएको हो । युएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ६० रनको योगदान दिए । त्यस्तै सन्दीप लामिछाने २६ रनमा अविजित रहँदा आसिफ शेखले १७ रन जोडे ।

युएईका रोहन मुस्ताफा र कार्तिक मैयप्पनले समान ३/३ विकेट लिए भने जुनेद सिद्दिकीले २ विकेट झारे । जाहोर खान र सविर अलिले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनाएको थियो । युएईका लागि ओपनर आसिफ खानले सर्वाधिक ७२ रनको योगदान दिएका थिए भने रोहन मुस्ताफले अविजित ५२ जोडेका थिए ।

त्यस्तै आर्यन लाक्राले २८ रन बनाए भने कप्तान सीपी रिजवानले २२ तथा वृत्य अरविन्दले १८ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसी, कुशल मल्ल र आरिफ शेखले समान १/१ विकेट झारे । जितसँगै युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अङ्कका साथ पाँचौँ स्थानमा छ । पराजित नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित २८ अङ्कका साथ अङ्क तालिकाको छैटौँ स्थानमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !