४ बैशाख २०८१, मंगलबार

आइसिसी विश्वकप क्रिकेट : नेपालको लगातार चौथो शानदार जित


नेपालको लगातार चौथो शानदार जित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले लगातार चौथो शानदार जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले सिरिजमाथि कब्जा जमाएको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि स्कटल्याण्डले पहिला ब्याटिङको निम्तो पाएको थियो । स्कटल्याण्डले निर्धारित ५० ओभरको खेलमा ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै २१२ रनको योगफल बनायो । २१३ रनको विजय लक्ष्य नेपालले ३५ बल बाँकी छँदै ८ विकेट गुमाएर पुरा गर्यो ।

नेपालले ६१ रन बनाउँदा आफ्ना महत्वपूर्ण पाँच विकेट गुमाइसकेको थियो । एक सय ३८ रन बनाउँदा ८ विकेट गुमाएको अवस्थामा नेपाली पारीलाई कप्तान रोहितकुमार पौडेल र अलराउण्डर करण केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि सिरिजको उपाधि सुरक्षित सम्भव भएको हो ।

दुवैबीच ७५ रनको साझेदारी भएको हो । कप्तान पौडलेले अविजित ९५ तथा केसीले ३१ रनको योगदान दिए । यस्तै ज्ञानेन्द्र मल्लले २१, कुशल मल्लले १७ र आशिफ शेखले १२ रन बनाए । बलिङतर्फ स्कटल्याण्डका मार्क वाटले तीन र क्रिस ग्रेभ्ब्सले दुई विकेट लिए ।

यसअघि दुई सय १२ रन बनाउने क्रममा स्कटल्याण्डका लागि जर्ज मुन्शेले सर्वाधिक ६० रनको योगदान दिए । उनले ५० बलमा नौ चौका र दुई छक्काको मद्दतमा ६० रन बनाए । यस्तै म्याथ्यु क्रसले ४२, ब्रेन्डन म्याकुलमले ३१ तथा काइल कोट्जर र क्रिसटोफर म्याकब्राइडले समान २२/२२ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दिप लामिछानेले चार विकेट लिए । यस्तै करण केसीले तीन, ललितनारायण राजवंशी र कुशल मल्लले समान एक एक विकेट लिए । यसअघिको खेलमा पनि नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो ।

यस्तै नेपालले नामिबियाविरुद्धको पहिलो खेल दुई विकेटले र दोस्रो खेल तीन विकेटले जितेको थियो । लिग–२ मा नेपाल २६ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपालले हालसम्म खेलेका २८ खेलमध्ये १२ मा जित तथा १४ खेलमा हार बेहोरेको छ ।

यस्तै स्कटल्याण्डले ३६ खेलमा ५० अङ्क जोड्दै शीर्षस्थान रहँदै लिग–२ टुङ्ग्याएको छ । स्कटल्याण्ड लिग–२ को च्याम्पियनसमेत बनेको छ । यस्तै जारी सिरिजमा चारवटै खेलमा पराजित भएको नामिबियाले हालसम्म ३४ खेल खेल्दै ३७ अङ्क जोडेको छ । नामिबिया लिग–२ को तेस्रो स्थानमा छ ।

यो पनि पढ्नुहोस्

ज्ञानेन्द्र र आशिफको कीर्तिमानी साझेदारीमा नामिबियामाथि नेपालको शानदार जित

दीपेन्द्र र कुशलको उत्कृष्ट ब्याटिङमा नेपालको सानदार जित

रोहित र कुशलको कीर्तिमानी साझेदारीमा नामिबियामाथि नेपालको शानदार जित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !