२२ बैशाख २०८१, शनिबार

सन्दीप लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस हुँदै


सन्दीप लामिछाने

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । लामिछानेको विरुद्धको मुद्दामा थुनछेक बहस हिजो नसकिएपछि आज शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको हो । लामिछानेविरूद्ध सोमबार सरकारी वकिलको कार्यालय काठमाडौंले दायर गरेको थियो ।

आज लामिछानेको तर्फबाट बरिष्ठ अधिवक्ता शम्भु थापालगायतले बहस गर्दैछन् भने सरकारी वकीलको तर्फबाट पनि बहस हुने छ । सन्दीपका तर्फबाट हिजो बिहीवार ८ जना अधिवक्ताले बहस गरेका थिए ।

बहस सकिएपछि इजलासले अव केही दिनभित्रै आदेश जारी गर्ने छ । लामिछानेविरूद्ध १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय माग गर्दै अदालतमा मुद्दा दायर भएको थियो । सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने, तारेखमा छाड्ने वा धरौटमा छाड्ने भन्ने विषयमा थुनछेक बहस सकिएपछि अदालतबाट आदेश आउनेछ ।

लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) को कसुरको अभियोग लगाइएको हो । दफा २१९ को उपदफा ३ (घ) बमोजिम १० वर्षदेखि १२ वर्षसम्मको कैद माग गर्नुका साथै पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।

लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् भने पीडितले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् । लामिछानेविरुद्ध नाबालिकमाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !