१९ बैशाख २०८१, बुधबार

सन्दीप लामिछाने विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा


सन्दीप लामिछाने

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको विरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि आज पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस आज बिहीबार पनि नसकिएपछि भोलि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको हो । लामिछानेविरूद्ध दायर भएको मुद्दाको हिजोदेखि थुनछेक बहस सुरु भएको हो । लामिछानेविरूद्ध सोमबार सरकारी वकिलको कार्यालय काठमाडौंले दायर गरेको थियो ।

बहस सकिएपछि इजलासले अव केही दिनभित्रै आदेश जारी गर्ने छ । लामिछानेविरूद्ध १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय माग गर्दै अदालतमा मुद्दा दायर भएको थियो । सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने, तारेखमा छाड्ने वा धरौटमा छाड्ने भन्ने विषयमा थुनछेक बहस सकिएपछि अदालतबाट आदेश आउनेछ ।

लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) को कसुरको अभियोग लगाइएको हो । दफा २१९ को उपदफा ३ (घ) बमोजिम १० वर्षदेखि १२ वर्षसम्मको कैद माग गर्नुका साथै पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।

लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् भने पीडितले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् । लामिछानेविरुद्ध नाबालिकमाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !