१४ बैशाख २०८१, शुक्रबार

सन्दीपविरूद्ध दायर भएको मुद्दाको आज थुनछेक बहस हुँदै


सन्दीप लामिछाने

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध दायर भएको मुद्दाको आज थुनछेक बहस हुँदै छ । लामिछानेविरूद्ध हिजो सरकारी वकिलको कार्यालय काठमाडौंले दायर गरेको मुद्दाको थुनछेक बहसका लागि तोकिएको पेसीको आज काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो ।

लामिछानेविरूद्ध १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय माग गर्दै हिजो काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने, तारेखमा छाड्ने वा धरौटमा छाड्ने भन्ने विषयमा आज बहसपछि अदालतबाट आदेश आउनेछ । भोलि बुधबार साँझसम्म अदालतको फैसला आउने प्रवल सम्भावना रहेको छ ।

लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) को कसुरको अभियोग लगाइएको हो । दफा २१९ को उपदफा ३ (घ) बमोजिम १० वर्षदेखि १२ वर्षसम्मको कैद माग गर्नुका साथै पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।

लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीले सन्दीपले घुम्न भन्दै नगरकोट लगेको तर जबरजस्ती होटल पुर्याएर आफूमाथि राती दुईपटक करणी गरेको आरोप लगाएकी छन् । प्रहरीले हिजो काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा पीडित भनिएकी किशोरीले यस्तो आरोप लगाएको उल्लेख गरिएको छ ।

ती किशोरीको समावेश गरिएको बयानमा उनले मेन्टल रिफ्रेसमेन्टका लागि भन्दै झुक्क्याएर नगरकोट लगेको तथा फर्किएर काठमाडौंको एउटा होटलमा ल्याएर राती जबरजस्ती करणी गरेको दाबी गरेकी हुन् । करणीका क्रममा सन्दीपले आफूलाई पिटेको समेत उनले बयान दिएकी छन् ।

यद्यपि सन्दीपले भने पीडित भनिएकी किशोरी र आफू राति एउटै कोठामा रहेपनि राती आफू गफ गर्दागर्दै कुर्सीमै निदाएको जिकिर गरेका छन् । प्रहरीले हिजो काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा सन्दीपको समावेश गरिएको बयानमा उनले पीडित भनिएकी किशोरीसँग शारीरिक सम्बन्ध नराखेको बयान उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

किशोरीको आरोप : सन्दीपले घुम्न भन्दै नगरकोट लगे, जबरजस्ती होटल पुर्याएर दुईपटक करणी गरे

सन्दीपको जिकिर : गफ गर्दागर्दै कुर्सीमै निदाएको थिएँ, एउटै कोठाको बेडमा उनी सुतेकी थिइन्

सन्दीपविरूद्ध १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै अदालतमा मुद्दा दायर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !