८ बैशाख २०८१, शनिबार

सन्दीपविरूद्ध १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै अदालतमा मुद्दा दायर


सन्दीप लामिछाने पक्राउ फाइल फोटो

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय माग गर्दै आज अदालतमा मुद्दा दायर भएको छ । लामिछानेविरूद्ध आज सरकारी वकिलको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) को कसुरको अभियोग लगाइएको हो । दफा २१९ को उपदफा ३ (घ) बमोजिम १० वर्षदेखि १२ वर्षसम्मको कैद माग गर्नुका साथै पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ अनुसार १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलाको जबरजस्ती करणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । यसबाहेक पीडितलाई उचित क्षतिपूर्तिको माग पनि गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएपनि तिहार सुरू भएकाले उनको मुद्दा आज दायर गरिएको हो ।

आज लामिछानेविरूद्ध मुद्दा दायरसँगै मंगलबारलाई थुनछेकका लागि पेसी तोकिएको छ । सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने, तारेखमा छाड्ने वा धरौटमा छाड्ने भन्ने विषयमा मंगलबार बहसपछि अदालतबाट आदेश आउनेछ ।

एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी थिइन् । जिल्ला अदालत, काठमाडौंले पक्राउ गर्न अनुमति दिएपछि गत असोज २० गते बिहीबार उनी पक्राउ परेका थिए । क्यारेबियन लिग क्रिकेट खेल्न जमैकामा रहेका बेला उनीबिरुद्ध उजुरी परेको थियो ।

महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !