७ बैशाख २०८१, शुक्रबार

नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले साफ च्याम्पियनसिपपछि राजीनामा दिने


अब्दुल्ला अल्मुताइरी फाइल फोटो

काठमाडौँ । नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने भएका छन् । आज बुधबार माल्दिभ्समा बंगलादेशविरुद्धको खेलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले साफ च्याम्पियनसिपपछि राजीनामा दिने बताएका हुन् । उनले साफ च्याम्पियनसिपपछि आफू नेपाल नआई सोझै कुवेत फर्किने बताएका छन् ।

उनको मुख्य प्रशिक्षणमा नेपालले ऐतिहासिक सफलता हासिल गर्दै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा आज बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो ।

राउण्ड रोबिन लिगअन्तर्गतको आजको खेलमा १० खेलाडीमा सीमित रहेको बङ्गलादेशसँग नेपालले १–१ गोलको बराबरी खेल खेलेको हो । मालेस्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा खेलको नवौँ मिनेटमा बङ्गलादेशका सुमन रिजाले गोल गरेर आफ्नो देशलाई अग्रता दिलाएका थिए ।

नेपालका लागि अञ्जन विष्टले दोस्रो हाफको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएका थिए । नेपाल फाइनलमा पुगेको छ भने बंगलादेश समूह चरणबाटै बाहिरिएको छ ।

सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पल्ट हो । ४ खेलपछि नेपाल ७ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । फाइनल खेल आगामी शनिबार राति हुनेछ ।

यो पनि पढ्नुहोस्

इतिहासमा नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !