काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलरक्षक किरण चेम्जोङ नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान कायम गर्दैछन् । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान चेम्जोङले भारतविरुद्धका दुई खेल खेलेपछि नेपालका लागि सबैभन्दा बढि खेल खेल्ने खेलाडी बन्न लागेका हुन् ।
विहीबारको भारतविरुद्धको खेलसँगै चेम्जोङले नेपालको तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका विराज महर्जनसित बराबरी गरेका छन् ।
महर्जनले नेपाली टोलीबाट सन्यास लिइसकेका छन् । महर्जन र चेम्जोङ नेपाली टोलीबाट समान ७३ खेल खेलेका छन् । आइतबार मैदान उत्रिए उनले ७४ औं क्यापसँगै कीर्तिमान आफ्नो नाम गर्नेछन् ।
३१ वर्षीय गोलरक्षक चेम्जोङले सन् २००८ मा एएफसी च्यालेन्ज कपमा मकाउविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । सन् २०११ मा भुटानविरुद्ध मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीको सुरुवाती रोजाइमा परेका किरणले त्यसपछि फर्केर हेर्नु परेन ।
पछिल्लो एक दशक उनले राष्ट्रिय टोलीको पहिलो रोजाइको गोलरक्षकको रुपमा नै खेलेका छन् । यसक्रममा उनले २४ खेलमा कुनै गोल खाएका छैनन् । ७३ खेलमध्ये ७२ खेलमा उनी पहिलो रोजाइमा खेलेका छन् ।
किरणले नेपालका लागि खेल्दा थुप्रै यादगार खेल खेलेका छन् । सिनियर टोली नभएपनि सन् २०१८ को एसियाली खेलकुद दौरान जापानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै सन् २०१२ मा नेहरु कपमा भारतविरुद्ध उनको प्रदर्शन उत्कृष्ट थियो ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो खेल हुँदैछ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज आइतबार साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु हुनेछ ।
आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिप फुटबलको तयारीस्वरुप यी दुई टोलीले मैत्रीपूर्ण खेल खेलिरहेका हुन् । यस्तै आज हुने दोस्रो मैत्रीपूर्ण खेलमा नेपालका कप्तान किरण चेम्जोङले राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान कायम गर्ने भएका हुन् ।
यो पनि पढ्नुहोस्
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र भारतबीचको दोस्रो खेल आज हुँदै
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : नेपाल र भारत १-१ गोलको बराबरीमा
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : नेपालविरुद्ध भारतले पनि गर्यो १ गोल