८ पुस २०८१, सोमबार

पोखरा राइनोजको एभरेष्ट प्रिमियर लिग (इपीएलमा) शानदार जित


एभरेष्ट प्रिमियर लिग

४ पुस, काठमाडौँ l इस्रार रुल्लाहको अलराउण्ड प्रदर्शनको मद्दतमा पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग इपीएलमा शानदार जित हासिल गरेको छ।
इस्रार रुल्लाहले ४ विकेट लिनुका साथै अर्धशतक बनाएपछि मंगलबार कीर्तिपुरस्थित टीयू इन्टरनेशनल मैदानमा भएको खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १० विकेटले पराजित गरेको हो।पाकिस्तानी खेलाडी इस्रार रुल्लाहको नटआउट ६१ तथा सुनिल धमलाले नटआउट ४६ रन बनाएपछि ११३ रनको लक्ष्य पोखरा राइनोजले १७.२ ओभरमा पूरा गरेको हो।

इस्रार रुल्लाहले ५२ बल खेल्दै ६ छक्का र १ चौका प्रहार गरेका थिए। यस्तै ५४ बल खेलेका धमलाले ३ चौका र २ छक्का प्रहार गरे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन टाइगर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११३ रन बनाएको थियो। चितवनका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४२ रन बनाए। दीपेन्द्रले ३२ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे।

ओपनर दीलिप नाथ (६) तथा सावेज खान (०) मा आउट भएपछि दीपेन्द्रले अर्को ओपनर अनिल मण्डलसँग मलेर तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए। मण्डलले ४४ बल खेलेर ३ चौका तथा १ छक्काको मद्दतमा ३२ रन जोडे। चितवनका बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।
बलिङमा पोखरा राइनोजका दुई पाकिस्तानी खेलाडीले ७ विकेट बाँडे। पोखराका इस्रारुल्लाहले ४ ओभर बलिङ गर्दै २२ रन खर्चेर ४ विकेट लिए। यस्तै ताज वालीले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए। कप्तान शक्ति गौचन र विक्रम सोबले १-१ विकेट लिए।विक्रम सोबले प्रतियोगिताकै पहिलो मेडन ओभर फाले। उनले ३ ओभरमा १ मेडन राख्दै १४ रन खर्चे।

जारी इपीएलमा ४ विकेट लिने इस्रार रुल्लाह दोस्रो खेलाडी हुन्। यसअघि उद्घाटन खेलमा ललितपुरका सुबोध भाटीले काठमाडौँ विरुद्व ४ विकेट लिएका थिए।चितवनबाट विदेशी खेलाडीका रुपमा खेलेका तिन वटै खेलाडीले दोहोरो अंक छुन सकेनन्। सावेज खान खाता नखोली आउट भए भने प्रविन गुप्ता २ तथा प्रमेश कुमार ३ रन बनाएर आउट भए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !