सीमावारि निगरानी, पारि बालविवाह

काशीराम शर्मा, बाँके, १८ भदौ । “हाम्रो सामान्य परिवार हो । बुबा काम खोज्न शहर जानुहुन्छ, आमा घरकै काममा खटिनुहुन्छ । म २० वर्षकी भएँ । कक्षा ११ मा पढ्छु । चार वर्षअघि मेरो बिहे हुने निश्चित थियो, घरायसी कारणले रोकियो । मेरो लागि राम्रो भयो । अहिले त बालविवाह रोक्न आफैं बाल क्लबमा आवद्ध भएकी छु ।” बाल क्लबमा सक्रिय एक किशोरीको भनाइ हो यो ।

आफू बाल क्लबमा आवद्ध भएपछि बुबाआमालाई चिन्ता थपिएको बताउने गुप्ता थरकी उहाँले आफ्नो नाम भने खुलाउन चाहनुभएन । “हामी किशोरीले गाउँमा बालविवाह रोक्न अभियान चलाएका छौं । यो अभियान सबैलाई मन पर्दैन । केहीले मात्रै हाम्रो कामलाई राम्रो छ भन्छन् तर, सहयोग भने गर्दैनन्,” उहाँले सुनाउनुभयो ।

गाउँमा हुने बालविवाह रोक्न प्रहरी आए पनि मेरै बुबाको नाम लिएर फलानोकी छोरीले बोलाएको होला, फलानोकी छोरी आजभोलि नेता बनेकी छे भन्दै कुरा काट्ने गरेको उहाँले बताउनुभयो । “बुबा आमालाई मेरो बारेमा निकै तनाव छ,” उहाँ भन्नुहुन्छ – “मलाई छिटो बिहे गर्न भन्नुहुन्छ । कतिपयले बुबालाई छोरी तह लगाउ भनेर धम्क्याउँछन् पनि ।”

उहाँका अनुसार यस्तो समस्या मधेशी समुदायमा अधिक छ । मधेशी समुदायमा अहिले पनि बालविवाह रोकिएको छैन । “यही समुदायमा १६ वर्षमै बिहे हुनुपर्ने माग गरिरहेकाहरु छन्,” उहाँले भन्नुभयो – “बुबाआमालाई पनि १६ पुगेपछि छोरीको बिहे गरिदिने हतारो हुन्छ । यसले कानूनलाई नै चुनौती दिएको छ ।” मधेशी तथा मुस्लिम समुदायमा कम उमेरमा विवाह गर्ने चलन कायमै छ ।

नेपालमा कानूनले नै २० वर्षभन्दा कम उमेरमा बिहे गर्ने छुट छैन । नेपालमा सरकार र सरोकारवाला निकायको निगरानी हुन थालेपछि बाँकेका अभिभावकहरूले भारतमा लगेर आफ्ना बालबालिकाको विवाह गर्ने गरेको पाइएको छ । यहाँ कानूनी रुपमै बालविवाहमाथि कडाइ गरिएपछि भारतका मन्दिरमा विवाह गर्ने नेपाली बालबालिकाको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ ।

बाँकेको डुडुवा गाउँपालिका–३ बनकट्टीमा एक मुस्लिम किशोरीको बिहे भएको खबर चार महिनापछि गाउँभरि फैलियो । “न जन्ती आए, न गाउँघरलाई निम्तो बाँडियो,” वनकट्टीका विनोद बर्मा भन्नुहुन्छ – “घरपरिवार र केही नातेदार मिलेर १८ वर्षकी ती किशोरीको गुपचुपमै भारतीय केटोसँग बिहे गराइयो ।” भारतीय भूमिमा लगेर छोरीहरूको गुपचुप बिहे गर्ने प्रवृत्ति बाँकेमा मात्र होइन भारतसँग सिमाना जोडिएका अरु जिल्लामा पनि बढेको उहाँ बताउनुहुन्छ । गाउँघरमा मात्र होइन, नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा १४ वर्षीया एक किशोरीको बिहे २१ वर्षका युवकसँग हुने पक्कापक्की भइसकेको छ । “ती किशोरीको बिहे भारतको मन्दिरमै गर्ने तयारी भइरहेको भए पनि रोक्न गा¥हो छ,” बाल अधिकारकर्मी खुसी चिडिमारले भन्नुभयो – “यहाँ बिहे भए त रोक्न सकिएला, भारतमा बिहे गर्दा रोक्न गा¥हो छ ।”

भारतमा १८ वर्षमै विवाह गर्नसक्ने कानूनी व्यवस्थाका कारण नेपाली अभिभावकले छोरीहरूको विवाह गर्ने थलो उतै बनाउन थालेको बताउनुहुन्छ, मधेशी समुदायका अगुवा रामकुमार बर्मा । बालविवाहले केटा पक्षभन्दा केटी पक्ष बढी पीडित हुन्छन् । बर्माले भन्नुभयो – “केटा पक्षले विवाह गरेर गौना नगरे पनि निश्चित रकम दिएर उम्किन्छन् तर, गौना बिग्रेको केटीको विवाह हुन समस्या छ । यस्ता किशोरीले मधेसी समुदायमा न्याय पाउने सम्भावना कम हुन्छ ।”

मधेशी समुदायमा छोरीको सानैमा विवाह गरेर केही समय माइतीमा छोडिदिने र उमेर पुगेपछि पुनः अन्माएर लैजाने प्रचलनलाई गौना भनिन्छ । अभिभावकले चाहेको बेलामा आफ्ना नाबालक छोरीको विवाह गरिदिने परम्पराले किशोरी पीडित छन् । विवाह के हो भनेर नबुझ्दै भएका विवाहले अधिकांश बालिका युवावस्थामा पुग्दा अलग हुन बाध्य हुन्छन् । पुण्य कमाउने नाममा सानैमा कन्यादान गरिदिने चलनले बालिकाको बिहे चाँडै हुने गरेको उहाँको भनाइ छ ।

तराईमा छोरीको सानैमा विवाह गर्ने अनि, गौना गर्ने प्रचलन पुरानै हो । “धार्मिक विश्वासमा रहेको यो प्रचलनले मधेशी समुदायका महिला बढी प्रताडित छन्,” मटेहिया निवासी पत्रकार विनय दीक्षित भन्नुहुन्छ – “छोरीचेलीको बिहेका कारण कानूनी कारवाहीमा परिने डरले अभिभावकहरु बोल्न चाहँदैनन् ।”

एक वर्षअघि बाँके प्रहरीले बाँकेको विकट मटेहियामा बालविवाहविरुद्ध कार्वाही चलाएर ११ वटा विवाह रोक्यो । बालबालिकालाई सम्झाएर छाड्यो । त्यसपछि स्थानीयवासीले छोरीहरुको बिहे गर्ने स्थान ८ किलोमिटर टाढा रहेको भारतको श्रावस्ती जिल्लाको जगपति मन्दिरलाई बनाए । बालविवाह तराईका दलित तथा विपन्न समुदायमा बढी छ । “दाइजो कम दिए पुग्ने भनेर धेरै अभिभावक छोरीको कम उमेरमै विवाह गरिदिन्छन्,” पत्रकार दीक्षितले भन्नुभयो ।

कतै रजस्वला नहुँदै विवाह गरिदिँदा पुण्य कमाइने विश्वासले सानैमा विवाह गर्ने प्रचलन छ । विपन्न समुदायमा कम उमेरमा विवाह गर्दा कम दाइजो दिए पुग्छ भन्ने बुझाइ अहिले पनि ग्रामीण बस्तीहरुमा कायमै छ । उमेर नपुग्दै भारतीय भूमिमा लगेर कतिको विवाह भयो त्यसको यकिन तथ्याङ्क भेटिँदैन । पत्रकार दीक्षितका अनुसार मधेशी समुदायका कतिपय अभिभावकले नागरिकतामा उमेर बढाएर भए पनि बिहे गरिदिने चलन बढेको छ ।

“जब उमेर बढ्दै जान्छ उनीहरुमा आउने परिवर्तनले समस्या ल्याउँछ,” पत्रकार दीक्षित भन्नुहुन्छ – “शिक्षा नभएसम्म यो कुप्रथा हटाउन गा¥हो छ । जनचेतना जगाउन सबै लाग्नुपर्छ ।” उहाँको भनाइ अनुसार बालविवाहले तराईका बालिकालाई शिक्षाबाट वञ्चित पारिदिएको छ भने अभिभावक आर्थिक समस्यामा छन् । बालविवाहले तराईमा बहुविवाह बढेको बताउँदै उहाँले भन्नुभयो – “विवाह भएपछि सिन्दूर लगाउनुपर्ने भएकाले सिन्दूर लगाएर विद्यालय जान मान्दैनन् ।”

नेपाल–भारतबीच सदियौंदेखि रोटीेबेटीको सम्बन्ध छ । यहाँका ५० प्रतिशतभन्दा बढी छोरीचेलीको बिहे भारतमा हुन्छ भने भारतबाट बुहारी भित्र्याउने क्रम पनि उस्तै छ । अधिवक्ता रामकुमार दीक्षित विवाहबारे किशोरकिशोरीमा सामान्य जानकारी नहुँदै अभिभावकको बाध्यतामा गरिने बिहेले नै समस्या ल्याइरहेको बताउनुहुन्छ । पछिल्लो समयमा बालविवाहलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आएको भए पनि बालविवाह भने रोकिएको छैन ।

बालविवाहका बारेमा बाँके प्रहरी बेखबर छैन । अभिभावकहरुले नै प्रहरीको आँखा छलेर विवाह गरिदिन थालेपछि कानूनी दायरामा ल्याउन समस्या भएको बताउनुहुन्छ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर वली । उहाँका अनुसार अभिभावक नै बालविवाहका लागि अग्रसर हुन थालेपछि प्रहरीले नियन्त्रण अभियानमा पूर्ण सफलता पाउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इञ्चार्ज एवं प्रहरी निरीक्षक दीपक मल्लका अनुसार बालविवाहको क्रम बढ्दो छ । कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७४ सम्म ती वर्षमा प्रतिवर्ष एक/एक वटाका दरले तीन वटा मुद्दा दर्ता भए भने आव २०७४/७५ मा दुई वटा दर्ता भए । आव २०७५/७६ मा मुद्दा दर्ताको सङ्ख्या ह्वात्तै बढ्यो । यस आवमा ६ वटा मुद्दा दर्ता भए ।

जिल्लामा कति सङ्ख्यामा बालविवाह रोकिए वा बालविवाह नगर्न सम्झाइबुझाई गरिए भन्ने यकिन तथ्याङ्क छैन ।

शहरमा अभिमुखीकरण, गाउँमा बालविवाह
बालविवाह नियन्त्रण गर्न कानून बनेको छ, सजायको व्यवस्था छ, नीतिगत कुरामा बालविवाह नियन्त्रणको काम राम्रै भएको छ तर, व्यवहारमा त्यसको ठिक उल्टो भइरहेको छ । न त चिन्ता अभिभावकलाई छ न बालविवाह गर्ने जोडीहरुलाई । जिल्लाका गाम्रीण क्षेत्रहरुमा बालविवाहको दर बढेको छ । सीमावारि निगरानी हुन थालेपछि सीमापारि पुगेर बिहे गर्नेको सङ्ख्या धेरै छ ।

बालविवाह न्यून गर्न जिल्लास्थित सरकारी तथा गैर सरकारी संस्थाहरुले वर्षेनी लाखौँ रकम खर्च गरे पनि अझै बालविवाह नियन्त्रण हुन सकेको छैन । बालविवाह ग्रामीण क्षेत्रमा बढी मात्रामा हुने भए पनि जनचेतनामूलक कार्यक्रमहरु शहरमा हुने गरेको पाइन्छ ।

बालविवाह न्यूनीकरणसम्बन्धी चेतनामूलक कार्यक्रमहरु बढी मात्रामा शहर केन्द्रित हुने गरेको बाल अधिकारकर्मी चिडिमारले बताउनुभयो । “शहरका एक÷दुई वटा विद्यालयमा जनचेतनामूलक कार्यक्रम गरेर मात्र कसरी बालविवाह न्यून हुन्छ ?” उहाँले भन्नुभयो – “यस्ता कार्यक्रमलाई स्थानीय तहहरुले गाउँगाउँमा सञ्चालन गर्नुपर्छ ।” उहाँका अनुसार जिल्लामा हुने कुल बालविवाहमध्ये ९० प्रतिशत ग्रामीण क्षेत्रमै हुने गरेका छन् ।

प्रविधिको दुरुपयोगले पनि बालविवाह
प्रविधिको दुरुपयोगले पनि बालविवाह हुने गरेको पाइन्छ । फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालको दुरुपयोग पनि बालविवाहको कारण रहेको बाल अधिकारकर्मीहरुको भनाइ छ । सामाजिक सञ्जालको सही रुपमा सदुपयोग नगर्दा शहरी क्षेत्रहरुमा बालविवाहको जोखिम बढ्दो छ । अभिभावकहरुले बालबालिकालाई निगरानीमा राख्न नसक्दा बालविवाह जोखिमपूर्ण बन्दै गइरहेको बताउनुहुन्छ, बालअधिकारका क्षेत्रमा काम गर्दै आइरहनुभएका पत्रकार विजय मल्ल ।

बालविवाह हुने सबैभन्दा ठूलो कारण जनचेतनाको अभाव नै हो भन्ने ठान्नुहुन्छ पत्रकार मल्ल । उहाँले भन्नुभयो – “ग्रामीण भेगमा बालविवाहका बारेमा चेतनाको अभाव छ । छोरा र छोरीबीचको विभेद पनि बालविवाहको कारण हो । छोरालाई पढाउने अभिभावकहरुमा छोरीलाई अरुको घर जाने जात भनेर कमै उमेरमा बिहे गरेर छुटकारा पाउने सोचले जरा गाडेको छ । छोरा पढाउन ऋण नै खोजेर लगानी गर्न तयार हुने अभिभावकमा त्यस्तो समर्पण छोरीको मामिलामा देखिँदैन । (रासस)