११ बैशाख २०८१, मंगलबार

५ महिनामा भए ८४४ महिला तथा बालिका हिंसाका घटना


यौन शोषण

काठमाडौँ । पछिल्लो पाँच महिनामा ८४४ महिला तथा बालिका हिंसाका घटनाबाट पीडित भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक)ले संस्थामा आएका र मिडियामा आएको घटनाका आधारमा सबैभन्दा बढी ५६ प्रतिशत घरेलु हिंसा भएको पाइएको हो ।

सो अवधिमा ४७५ घरेलु हिंसाका घटना भएको थियो । १५२ बलात्कार, ७५ सामाजिक हिंसा र ५३ हत्याको घटना भएको थियो । यही अवधिमा ३७ यौन दुव्र्यवहार, सात अलपत्र अवस्थामा फेला परेको, सात साइबर अपराध र ११ बलात्कारको प्रयास भएको थियो ।

घरेलु हिंसाका घटनामध्ये पनि २१६ घटनामा खान लाउन नदिइएको, १३७ शारीरिक हिंसा र १२२ मानसिक हिंसा रहेको छ । तथ्याङ्कको विश्लेषण गर्दा प्रभावित महिलामध्ये ३६५ श्रीमान्, ११९ परिवारका अरु सदस्य रहेकाले सबैभन्दा बढी महिला परिवारभित्रै असुरक्षित रहेको संस्थाले जनाएको छ ।

प्रभावितहरूको उमेरका आधारमा हेर्दा सबैभन्दा बढी २०९ जना २६ देखि ३५ वर्षसम्म उमेर समूहका महिला प्रभावित भएको पाइएको छ । १७ वर्षदेखि २५ वर्षसम्ममा १४७ जना पीडित, ३६ वर्षदेखि ४५ वर्षसम्मको उमेर समूहमा ६९ जना प्रभावित पाइएको छ ।

घरेलु हिंसामा आरोपितमध्ये सबैभन्दा बढी २६ वर्षदेखि ३५ वर्षसम्म उमेर समूह रहेको पाइएको छ । यो उमेर समूहका २०९, १७ देखि २५ वर्षसम्म उमेर समूहका १४७ तथा ३६ वर्षदेखि ४५ वर्षसम्म ६९ जना महिला पीडित भएका छन् । हिंसाका घटनामा आरोपितमध्ये सबैभन्दा २६ देखि ३५ वर्षसम्मको उमेर समूहका १५८ जना रहेका छन् ।

महिलाहरू सबैभन्दा बढी घरभित्रै असुरक्षित रहेको तथ्याङ्कले देखाएको संस्थाले जनाएको छ । हिंसाका घटनामा पीडित र प्रभावित दुवै युवा छन् । यसले देश विकासमा बाधा पुगेको भन्दै हिंसा अन्त्यका लागि त्यसको कारणको खोजी गर्दै समाधानको उपायसहित अघि बढ्न भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !