१२ बैशाख २०८१, बुधबार

बैतडी घटनाबारे महिला आयोग गम्भीर


भागरथी भट्ट

काठमाडौँ । राष्ट्रिय महिला आयोगले बलात्कारपछि हत्या भएको भनिएकी बैतडीको दोगडाकेदारकोे घटनाका दोषीलाई कानूनको दायरामा ल्याई घटनाबारे निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ ।

दोगडाकेदार गाउँपालिका-७ स्थित सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय किशोरी भगिरथी भट्टको यही माघ २१ गते शङ्कास्पद अवस्थामा शव भेटिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । घटनाको अनुगमन तथा अनुसन्धानका लागि आयोगले राष्ट्रिय मानवअधिकार आयोगसँग समेत छलफल गरिरहेको सचिव शान्ता अधिकारी भट्टराईले जानकारी दिइन् ।

हिंसाजन्य यस्ता गम्भीर घटनाले व्यक्तिको जीउज्यानको सुरक्षा र मानव अधिकराको गम्भीर उल्लङ्घन भएको आयोगले महसुस गरेको छ । सो घटनाको अनुगमन तथा अनुसन्धानका लागि तत्कालै आयोगले एक टोलीसमेत गठन गरेको छ । टोलीको नेतृत्व आयोगका सदस्यले गर्नेछन् ।

आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिनेतर्फ सचेत रहँदै निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत घटनाको सत्यतथ्य उजागर गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । दोषीमाथि कानूनबमोजिम कारवाही गर्न र पीडित परिवारको सुरक्षा तथा न्यायमा पहुँच पुर्याउन आयोगले आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !