२१ बैशाख २०८१, शुक्रबार

साझालाई गतिशील बनाएर प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्छ : मन्त्री अर्याल


पद्याकुमारी अर्याल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले साझा प्रकाशनलाई गतिशील बनाएर प्रतिस्पर्धी क्षमता विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डको ५७ औ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘साझा प्रकाशनः आजको सन्दर्भ’ विषयक विचार गोष्ठी कार्यक्रममा मन्त्री अर्यालले यस संस्थाको गरिमा बढ्ने काम गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “विगतका गौरव र विरासतलाई जोगाउनु संस्थाको चुनौती हो, दक्षिण एशियाको सबैभन्दा पुरानो संस्थाको समस्या पहिचान हुनुपर्छ । परिवर्तित परिस्थितिमा संस्थालाई नयाँ ढङ्गबाट चलाउन जरुरी छ ।”

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साझाको विश्वसनीयता गुमेको हुँदा नेपाल सरकारका हरेक प्रकाशन यसबाट प्रकाशित गरेर गरिमा बढाउँदै लानुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “यस संस्था सुधारका लागि वैकल्पिक मार्ग भए पनि अपनाउनुपर्छ ।” प्रकाशनका पूर्वसञ्चालक दीनानाथ शर्माले साझा नेपाली भाषा, साहित्य, संस्कृति र शिक्षाको आत्मा भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “यसले विगतदेखि हालसम्म मानव संस्थाका रुपमा भूमिका निर्वाह गर्दै आइरहेको छ ।” सो संस्थामा नीतिगत तथा नेतृत्व सुधारका साथै संरचनागत परिवर्तन गरी राष्ट्रिय प्रकाशन गृह बनाउन जरुरी भएको शर्माको मत थियो ।

प्रकाशनका पूर्वअध्यक्ष तथा महाप्रबन्धक प्राज्ञ डा. तुलसीप्रसाद भट्टराइले संस्थामा योग्य व्यक्तिलाई समय तोकेर राख्दा उच्च स्थानमा पुग्ने बताउनुभयो । पूर्वअध्यक्ष विष्णुविभु घिमिरेले साझा प्रकाशन मासिनु भनेको स्वयं मानिसको जीवन समाप्त हुने बताउँदै मुलुकमा हालसम्म उत्पादन भएका साहित्यकार र लेखक आदिका कृतिका साथै अस्तित्व पनि यससँगै अन्त्य हुनजाने दुखेसो गर्नुभयो ।

पूर्वमहाप्रबन्धक प्रा डा रमेशप्रसाद भट्टराईले साझाले बजार प्रणाली नबुझुञ्जेल उन्नति नहुने हुँदा मुलुकभर रहेका सहकारीलाई जोड्नुपर्ने मत राख्नुभयो । प्रकाशनका महाप्रबन्धक होमप्रसाद गौतमले सो संस्था बनाउन नौदेखि १० करोड रकम चाहिने र यसमा रहेका कूल ३६ कार्यालयलाई घटाएर हाल १४ कार्यालय मात्र रहेको जानकारी गराउनुभयो ।

उक्त कार्यक्रममा साझा प्रकाशन लामो समयदेखि भवनविहीन भइरहेको र यसमा पुनः कक्षा ११ र १२ का पाठ्यपुस्तक प्रकाशन गर्न पाउने अधिकार दिलाउन सरकरलाई अनुरोध गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !