१३ बैशाख २०८१, बिहिबार

नेपालमा युरेनियम पाईने ठाउँहरु


नेपालमा युरेनियम पाईने ठाउँहरु
Gopal Bhandari
गोपाल भण्डारी

युरेनियम परमाणु संख्या ९२ भएको एक रासायनिक तत्व हो । युरेनियम प्रकृतिमा पाईने तत्वमध्ये सबैभन्दा बढी २३८ पारमाणविक भार भएको रेडियोधर्मी धातु हो । यो तत्वको खोज जर्मन रसायनविद मार्टिन हेनरिक क्लप्रोथले गरेका थिए । लगातार ऊर्जावान विकिरणहरु फ्याँकिरहने भएकाले यसको आयु सयौँ वर्षसम्म हुन्छ । विशेषज्ञहरु युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् । यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ ।

खानीबाट निकालिएको युरेनियम ओरलाई प्रशोधन गरी एल्लो केक बनाइन्छ । एल्लो केक वा युरेनिया भनेको युरेनियम ओरलाई प्रशोधन गरी बनाईएको मिश्रीत युरेनियम अक्साइड्को रुप हो । यो पानीमा नघुल्ने पिरो गन्धको धुलो हो । यो २८८० डिग्रीमा पग्लन्छ र यसमा ८० % युरेनियम अक्साइड हुन्छ । एल्लो केकलाई विदेश निर्यात गर्न सकिन्छ ।

ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन । प्रायः युरेनियम खानी भएका सबै देशमा एल्लो केक बनाइन्छ । युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन : युरेनियम-२३८ र युरेनियम-२३५ । प्राकृतिक रुपमा युरेनियम-२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम-२३५ बनाइन्छ ।

बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, फिनल्याण्ड, फ्रान्स, हंगेरी, जापान, दक्षिण कोरिया, स्लोभाकिया, स्लोभेनिया, स्वीडेन, स्विट्जरल्याण्ड र युक्रेनमा ३०% वा यो भन्दा बढी बिजुली सबै आणविक भट्टीबाट उत्पादन हुन्छ । काजकास्तान, क्यानडा, अष्टेलिया, नामिविया, रसिया लगायतमा मुलुकमा युरेनियमको बढी उत्पादन हुन्छ । यो धातुको विश्व बजारमा पनि उच्च माग छ, तर नेपालमा आणविक ऐन नै तर्जुमा नभएको हुँदा ऐनको तर्जुमाका साथै यसको खोजीमा तत्काल पहल गर्न जरुरी छ ।

नेपालमा युरेनियम पाईने ठाउँहरु

खानी तथा भूगर्भ विभागको अनुसन्धानका अनुसार नेपालका धेरै ठाउँहरुमा युरेनियम पाईने सम्भावना देखिन्छ । खानी तथा भूगर्भ विभागका अनुसार नेपालमा माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्र, मकवानपुर धियालको तीनभंगाले, मकवानपुरको चिरुवा खोला र चाँदे खोला, काठमाडौंको जगते, बझाङको सेनगढ, निम्लीगढ, देभलेक, लाङटाङ हिमालमा पनि युरेनियमको प्रशस्त सम्भावना रहेको विभिन्न अनुसन्धानहरूबाट देखिन्छ । त्यसबाहेक राजधानीको उत्तरपश्चिम क्षेत्रमा अवस्थित ककनीको पाँचमाने क्षेत्र, मैलुङ खोला, शिवपुरीको टोखा, रसुवाको केही भाग, चरीकोट नजिकको केही भागमा उच्च रेडियोधर्मी विकिरण पाइएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

खानी विभागको अन्वेषण अनुसार शिवालिक क्षेत्रमा पर्ने सिन्धुलीको बुका खोला, अछामको बुरीगगां, चितवनको मरदार खोला तथा पाँपा खोला, बैतडीको बागेगढ(पूर्व), बागेगढ(पश्चिम), सानीगढ, जमरी, गोरङ्ग(पूर्व), गोरङ्ग(पश्चिम), बङ्गाबगर बगोट आसपासमा युरेनियमको सम्भावना छ । सिन्धुलीको बुका खोला र काठमाडौंको शिवपुरीमा अरु ठाउँमा भन्दा बढी युरेनियम हुन सक्ने विभागको अनुमान छ ।

खानी तथा भूगर्भ विभागको आफ्नै अध्ययनले पनि मकवानपुर, सिन्धुली, बैतडी, दाचुर्लाको लुम्थी, बन्कु,पौटली,चौपाटा, उकुगढ, बझाङ, बाजुराको कोदारी गढ र काठमाडौंका २४ ठाउँमा युरेनियम रहेको संकेत दिएको थियो । यीमध्ये मकवानपुर-धियाल गाविस-३ को तीनभंगाले-कालोपानी क्षेत्र सबैभन्दा बढी रेडियोधर्मी विकिरण उत्पन्न भइरहेको क्षेत्र हो । हेटौँडा बजार अनि त्यहाँबाट ४५ किलोमिटर पूर्वितर मकवानपुरको तीनभंगाले गाउँमा सन् १९९० मा खानी तथा भूगर्भ विभागले पहिलोपटक युरेनियमको खानी रहेको तथ्य पत्ता लगाएको थियो । तथ्यांकमा तीनभंगाले कालोपानी खोला आसपास क्षेत्रमा करिब १५ हजार टन युरेनियमको खानी भण्डार छ, जसलाई उत्खनन गरी प्रशोधन गर्दा कम्तीमा ३५ टन शुद्ध युरेनियम निकाल्न सकिने प्रारम्भिक अनुमान छ ।

सन् १९९१ मा बैतडी दार्चुलाको चमेलिया खोलाबाट सुन तस्करी भइरहेको अपुष्ट खबर फैलिए पनि त्यो जाँच गर्न गएको खानी विभागको टोलीले त्यहाँ युरेनियमको सम्भावना रहेको पत्ता लगाएको थियो । लगत्तै खानी विभागले सुदूरपश्चिम क्षेत्रमा दुई वर्ष काम गरी विस्तृत रिपोर्ट नै बनाएको थियो । विभागको टोलीले बझाङको निम्ली गाड र बैतडीको जमारी गाडमा क्रमशः ३८८९ र ९२१३ सीपीएस युरेनियम विकिरण भएको तथ्य पत्ता लगाएको थियो । यो आफैँमा निकै ठूलो परिमाणको विकिरण हो किनभने पाकिस्तानको प्रतिलाख कणमा ३५०० रेडियोधर्मी भएको ठाउँबाट युरेनियम उत्खनन कार्य भइरहेको छ भने भारतमा पनि ४२०० कण प्रतिलाखमा युरेनियम भएको ठाउँमा २० वर्षदेखि उत्खनन जारी छ ।

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

युरेनियम (Uranium) भनेको के हो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु