१४ बैशाख २०८१, शुक्रबार

नाष्टले ५ महिनापछि बल्ल पायो उपकुलपति


नाष्ट

काठमाडौँ । सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा डा. सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ । अस्ति सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई ४ वर्षका लागि उपकुलपतिमा नियुक्त गरेको हो । नाष्टका प्राज्ञ समेत रहनु भएका ४७ वर्षीय श्रेष्ठ २ पटक राष्ट्रिय योजना आयोगका सदस्य हुनु भएका थियो ।

श्रेष्ठले जापानको ओसाका सङ्ग्यो विश्वविद्यालयवाट वातावरणीय विकास इन्जिनियरिंगमा विद्यावारिधी गर्नु भएको हो । २० बर्ष भन्दा बढी निजी, सरकारी र गैरसरकारी सँस्थाहरु काम गर्नु भएका अनुभवी श्रेष्ठले युएनडीपी, बिश्व बैंक, एसियाली विकास बैंक र जिआईजेड लगायतका बिभिन्न अन्तर्राष्ट्रिय दातृ निकायमा विज्ञको रुपमा काम गरी सक्नु भएको छ ।

नेपालमा स्मार्ट सिटीको परिकल्पनाकार समेत रहेका शहरी बिकासका विज्ञ श्रेष्ठले राष्ट्रिय योजना आयोगको सदस्य हुँदा धेरै राष्ट्रिय नीतिहरु समेत तयार पार्नु भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसंग आवद्ध श्रेष्ठ बिभिन्न पुरस्कार तथा सम्मानद्वारा पुरस्कृत तथा सम्मानित पनि हुनुहुन्छ ।

नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) लगभग ५ महिनादेखि उपकुलपतिविहीन भएको थियो । तत्कालीन उपकुलपति प्रा.डा. जीवराज पोखरेलको ४ वर्षे कार्यकाल भदौ १४ मा सकिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !