८ पुस २०८१, सोमबार

 स्टेफन हकिङ्गको विज्ञान क्षेत्रमा योगदान


स्टेफन हकिङ्ग
Gopal Bhandari
गोपाल भण्डारी

स्टेफन हकिङ्ग विश्व प्रसिद्ध बेलायती महान बैज्ञानिक, भौतिकशास्त्री तथा लेखक हुन् । उनले भौतिकशास्त्र र ब्रह्माण्डमा विज्ञानमा उल्लेखनीय काम गरेका थिए । उनको १४ मार्च, २०१८ क्याम्ब्रिज, बेलायतको आफ्नै घरमा ७६ वर्षको उमेरमा निधन भएको थियो। उनले अक्सफोर्ड विश्वविद्यालयबाट नेचुरल साइन्समा स्नातक र क्याम्ब्रीज विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए । उनी क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका सोध निर्देशक समेत थिए। उनले १३ वटा विषयमा मानार्थ डिग्री गरेका थिए ।  उनले ४४ वटा टीभी कार्यक्रममा प्रस्तुति दिएका थिए।

उनको जीवनीमा आधारित भएर सन् २०१४ मा ‘द थेउरी अफ एभ्रीथिङ’ नामक चलचित्र समेत बनेको छ। बेलायतकी महारानी एलीजावेथले सम्मान गरेपछि उनको नाम पछाडि सर थपिएको थियो । त्यसपछि उनलाई सर स्टेफन हकिङ भन्न थालिएको थियो । उनले ‘ब्ल्याक होल’सम्बन्धी प्रसिद्ध सिद्धान्त सन् १९७४ मा ‘हकिङ्ग रेडिएसन’ को प्रतिपादन गरे । ब्ल्याक होल सम्बन्धी अध्ययन गरेका उनले ब्ल्याक होलबाट पनि विकिरणहरू निस्कने सिद्धान्तलाई अगाडि ल्याएका थिए जसलाई “हकिङ्ग रेडिएसन” (Hawking Radiation) भनिन्छ । विज्ञान जगतमा उनले पुर्याएको योगदानलाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।

(क)   तार सिद्धान्त (String Theory)

भनिन्छ, विज्ञान तथा तर्कको आधारमा सत्यको खोज गर्नु उच्चस्तरीय शिक्षाको मूल लक्ष्य हो । वैज्ञानिक व्याख्या अनुसार विश्व ब्रम्हाण्डमा अहिलेसम्म चार मुख्य बलहरू रहेका छन् । यी बलहरूबाट नै ब्रम्हाण्ड चलिरहेको छ । जुन यस प्रकार छन् :

१. गुरूत्वाकर्षण बल (Gravitational Force)

२. विद्युत चुम्बकीय बल (Electromagnetic Force)

३. कमजोर नाभिकीय बल (Weak Nuclear Force)

४. शाक्तिशाली नाभिकीय बल (Strong Force)

गुरूत्वाकर्षण बलले कणहरूलाई एक आपसमा आर्कषित हुन प्रेरित गर्छ भने विद्युत चुम्बकीय बलले चार्ज कणहरू बीच अन्तर्क्रिया हुन प्रेरित गर्छ । त्यस्तै गरी क्षीण नाभिकीय बलले परमाणुको नाभीबाट विकिरणहरू बाहिर उत्सर्जित गर्न भूीमका खेल्छ भने शक्तिशाली नाभिकीय बलले परमाणुको न्यूबल न्यूक्लियस भित्रका सुक्ष्म कणहरू प्रोटोन र न्यूट्रोनलाई एक आपसमा बाँधिएर राख्न भूमिका खेल्छ ।

वैज्ञानिकहरू धैरै पहिलेदेखि ब्रम्हाण्डका यी चार प्रमुख बलहरूलाई सम्मिलित गराई एउटै एकीकृत सिद्धान्त कसरी बनाउन सकिन्छ भनेर अनुसन्धानमा लागि रहेका छन् किनकी यस्तो एकीकृत सिद्धान्तको विकासले नै ब्रम्हाण्डको रहस्यको अन्तिम सत्यलाई उजागर गर्न मद्दत दिन्छ । महान् वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले आफ्नो जीवनको पछिल्लो सम्पूर्ण समय यसै सिद्धान्तको अनुसन्धानमा लगाएका थिए तर उनले सफलता प्राप्त गर्न सकेनन् । स्व. हकिङ्ग  लगायत विश्वका उच्च स्तरको दर्जनौ वैज्ञानिकहरू यस एकीकृत सिद्धान्तको अनुसन्धानमा लागि रहेका छन् ।

(ख) हकिङ्गले आइन्स्टाइनलाई दिएको चुनौती

उनले ब्रम्हाण्ड संचालन हुने आधारभूत नियमहरूको सम्बन्धमा अनुसन्धान थालनी गरेका थिए । अल्वर्ट आइन्स्टाइनको सिद्धान्तलाई समेत चुनौती दिने तथा विश्व ब्रम्हाण्डलाई नयाँ ढंगबाट हेर्ने बैज्ञानिक सिद्धान्तको प्रतिपादन गरी “जीवित आइन्स्टाइनको उपनाम पाएर पनि उनले नोवेल पुरस्कार प्राप्त गर्न भने सकेनन् । नयाँ दिल्लीको प्रवचनमा उनी भनेका थिए, “यदि हामी हकिङ्गको विकिरण अवलोकनबाट साँच्चै कै केही पत्ता लगाउँछौँ भने मैले तुरून्त नोवेल पुरस्कार पाउनेछु ।” कालो प्वाल सम्बन्धमा हैकिङ्गको विचार भविष्यको अनुमानसँग जोडिएको छ । उनका अनुसार करीव पन्ध्रदेखि वीस अरव वर्ष पहिले भएको महाबिस्फोट (Big Bang) बाट जन्म भएको विश्व ब्रम्हाण्डमा अहिले पनि भौतिक पिण्डहरू छरिदैछन् । उनको विचारमा यो ब्रम्हाण्ड एक सीमासम्म फैलिन्छ र पछि फेरि खुम्चिएर पहिले कै अर्थात् महाविस्फोटन हुनुपूर्वको आकारमा रहन आउँछ ।

(ग) ब्रह्माण्डको सृष्टि भगवानले गरेको होइन

हकिङ्गका अनुसार ब्रह्माण्डमा हुने घटनालाई पूर्ण रूपमा विज्ञानको नियमद्वारा ब्याख्या गर्न सकिन्छ । हकिङ्ग सानैदेखि भगवानको विरुद्ध थिए। उनी जहिले भन्ने गर्थे, “मानिसको दिमागको पहुँचभन्दा अरू कुनै पनि वास्तविकताको अस्तित्व छैन।“ स्पेनको पत्रिकाको लागि गरेको अन्तरवार्तामा उनले भगवानप्रति आफ्नो धारणा व्यक्त यसरी व्यक्त गरेका थिए, “यो ब्रह्माण्ड सबै वैज्ञानिक घटनाको परिणाम हो तर यो कुनै भगवान वा सर्वोच्च प्राणीको कमाल होइन।”

“विज्ञानको बारेमा थाहा नहुँदासम्म भगवानको विश्वास गर्नु ठिकै हो, किनभने यसको कारणले मानिसलाई कुन बाटो गलत अनि कुन बाटो सहि भन्ने कुराको ज्ञान हुन्छ। तर अहिले यो सबै विज्ञानको कमालको कारणले यो ब्रह्माण्डको अस्तित्वलाई वैज्ञानिक तवरले नै व्याख्या गरिसकेको छ, त्यसैले ‘ब्रह्माण्डको सृष्टि भगवानले गरेको हो’ भन्नु मूर्खता सिवाय अरु केहि होइन।”

(घ) बैज्ञानिक पुस्तकहरू

उनका बिश्व प्रसिद्ध बैज्ञानिक पुस्तकहरूले विज्ञान बुझ्न सबैलाई मद्दत गर्दछ । अहिलेसम्म उनका १५ वटा पुस्तक प्रकाशित भएका छन् ।जुन यस प्रकार छन् :

१. समयको संक्षिप्त इतिहास (A Brief History of Time)

प्रकाशित पुस्तकमध्ये ‘अ ब्रीफ हिस्ट्री अफ टाइम’ सर्वाधिक पढिएको पुस्तक हो । यो १ करोडभन्दा बढी प्रति विक्री भएको पुस्तक हो ।

२. द लार्ज स्केल स्ट्रक्चर अफ स्पेश टाइम (The large Scale Structure of Space Time)

३. ब्लाय्क होल्स एण्ड बेबी युनिभस  (Black Holes and Baby Universe)

४. वृहत योजना  (The Grand Design)

५. जीवन भनेको विज्ञान हो (A life is Science)

अन्त्यमा, दुई तिहाई बहुमतको शक्तिशाली कम्युनिष्ट सरकारले बिज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा मन्त्रालयमा गाभेर बिज्ञानको विकासको परिकल्पना गर्नु र बिज्ञानको व्यापक रुपमा अनुसन्धान गर्ने वातावरण सिर्जना भई यस्ता बैज्ञानिक नेपालमा बन्लान भन्ने सोच्नु वर्तमान अवस्थामा कोरा कल्पना मात्र हुने देखिन्छ। यो बिषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण हुन् जरुरी छ।

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

अल्वर्ट आइन्स्टाइनको विज्ञान क्षेत्रमा योगदान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !