९ पुस २०८१, मंगलबार

उर्जा (Energy) र यसको महत्व


उर्जा
Gopal Bhandari
गोपाल भण्डारी

कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई विज्ञान भनिन्छ । विज्ञानमा कार्य गर्न सक्ने क्षमतालाई ऊर्जा भन्दछन् । ऊर्जालाई एक रूपबाट अर्को रूपमा रूपान्तर गर्न सकिन्छ तर यसलाई न त पैदा गर्न सकिन्छ न त नष्ट गर्न सकिन्छा । ताप, विद्युत, प्रकाश आदि ऊर्जाका केही फरक फरक स्रोत अर्थात् रूपहरू हुन् । यिनीहरूलाई एक रूपबाट अर्को रूपमा रूपान्तर गर्न सकिन्छ तर नष्ट गर्न सकिंदैन ।

सूर्यका प्रकाशमा ऊर्जा हुन्छ जसको उपयोग प्रकाश सेलहरूद्वारा बिजलीको धारा उत्पन्न गर्नमा गर्न सकिन्छ । सौर्य उर्जालाई ताप र बिद्युत दुवै रुपमा बढी भन्दा बढी उपभोग गर्न सके नेपालको उर्जा संकटबाट पार पाउन ठूलो योगदान हुनेछ । बिजलीको धारामा ऊर्जा हुन्छ जसदेखि बिजुलीको मोटर चलाउन सकिन्छ । बारूदमा ऊर्जा हुन्छ, जसको उपयोग पत्थरको शिलाहरू तोडने अथवा तोपदेखि गोला दागनमा हुन सक्छ । सूर्यका प्रकाशमा ऊर्जा हुन्छ जसको उपयोग प्रकाश सेलहरूद्वारा बिजलीको धारा उत्पन्न गर्नमा गर्न सकिन्छ । अणुबममा नाभिकीय ऊर्जा रहन्छ जसको उपयोग शत्रुको विध्वंस गर्न अथवा अन्य कार्यहरूमा गरिन्छ ।  परन्तु सारा ऊर्जालाई कार्यमा परिणत गर्नु सर्वदा सम्भव हुँदैन ।

महान् वैज्ञानिक आइन्सटाइनको विशेष सापेक्षतावादको सिद्धान्त (Special Theory of Relativity) को वैज्ञानिक सूत्र E = mc2  अनुसार ऊर्जाको मान पिण्ड वृद्धिलाई प्रकाशको गतिका वर्गदेखि गुणा गर्दा प्राप्त हुन्छ । पिण्ड  र उर्जालाई एकअर्कामा रूपान्तरण गर्न सकिन्छ । कुनै वस्तुको पिण्ड नष्ट गर्दा उर्जा प्राप्त गर्न सकिन्छ । यस सिद्धान्त अनुसार पदार्थ गतिमा जाँदा शक्तिमा बदलिन्छ र शक्ति स्थिरतामा आउँदा पदार्थमा बदलिन्छ । त्यसैले पदार्थ र शक्ति दुवै सापेक्ष कुराहरू हुन् । उनको यो सिद्धान्तले त्यतिखेरसम्म मानिएको पदार्थ न सिर्जना हुन सक्छन् न नष्ट नै हुन्छ भन्ने धारणाप्रतिको वैज्ञानिकको विश्वासलाई चकनाचुर बनाइदियो । यहाँ पदार्थ भन्नाले भौतिक विज्ञानले व्याख्या गरे अनुसार मानव चेतनाबाट स्वतन्त्र रहेको पिण्डसहितको भौतिक वस्तु भनेर बुझ्नुपर्छ । भौतिक विज्ञानमा शक्तिलाई पदार्थ भनिदैन । तर दर्शनशास्त्रमा शक्ति समेतलाई पनि पदार्थको रूपमा हेरिन्छ ।

पदार्थ र शक्ति दुवै सापेक्ष भएको कुरालाई वैज्ञानिकहरूले अनुसन्धानशालाहरूमा प्रमाणित गरी देखाइसकेको छन् । जस्तो गामा किरण (Gamma-ray) भन्ने पिण्ड (Mass) नभएको शक्तिशाली किरणबाट इलेकट्रोन र प्रोजिट्रोन भन्ने दुई कणहरू पैदा भएको कुरा वैज्ञानिकहरूले उल्लेख गरेका छन् । त्यस्तै पिण्ड (Mass) भएका इलेक्ट्रोन र पोजिट्रोन कणहरू मिलेर “गामा किरण” मा परिवर्तित भएको पाइएको छ । दोस्रो विश्व युद्धताका यसै सूत्रको दुरुपयोग गरी लिटिल व्वाई र फ्याट म्यान नामक परमाणु वम बनाई अमेरिकाले जापानको हिरोसिमा र नागासाकी शहरमा ठूलो धनजनको क्षति पुर्याएको थियो ।

१ किलो ग्राम युरेनियम २३५ ले झण्डै २० हजार मेगावाट प्रति घण्टा बराबरको उर्जा उत्पन्न गराउन सक्छ जुन ३० लाख टनको दाउरा बाल्दा निस्कने उर्जा बराबर हुन आउँछ । त्यस्तै परमाण वममा १ ग्राम पदार्थ विलाउँदा २१ अरब किलोक्यालोरी तापशक्ति उत्पन्न हुन्छ । यो भनेको दिनको १० हजार लिटर मट्टितेल जम्मा गर्दै जाँदा २३ वर्षसम्म जम्मा गर्दा जति जम्मा हुन्छ, त्यो सबैलाई एकैचोटी बाल्दा जति तापशकित उत्पन्न हुन्छ त्यति बराबरको ताप शक्ति १ ग्राम पदार्थ बिलाउँदा उत्पन्न हुन्छ । यसबाट के स्पष्ट हुन्छ भने पदार्थलाई शक्तिमा परिवर्तन गर्न सकेको खण्डमा कल्पना नै गर्न नसक्ने शक्ति उत्पन्न हुन्छ । यो उनको सिद्धान्तलाई पछि दोस्रो विश्वयुद्धको अन्त्यतिर अमेरिकी वैज्ञानिक ओपनहाइमरले परमाणु वम बनाएर प्रयोगात्मक रूपमै पुष्टि गरिदिए । उनले नाभिकीय विखण्डन प्रतिक्रियाबाट पदार्थको केही अत्यन्तै सानो अंशलाई मात्र भएपनि शक्तिमा बदलेर देखाइदिए । वास्तवमा परमाणु वममा नाभिकीय प्रतिक्रियाबाट पदार्थ शक्तिमा बदलिन्छ तर त्यहाँ अत्यन्तै थोरै मात्राको पदार्थमात्र शक्तिमा बदलिएको हुन्छ । पदार्थ पूर्ण रूपमा शक्तिमा बदल्ने प्रविधिको विकास भने अहिलेसम्म विश्वमा भइसकेको छैन ।

ताप उर्जा, प्रकाश उर्जा, चुम्बकीय उर्जा, रसायनिक उर्जा, वायु उर्जा, भुगर्भिय ताप उर्जा, ध्वनि उर्जा आदि पृथ्वीमा उपलब्ध उर्जा हुन् । जलबिद्युतका साथै नेपालमा वायु उर्जाको पनि प्रचुर सम्भावना छ । नियमित रुपमा ठूलो वेगका साथ हावा चल्ने ठाउँमा वायु मिल (Wind Mill) राखेर स्वच्छ उर्जा उत्पादन गर्न सम्भाव्यता अध्ययन भैरहेको छ ।   हाम्रो देशमा भएको युरेनियमलाई खोज अनुसन्धान गरेर प्रशोधन गरी एल्लो केकलाई बिदेशमा निर्यात गर्न सकिन्छ । यसबाट अरबौ डलर पैसा कमाउन सकिन्छ । युरेनियमलाई प्रयोग गरी बिजुली निकालेर बिदेशमा बेच्न सकिन्छ । देश बिज्ञान प्रबिधिको क्षेत्रमा लम्कन्छ । तर यसको उपयोग गर्दा अत्यन्तै होसियार हुनुपर्छ । आणविक भट्टी बनाएर एटम बम, हाइडोजन बम बनाउने भनेको होईन यसबाट बिजुली निकालौ । अत्यन्तै थोरै पिण्डबाट असाध्यै धेरै कल्पना गर्न नसकिने बिधुत उर्जा निकाल्न सकिन्छ ।

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

आणविक उर्जा नेपाललाई आवश्यक किन ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !