
काठमाडौँ । गायिका एलिना चौहानलाई गाली गलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा गायिका चौहानबारे अमर्यादित कमेन्ट गरेको आरोपमा एकजना पक्राउ परेका हुन् ।
प्रहरीको साइबर ब्युरोको टोलीले गुञ्जन राई नाम गरेको व्यक्तिलाई ललितपुरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३३ वर्षीय राई चितवन घर भई ललितपुरको बाडेगाउँ बस्दै आएका थिए ।
एलिनाले चार जनाविरुद्ध ब्युरोमा उजुरी दिएकाहरूमध्ये केही विदेशमा रहेको खुलेको छ । एकजना पक्राउ परेलगत्तै ब्युरोले जाहेरीका लागि एलिना चौहानलाई ब्युरोमा बोलाएको छ ।
एलिना र अर्की गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्ने प्रयोगकर्ताहरूको ‘फेसबुक प्रोफाइल’ सामाजिक सञ्जालबाटै सार्वजनिक गरिरहेका छन्। यो अभियानसँगै अहिले अमर्यादित कमेन्ट आउने क्रम कम भएको एलिनाको भनाइ थियो ।