१४ बैशाख २०८१, शुक्रबार

आज किरात समुदायको उधौली पर्व मनाइदै


उधौली पर्व

मंसीर २६, काठमाडौँ । आज किरात समुदायको उधौली पर्व मनाइदैछ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइँदैछ ।

पर्वको अवसरमा पाँचथरमा सप्ताहव्यापी चासोक मेला सुरु भएको छ । फिदिम-४ स्थित ऐतिहासिक गढी डाँडामा मेला सुरु भएको हो । पुस १५ गतेसम्म लाग्ने मेलामा लिम्बू कविता प्रतियोगिता, पालाम, च्याब्रङ नाच, हाक्पारे, संगीनी, बालन, मारुनी नाच, डम्फू नाच, तामाङ सेलो, धामी नाच, साकेला नाच, हुर्रा नाच र छेलो हान्ने लगायतको कार्यक्रम रहनेछ ।

पर्वको अवसरमा ताप्लेजुङको तोक्मे डाँडा, इलामको माइखोला र झापाको विभिन्न स्थानहरुमा सामूहिक कार्यक्रमको आयोजना गरी पर्व मनाइन्दैछ । आदिवासीहरुको बसोबास रहेको छिमेकी देश भारतको सिक्कीममा पनि उधौली पर्व विशेष महत्वका साथ मनाउने गरिन्छ ।

उधौली पर्वलाई आदिवासी समुदायमा सामूहिक पूजापाठसँगै घरघरमा दिपावली गरेर मनाइन्छ । पाकेको नयाँ अन्नबाली आफूले खानुअघि प्रकृति र देवी देउतालाई चढाएर मात्र मानिसले खाने गरिन्छ । यसो गरेमा कुनै दुख नहुने, अन्नको सह रहने जनविश्वास छ ।

यसलाई नै लिम्बू समुदायमा चासोक तङनाम भनिन्छ । उधौली पर्व आदिवासीको बाहुल्यता रहेको पूर्वका पाँचथरसहित, ताप्लेजुङ, इलाम, तेह्रथुम, झापा, मोरङ, सुनसरी, धनुकटा, संखुवासभा र उपत्यकामा समेत विशेष महत्वका साथ मनाइन्छ ।

उधौली पर्वलाई आदिवासी समुदायमा सामूहिक पूजापाठसँगै घरघरमा दिपावली गरेर मनाइन्छ । पाकेको नयाँ अन्नबाली आफूले खानुअघि प्रकृति र देवी देउतालाई चढाएर मात्र मानिसले खाने गरिन्छ । यसो गरेमा कुनै दुख नहुने, अन्नको सह रहने जनविश्वास छ ।

उधौली पर्व मानिस, जनावर तथा चराचुरुङगी लेकबाट बेँसीतिर झर्ने समय मंसिरे पूर्णिमादेखि मनाउने गरिन्छ भने अन्नबाली लगाउने बेला मानिस, जनावर तथा चराचुरुङगी लेकतिर जाने समय वैशाख पूर्णिमादेखि १५ दिनसम्म आदिवासी समुदायमा उभौली पर्व मनाउने प्रचलन छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !