१४ बैशाख २०८१, शुक्रबार

कला संस्कृति संरक्षणमा जुट्दै थारु अगुवा


Nepalpatra

९ पुस, नेपालगञ्ज । बर्दियाको बाँसगढी नगरपालिका—४ लक्ष्मणपुरका थारु समुदायका अगुवा मौलिक थारु कला संस्कृतिभित्रको ‘दफक’ गीतको संरक्षणमा जुटेका छन् ।

यो समुदायको पुराना गीत, सङ्गीत लोप हुन थालेपछि त्यसको संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले प्रत्येक दिन साँझ सात बजेपछि दफक गीत सङ्गीत युवालाई त सिकाउन गाउँका थारु अगुवा लागिपरेका छन् ।

दफक गीत विशेषगरी मङ्सिरदेखि फागुन महीनासम्म गाउने गरिन्छ । ‘‘थारु समुदायले यतिबेला लल्ला, धुमरु, फाग, वनगित्वा गाउने गर्दछन्’’—लक्ष्मणपुरका सर्जु थारुको भनाइ छ । प्रत्येक साँझ खाना खाइसकेपछि आगो ताप्दै, वरिपरी बसेर घरमै पारेको रक्सी पिउँदै दफक गीत गाउने गरिन्छ ।

दफक गीतमा विशेषगरी समाज सुधारको सन्देश र माया प्रेम, घरखेतका काम गर्ने तरिका, सुखदुःखका कुरालगायत सृष्टिका कुरा समेटिएको हुन्छ । ‘थारु पूर्खा आप्mनो मौलिक संस्कृतिमा पहिले निकै सम्पन्न थिए ।

प्रत्येक दिन नाचगान गरी रमाइलो गर्ने, ऋतुअनुसारको गीत गाउने नाच्ने गर्थे । पश्चिमी सभ्यताले चाप्दै गएपछि सो समुदायका अहिलेका पुस्तामा सायदै आप्mनो मौलिक संस्कृति थाहा होला’, सर्जु थारुले दुःख व्यक्त गर्नुभयो ।

मौलिक कला, संस्कृतिका धनी थारु समुदायका सांस्कृतिक प्रस्तुत आजभोलि मेला, महोत्सवमा मात्र देखिने गरेको छ । विकासको क्रमसँगै आधुनिक गीत सङ्गीतमा रमाउने चलनका कारण थारु समुदायको दफक गीतलगायत मौलिक कला संस्कृति विस्तारै सङ्कटमा पर्न थालेको छ ।

यिनै कुरालाई दृष्टिगत गरी बर्दिया बाँसगढीका थारु समुदायका अगुवा दफक गीतलगायत आप्mनो कला संस्कृतिको संरक्षणमा जुटेका छन् । ‘‘पुराना गीत सङ्गीत हाम्रो पहिचान हो, पूर्खाले दिएको सङ्गीतको यी उपहारलाई हामीले जोगाउनुपर्छ, नभए थारु समुदायको अस्तित्व नै सङ्कटमा पर्न सक्छ’’ स्थानीय समाजसेवी माधव थारुले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !