२१ बैशाख २०८१, शुक्रबार

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै


हरिबोधनी एकादशी

काठमाडौं । आज शुक्रबार कार्तिक शुक्ल एकादशी । औषधिको गुणले भरिपूर्ण तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीहरुले हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा रहेको छ ।

हरिबोधिनी एकादशीलाई एक वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रूपमा मान्ने लौकिक परम्परा छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यो ठूलो एकादशीका नामले परिचित छ । यसै दिनबाट चतुर्मास पूरा हुन्छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीर सागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म ४ महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् ।

विष्णु क्षीर सागरमा सुतेकाले यी ४ महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ। यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

हरिशयनी एकादशीका दिन घर-घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा रहेको धर्मशास्त्रविद् बताउँछन् ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको दिनबाट भगवान विष्णु सुत्ने, हरिपरिवर्तनी एकादशीका दिन कोल्टो फेर्ने र हरिबोधनी एकादशीका दिन जागा हुने विश्वास गरिन्छ । चतुर्मासाभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ ।

एकादशीको दिन अन्न ग्रहण गर्नुलाई पाप मानिएको छ । यस दिन सनातन धर्मावलम्बीले अन्न खान नहुने मान्यताका कारण यस दिन सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार खाने गरिन्छ । सामान्यतया भगवान विष्णुलाई अक्षता चढाइँदैन । तसर्थ एकादशीका व्रत बस्नेले अन्न ग्रहण गर्दैनन् ।

भविष्य पुराणका अनुसार अन्य एकादशीमा भन्दा हरिबोधनी एकादशीको दिनमा गरिने विष्णु भगवानको उपासना धेरै फलदायी हुन्छ । यसैअनुसार हिन्दू धर्मावलम्बीहरूले बिहानै नुवाईधुवाई गरी व्रत बसेर भगवान विष्णुको पूजाआराधना गर्छन् ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेष रुपमा मनाउने गरिन्छ । हिन्दू धर्मग्रन्थहरुमा तुलसी, पिपल, दूबो र शालिग्रामलाई भगवान विष्णुको प्रतिकको रुपमा मानिएको छ ।

तुलसी वैज्ञानिक रूपमा पनि अत्यन्त लाभदायक बनस्पती मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुने धार्मिक मान्यता रहेको छ । तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधिको रुपमा पनि प्रयोग गरिन्छ ।

यस अवसरमा उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । भक्तपुरको चाँगुनारायण, ललितपुरको गोदावरीस्थित विशङ्खुनारायण, काठमाडौँको दक्षिणकाली नगरपालिकामा रहेको शेषनारायण र नागार्जुनमा रहेको इचङ्गुनारायणमा एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ ।

यस अवसरमा चार नारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । भक्तजनलाई घरघरमै बसी नारायणको पूजा आराधना गर्न धर्मशास्त्रविद् र सम्बन्धित मन्दिर व्यवस्थापन समितिले आह्वान गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !