८ जेष्ठ २०८१, मंगलबार

दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बिहान ५ बजेदेखि नै बालगोपालेश्वर खुला


Rani Pokhari Balgopaleshwor

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर आज बिहीबार बिहानैदेखि खुला गरिएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । मन्दिर वर्षमा एकदिन भाइटीकाका दिनमात्र खुल्ने भएकाले भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने भएका छन् ।

भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् । सर्वसाधरणले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्नेछन् । मन्दिर दर्शनको चाँजोपाँजो काठमाडौँ महानगरको वातावरण विभागले गरेको प्रवक्ता मानन्धरले जानकारी दिए ।

रानीपोखरी क्षेत्रमा विसं २०६३ पछि छठ पर्व पनि मनाउने गरिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि भने छठ मनाउन बन्द गरिएको थियो ।

भूकम्पपछि भाइटीकाका अवसरमा पनि रानीपोखरी खुला गरेर मन्दिर क्षेत्रमा पूजा आराधना र दर्शन गर्ने व्यवस्था मिलाउने गरिएको थियो । त्यसबेला पूजा आराधना एवं दर्शन गर्न असहज भएको भक्तजनले गुनासो गरेका थिए । भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई सहज भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !