२० बैशाख २०८१, बिहिबार

तिहारको चौथो दिन आज गोवद्र्धन, बलि, गोरु र हलि पूजा गरियो


गोरु तिहार फाइल फोटो

काठमाडौँ । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बलि, गोरु, हलि एवम् कृषकको पूजाआजा गरी मनाइएको छ ।

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानेर पूजा गर्ने गरिएको छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए ।

भगवान् विष्णुको आज्ञाअनुसार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मत्र्यलोकको शासन गर्ने अधिकार बलिराजाले पाएको पौराणिक मान्यता छ । दानमा कहलिएका राजा बलिले नै भलो होस् भनेर भैलो र देउ शिर रे भनी देउसी खेल्ने परम्पराको सुरुवात् गरेको विश्वास छ । यसै आधारमा आज बलिको पनि पूजा आराधना गरिएको छ ।

प्राचीनकालदेखि नै गोरुले कृषिकर्मका लागि खेत, बारी जोतेर महत्वपूर्ण योगदान गर्दै आएको छ । महादेवको वाहनको रुपसमेतमा पूजिने गोरु (साँढे)लाई आज पूजा गरी मीठा मीठा खानेकुरा दिए वर्षभर खुसी भएर कृषि कर्ममा सहयोग गर्ने विश्वास छ । यसैगरी गोरु जोत्ने हलिलाई पनि आज घरमा बोलाएर टीका दक्षिणासहित मीठा कुरा खान दिइन्छ । यसैले आजको दिनलाई हली तिहारसमेत भनिन्छ ।

वर्षभर कृषि कर्म गर्ने कृषकलाई पनि आज पूजा गरी मीठा मीठा खानेकुरा खान दिइएको छ । तिहारमा काग, कुकुर, गाई, गोरु, हलि, कृषकलाई पूजा गर्नुले कामका आधारमा कसैलाई भेदभाव नगरी सबैको महत्व रहेको सांस्कृतिकरुपमा अर्थ दिने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !