१४ बैशाख २०८१, शुक्रबार

इन्द्राजात्रा सांस्कृतिक पर्यटनको प्रमुख आकर्षण हो : संस्कृतिमन्त्री श्रेष्ठ


जीवनराम श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले इन्द्रजात्रा नेपालको सांस्कृतिक पर्यटनका लागि प्रमुख आकर्षण रहेको बताएका छन् । काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा सुरुआतको अवसरमा आज हनुमानढोका पुगेका मन्त्री श्रेष्ठले इन्द्रजात्रासँगै यहाँका अनगिन्ती मूर्त–अर्मूत संस्कृति र सम्पदाको प्रचार-प्रसारबाट पर्यटकलाई आकर्षण गर्न सकिने बताए ।

मुलुकको सांस्कृतिक धरोहरका रूपमा रहेको इन्द्रजात्राको काठमाडौँ उपत्यकामा मनाइने अन्य जात्रा र चाडपर्वमध्ये विशिष्ट स्थान रहेको उनले सुनाए । नेपालका विभिन्न जातजातिका संस्कृति, संस्कार, परम्परा, जीवनशैली पर्यटक लोभ्याउने खालका रहेको बताउनुहुँदै उनले संस्कृति र सम्पदालाई पर्यटनसँग जोडेर स्थानीय जनताको जीवनस्तर उकास्ने आफ्नो कार्ययोजना रहेकामा जोड दिए । सांस्कृतिक सम्पदाको प्रवद्र्धनमार्फत पर्यटकलाई आकर्षित गर्ने र नेपालको समृद्धिमा यसलाई उपयोग गर्न सकिने मन्त्री श्रेष्ठको भनाइ छ ।

काठमाडौँको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो ठड्याइएपछि इन्द्रजात्रा सुरुआत भएको मानिन्छ । आठ दिनसम्म वर्षा र सहकालका देवता इन्द्र पूजन गरिन्छ ।

विभिन्न देवी–देवतासँग सम्बन्धित नाचगान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै यो पर्व मनाउने गरिन्छ । जात्रा पर्व सञ्चालनका लागि प्रदान गरिने अनुदान समयसापेक्ष बनाउनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !