१४ बैशाख २०८१, शुक्रबार

शिवालय चहलपहलविहीन


बागलुङ कालिका

महोत्तरी । मिथिलामा साउन महिना प्रारम्भ भएसँगै शिवालयमा धार्मिक मेलाको उत्सव परम्परा छ तर यसपालि शिवालयहरु चहलपहलविहीन छन् । साउन शुरु हुन केही दिनपूर्व नै गुलजार देखिन थाल्ने शिवालय यसपालि साउन लागिसके पनि चहलपहलविहीन देखिएका हुन् । कोभिड–१९ महाव्याधि सङ्क्रमण सन्त्रास छल्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले शिवालयमा हुने मेलाउत्सवमा रोक लगाएपछि देवस्थल सुनसान देखिएको हो ।

साउन प्रारम्भसँगै जिल्ला प्रशासन कार्यालय महोत्तरीले सार्वजनिक सूचना नै जारी गरेर साउन महिनामा आयोजन हुने धार्मिक मेलामा रोक लगाएको हो । जिल्लामा गत वर्ष पनि महाव्याधि सङ्क्रमण सन्त्रासले साउने मेला आयोजन भएका थिएनन् । जिप्रका महोत्तरीले कोभिड–१९ महाव्याधिको सङ्क्रमण सन्त्रास कायम नै रहेको र विज्ञले तेस्रो भेरियन्टको सम्भावना बताइरहेका हुँदा मेला, जमघटमा रोक लगाइएको जनाएको छ । जिल्लाका सबै शिवालय तथा देवी शक्तिपीठ नियमित पूजाबाहेक आम सर्वसाधारण जमघट हुन नपाउने गरी रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

जिल्लाका जलेश्वरनाथ, टुटेश्वरनाथ, सिद्धनाथ, मङ्गलनाथ र कामेश्वरनाथसहितका शिवालयमा साउनभरि हजारौँ सङ्ख्याका भक्तजन पूजा आराधना र दर्शनका लागि पुग्ने गर्थे । गत वर्षयता महाव्याधि सङ्क्रमण सन्त्रासले मेला उत्सव आयोजन हुन नसकेका हुन् । साउन महिना भगवान् शिवको प्रिय मानिने विश्वासले साउने मेलाको परम्परा बसेको हो । साउनमै पनि शिव आराधना र व्रतका लागि सोमबार उत्तम मानिने मैथिल हिन्दू जनविश्वास छ । मिथिलामा सोमबार नै साउने धार्मिक मेलाको परम्परा रहेको छ ।

जनस्वास्थ्य र महाव्याधि सङ्क्रमण बढ्न नदिन मेलामा रोक लगाउनुपरेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले स्पष्ट पारेको छ । सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेको हस्ताक्षरित सूचनामा कसैले अवज्ञा गरेको पाइए सङ्क्रामक रोग ऐन, २०२०, कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश, २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !